बारा । बारामा यातायात व्यवस्था कार्यालय कलैयाका ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि मोविल प्रहार भएको छ । घटना बिहीबार कलैया उपमहानगरपालिका–३ गंगापुरस्थित आफ्नै कार्यालयमा काम गरिरहेका बेला भएको हो ।
प्रहरीका अनुसार एक्कासी युवाहरूको समूह कार्यकक्षमा प्रवेश गरी पौडेलमाथि मोविलको बोतल छर्केको थियो । घटनापछि कार्यालय परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
सार्वजनिक भएको भिडियोमा मोविल प्रहार गर्ने युवाले आफूलाई ‘जेनजी’ समूहसँग आबद्ध भएको दाबी गरेको स्पष्ट रूपमा सुनिन्छ। यस विषयमा जेनजी कलैयाका संयोजक शौरव पाण्डेसँग बुझ्दा उनले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अभियान चलाइरहेको दाबी गरे। उनका अनुसार यातायात कार्यालय भ्रष्टाचारको अखाडा बनेको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नभएपछि आक्रोश विस्फोट भएको हो।
जेनजीका सहसचिव आनन्द गुप्ताले सरकारी सवारीसाधनमा निजी नम्बर प्लेट प्रयोग गर्ने, टुर एन्ड ट्राभल्स एजेन्सीको सिफारिसमा पैसा लिएर लाइसेन्स पास गराउनेजस्ता गतिविधि भइरहेको आरोप लगाए । यस्ता अनियमितता’bout पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको परिणामस्वरूप उक्त घटना घटेको पाण्डेले बताएका छन्।
यसैबीच, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले यातायात व्यवस्था कार्यालयबाट कारबाहीका लागि लिखित निवेदन प्राप्त भएको जानकारी दिए । भिडियोमा देखिएका युवाहरूको पहिचान तथा खोजी भइरहेको र घटना’bout आवश्यक छानबिन अघि बढाइएको उनले बताए ।






