काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको आरोप लागेको छ ।
बुद्धनगरस्थित एक बैंक्वेटमा बिहीबार आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानको विशेष भेला तथा पत्रकार सम्मेलनमा बालेनमाथि लौरो चुनाव चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको आरोप लगाइएको छ ।
पत्रकार सम्मेलनमा आम स्वतन्त्र व्यक्तिको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । पत्रकार सम्मेलनमा भनिएको छ– ‘रास्वपामा प्रवेश नगर्दासम्म बालेन्द्र साह लौरो अभियानका स्टेकहोल्डर थिए । उनको टिम राजनीतिमा दलगत प्रवेश गरे । लौरो भनेको स्वतन्त्रहरुको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर हो ।‘
बालेन साह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुनिश्चित सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्नु पर्ने अभियन्ताहरुले बताएका छन् । देशभरका स्वतन्त्र व्यक्ति र लौरो अभियानका अभियान्ताहरुले लौरो चुनाव चिह्नलाई रुपान्तरण र पुस्तान्तरणको अभियानमा प्रयोग गरेको बताए । उनीहरुले लौरो चिह्न व्यक्ति समूह तथा गुटको निजी सम्पत्ति कहिल्यै पनि नरहेको बताएका छन् ।
सम्मेलनमा रास्वपा सभापति रवि लामिछानेका दाई हरिशरण लामिछाने, डम्बर साहु लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियान लगायतको सहभागीता थियो ।









