धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५, स्थित लेगुवामा बजार छड्के अनुगमन गरी किराना तथा खुद्रा पसलहरुबाट २२ हजार ८९० रुपैयाँ मुल्य बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरि नस्ट गरिएको छ ।
लेगुवाका करिब एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरी नस्ट गरिएको हो। अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका खाद्यान्न, बेकरी, पेय पदार्थ फेला परेको थियो। उक्त पसलहरुमा भेटिएका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट समेत गरिएको हो।

यस्तै अनुगमनका क्रममा मूल्य सूचि टास नगरीएको, बिल नभएको र दर्ता नगरी चलाएको समेत पाइएको थियो। उक्त पसलहरुलाई आवस्यक प्रक्रिया पूरा गरि संचालन र सुधार गर्न समेत निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काले जानकारी दिए।
अनुगमनका क्रममा किराना पसलहरू दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको थियो भने सामान राख्दा हेरेर मात्रै राख्न तथा उपभोक्तलाई बेच्न आग्रह गरिएको थियो। म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ति नदोहो-याउन अनुगमन टोलीले चेतावनी समेत दिएको छ।
बजार अनुगमन जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि लगायतको टोलीले गरेको हो। यस्तै दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्दा उपभोक्ता नठगिउन भनेर अनुगमनलाई तिब्रता दिइएको अनुगमन टोलिले जनाएको छ।









