धनगढी सिप तथा रोजगार मेला माघ ५ गतेबाट

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ सय युवालाई सिप तथा रोजगार तालिम दिने भएको छ । माघ ५ गतेबाट सुरू हुने सिप तथा रोजगार मेलामा युवा–युवतीले विभिन्न २२ वटा विधामा एक महिनासम्म तालिम तथा थप दश दिनको परामर्श सम्बन्धी तालिम प्राप्त गर्ने छन् ।

गत वर्षदखि धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला आयोजना गर्न लागेको हो । गत वर्ष झन्डै ११ सय जना युवाले विभिन्न २९ विधाको एक महिने तालिम लिएका थिए । तालिम पश्चात् उनीहरूको सिप परीक्षण गरी रोजगारदाताकै उपस्थितिमा परामर्श कार्याशाला आयोजना भएको थियो ।

गत वर्ष प्रदेशका ९ वटै जिल्लाका ३९ स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न विधामा तालिम प्रदान गरिएको उपमहानरपालिकाले जनाएको छ ।

गत वर्ष ३० दिन विभिन्न विधामा सिपमूलक तालिम, ५ दिनसम्म जीवन उपयोगी र उद्यमशीलता विकास सम्बन्धी तालिम तथा २ दिन रोजगारदाता र तालिमप्राप्त युवाबीच अन्तक्रिया गरिएको उपमहानगरले जनाएको छ । यो वर्ष धनगढीमा आगामी माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने भएको छ ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धी कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने सिप तथा रोजगार मेलाका संयोजक योगेन्द्र चन्दले बताए ।

उनले मंसिर १५ देखि आवेदन संकलन गरिएको र करिब चार हजार जनाको आवेदन परेको बताएका छन् । आवेदन दिएका मध्ये ६ सय जनालाई मात्रै तालिम दिन सकिने चन्दले बताएका छन् ।

रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर÷वेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुड÷कुक, शैक्षिक सर्भिस अन्तर्गत पुरोहित, लेखा व्यवस्थापन, इसिडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ, आर्ट÷क्राफ्ट डिजाइनिङ अन्तर्गत बेतबाँस हस्तकला, साँस्कृतिक पोशाक, बुटिक तथा कढाई, निर्माण सर्भिसअन्तर्गत प्लम्विङ, फर्निचर, विल्डिङ वाइरिङ, वेल्डिङ र मेकानिकल अन्तर्गत एसी तथा फ्रिज मर्मत र मोबाइल तथा सिसिटिभी मर्मत गरी सात ओटा क्षेत्रका २२ ओटा विषयमा तालिम सञ्चालन हुने सिप तथा रोजगार मेलाका संयोजक चन्दले बताए । उनले सांस्कृतिक पोसाक निर्माणतर्फ भने ७५ जनालाई तालिम दिइने बताए ।

तलिममा सहभागी हुन इच्छुक युवाहरूको अनलाइन र हार्डकपी आवेदन दिएका छन् । आवेदकहरुमध्ये छनोट प्रक्रिया कार्यविधि अनुसार छनोट गरेर तालिममा सहभागी गराइनेछ ।

उपमहानगरले गत आर्थिक वर्षमा पनि सिप तथा रोजगार मेला सञ्चालन गरेको थियो । जसमा एक हजार ४० जनालाई ८ ओटा क्षेत्रको २९ ओटा विषयमा तालिम दिइएको थियो । ती तालिम लिएका प्रशिक्षार्थीहरुमध्ये ४७ प्रतिशतले रोजगारी पाएका छन् । जसअन्तर्गत २ सय २६ जना विभिन्न संस्था वा निकायमा रोजगारीमा संलग्न भएको र १७२ जना स्वरोजगरीमा संलग्न भएको उपमहानगरपालिकाको तथ्यांक छ ।

तलिम लिएका मध्ये २७ जनालाई थप तालिम र सिप विकासका लागि काठमाण्डौँ र वुटवल पठाइएको बताइएको छ । रोजगार मेला धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मञ्चमा माघ ५ गतेदेखि आयोजना हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२