काठमाडौं । व्य क्तित्व ‘ब्रान्डिङ’ र पदीय भागबण्डा विवादले १३ दिनअघि एकता हस्ताक्षर गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजित भएको छ । उज्यालो नेपाल पार्टी (उनेपा)ले रास्वपासँगको एकता भंग भएको जानकारी दिँदै नयाँ ढंगले अघि बढ्ने घोषणा गरेको हो ।
घिसिङकै अध्यक्षतामा ब्युँतियो उज्यालो नेपाल पार्टी
‘रास्वपाले एकता व्यवस्थापनमा रुचि नदेखाएको र आफूहरूमाथि पेलान भएको’ भन्दै घिसिङ समूहले आरोप लगाएको छ भने ‘पद र पार्टीको नाम नै फेर्नुपर्ने प्रस्ताव अघि सारेपछि एकता अघि नबढ्ने बताएको’ रास्वपा सभापति रवि लामिछानेले बताएका छन् । एकता भंग भएपछि शनिबार बसेको उनेपा केन्द्रीय कमिटी बैठकले संरक्षक घिसिङलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि, उनेपा अध्यक्ष अनुपकुमार उपाध्याय थिए ।
गत १४ पुसमा रास्वपा र उनेपाबीच सातबुँदे सहमति गर्दै पार्टी एकीकरण सम्झौता भएको थियो । रास्वपा अध्यक्ष लामिछाने र उनेपा अध्यक्ष उपाध्यायबीचको सहमति साक्षीका रूपमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, जेनजी अभियन्ता सुदन गुरुङलगायत थिए । शाहले ‘साक्षी’का रूपमा सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका थिए । रास्वपा र उनेपाबीच सहमति हुनु अघिललो दिन अर्थात् गत १३ पुसमा लामिछाने र शाहबीच सहमति भएको थियो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालय सम्हालेका घिसिङले रास्वपासँग एकतामा उपस्थित भएको र रास्वपा उपसभापति हुनेगरी सम्झौता गरेका कारण गत बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए । रास्वपासँग जोडिएकै कारण मन्त्री पदबाट राजीनामा दिएका घिसिङले एकीकृत रास्वपा उपसभापतिसहित समानुपातिकतर्फ पेस गरिएका उम्मेदवारको भविष्यसमेत गुमाएको भन्दै आलोचना खेप्नुपरेको छ ।
शनिबारसम्म पनि रास्वपासँग विभाजित हुन नपर्ने सोचिरहेका तामाङ ‘एकाएक रास्वपा पक्षबाट सँगै जान नसकिने’ सन्देश पाएपछि उज्यालो नेपाल पार्टी व्युँताउनुपर्ने अवस्थामा पुगेका हुन् । ‘जनआकांक्षा पूरा गर्न सकेसम्म मिलेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको’ बताउँदै उनले ‘आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू रामेछाप अथवा काठमाडौ ं क्षेत्र ३ बाट लड्ने तयारीमा रहेको’समेत प्रस्ट पारे ।
यता, रास्वपाको शनिबार बसेको बैठकमा सभापति लामिछानेले ‘उनेपासँगको एकता जोगाउन नसकेको’ स्वीकार गरेका छन् ।
उनेपासँगको एकताका लागि ‘हदैसम्मको लचकता अपनाउँदा पनि जोगाउन नसकेको’ लामिछानेले बैठकलाई जानकारी गराए । मन्त्री पदबाट राजीनामा दिएपछि लामिछाने र घिसिङबीच निरन्तर छलफल जारी थियो । सोही विषय उल्लेख गर्दै लामिछानेले ‘घिसिङले राखेका विभिन्न माग पूरा गर्न नसकिने भएकाले एकता प्रक्रिया खारेज गर्नुपर्ने अवस्थामा पुगेको’ जनाएका छन् ।
लामिछानेसँग घिसिङले ‘पार्टीमा आफ्नो वरियता, पार्टीको राजनीतिक सिद्धान्त, समानुपातिकतर्फ आफ्नो समूहका उम्मेदवारको सांसद हुने अधिकतम सुनिश्चितता’लगायत विषयमा छलफल गरेका थिए । त्यस्तै, घिसिङले ‘पार्टीको नामसमेत फेर्नुपर्ने प्रस्ताव गरेको’ रास्वपा नेताको दाबी छ । तर, लामिछानेले ‘अब धेरै ढिला भइसकेको’ भन्दै ‘त्यसमा सहमति जनाउन नसकिएको’ सचिवालय बैठकमा जानकारी गराएका छन् ।
तर उनेपा नेताले ‘रास्वपाले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता मुद्दामा अस्पष्ट रहेकाले एकता भाँडिएको’ जिकिर गरेका छन् । ‘मूल विषय भनेको संघीयता, धर्मनिरपेक्षता र समावेशीताका मुद्दा हुन् । यी मुद्दामा रास्वपा प्रस्ट हुन सकेन,’ उनेपा नेता अरुण तामाङले राजधानीसँग भने, ‘यस्तो अस्पष्टबीच पार्टीमा सँगै जान सकिने अवस्था रहेन ।’
पार्टीमा प्रधानमन्त्रीसरहको पदसहित वरिष्ठ नेता र उनेपा पदाधिकारी र केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखिएको थियो । काठमाडौं महाननगर प्रमुख शाहसँग सहमति गरेपछि रास्वपाले उनलाई ‘आगामी प्रधानमन्त्रीसहित पार्टी वरिष्ठ नेता बनाउने’ सहमति गरिसकेको छ । घिसिङले पनि त्यसअनुसार आफूलाई पार्टीमा ‘वरिष्ठ नेता’ बनाउनुपर्ने माग गरेको रास्वपा नेताको दावी छ ।
यसैगरी, समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको नामावलीमा उनेपाका नेतालाई विभिन्न समूहको पहिलो नम्बरमा राख्नुपर्ने, प्रत्यक्षतर्फ आधा सिट बाँडफाँटलगायत माग घिसिङले अघि सारेपछि रास्वपा पार्टी एकताबाट नै ‘ब्याक’ भएको हो । रास्वपा प्रवक्ता मनिष झाले पदाधिकारीमा अहिले भएकोमा थप तीन पद दिनुपर्ने प्रस्ताव उनेपाबाट आएको जनकारी दिए । उनका अनुसार घिसिङलाई वरिष्ठ उपाध्यक्षसहित थप एक महामन्त्री उनेपालाई बनाउनुपर्ने माग आएको थियो ।
अन्य दलसँग छलफलमा उनेपा
यसैबीच, पार्टी एकता भाँडिएपछि उनेपाले अन्य दलसँग सहकार्य गर्ने’bout छलफल थालेको छ । अन्य दलसँग एकता गरेर समानुपातिकतर्फको बन्दसूचीमा २८ पुसअघि नै नाम सच्याउने र प्रत्यक्षतर्फसमेत आफ्नै बलमा अगाडि बढ्ने बताइन्छ ।
‘उज्यालो नेपाल पार्टी आफ्नो बाटो आफैं लिन्छ’
पार्टी एकता भाँडिएपछि उनेपा अध्यक्ष घिसिङ ‘अब उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफैं लिने’ बताउँछन् । रजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले ‘आफूहरूसँग धोका भएको’समेत बताए । ‘रास्वपालाई अगाडि बढ्न शुभकामना’ भन्दै उनले भने, ‘अब उज्यालो नेपाल पार्टी आफ्नो बाटो आफैं बनाउँछ ।’
पार्टी एकताका नाममा १२ दिनदेखि अल्झाएर राखेको र यसबीच आफ्ना नेता–कार्यर्तालाई रास्वपामा प्रवेश गराएर धोखा दिइएको उनले आरोप लगाए । आफूहरू एकताको पक्षमा भए पनि मिडियामार्फत पदको ‘बार्गेनिङ’ गरेको भन्ने आरोप सरासर गलत भएको घिसिङकोदाबी छ । रास्वपा र उनेपाबीचको एकता गर्ने लिखित सहमतिसहित धेरै अलिखित सहमतिसमेत भएको जिकिर उनले खुलासा गरे ।
‘हाम्रो कुनै ठुलो माग छैन, भएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दाभन्दै पार्टी एकता अन्ततः भंग भएको घोषणा रास्वपाबाट भएको हो,’ पत्रकार सम्मेलनमा घिसिङले भने, ‘म साधारण सदस्य भएर पनि काम गर्न तयार भएको हुँ । उपाध्यक्ष भए पनि वरियताक्रममा धेरै तल भए पनि सहेरै गएको हुँ । तर यहाँ मिडियामा पदको बार्गेनिङ ग¥यो भन्ने कुरा सरासर गलत हो ।
हामीले सहमति कार्यान्वयन गर्नुपर्ने र हाम्रा साथीले कुनै ठुलो डिमान्ड पनि राखेका थिएनन् ।’ मुख्य विषय र मुद्दा भएको समावेशी र संघीयतासँग सम्बन्धित संविधानअनुसार रास्वपा सुरुसुरुमा सहमत भए पनि पछि त्यसबाट ‘व्याक’ भएको घिसिङको प्रस्टोक्ति छ । ‘मैले प्रधानमन्त्री वा पार्टी अध्यक्ष पनि मागेको थिइनँ, बरु साधारण सदस्य भएर बस्न पनि तयार छु भन्दा उहाँहरू मान्नुभएन,’ उनले भने, ‘अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हामी नभए पनि अगाडि बढछौं भन्नुभएछ ।’






