गुल्मी । रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लवले प्रत्येक बर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता संचालन गथ्र्यो । उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका प्रतियोगिताहरु हुने गर्दथे । यसपटक भने तम्घासको चिदिचौर खेलमैदान निर्माणाधिन छ ।
जसले गर्दा कुनै पनि खेलकुदका कार्यक्रम संचालन भएका छैनन् । क्लवले गत बर्ष फुटबल प्रतियोगिता संचालन नै गरेन । यो बर्ष पनि गर्ने कि नगर्ने भन्ने थियो । तर गुल्मीको इस्मा गाउँपालिकाले वडा नम्बर १ झरनामा पालिकाले जैढुंगा बिपी पार्कसँगै अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला निर्माण ग¥र्यो । जसले गर्दा जिल्लामा हुने विभिन्न प्रतियोगिता अहिले उक्त रंगशालामा हुने गरेका छन् । सदरमुकाम तम्घासबाट जम्मा १४ किलोमिटर टाढा रहेको खेलमैदानमा जिल्ला देखि स्थानीयस्तरका सबै खेलकुदका कार्यक्रमहरु संचालन भइरहेका छन् ।
‘खेलमैदानको अभावमा यो बर्ष खेलकुद प्रतियोगिता संचालन गर्ने कि नगर्ने भन्ने थियो ।’ क्लवका अध्यक्ष नारायण आचार्यले भने, ‘इस्मामा आकर्षक खेलमैदान बनेको रहेछ, पालिकाले सहयोग गर्ने भएपनि जैढुंगा बिपी पार्कमा प्रतियोगिताको आयोजना ग¥र्यौ ।’ उनले क्रिकेट मैदानलाई फुटबल मैदानको रुपमा प्रयोग गरी प्रतियोगिता संचालन गरेको बताए । ग्रासरुटका खेलाडी उत्पादन गर्न खेलमैदानले सहयोग गरेको उनको भनाई छ ।
जिल्ला भलिबल संघका पनि अध्यक्ष रहेका आचार्यले सदरमुकामको खेलमैदान निर्माणाधिन भएका कारण यसबर्ष जिल्लास्तरीय भलिबल प्रतियोगिता भने आयोजना गर्न नसकेको बताए । सदरमुकामको खेलमैदान निर्माणाधिन हुँदा यो बर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिता लगायतका प्रतियोगिताहरु सदरमुकाम बाहिर संचालन गरिएको थियो ।
खेलकुदमय इस्मा, एक महिनामै पाँचवटा प्रतियोगिता सम्पन्न
पार्कमा दिनहुँजसो खेलकुदका कार्यक्रमहरु संचालन हुन थालेपछि इस्मा गाउँपालिका खेलकुदमय बन्न थालेको छ । पछिल्लो एक महिनामै पार्कमा पाँचवटा विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएका छन् । सबैभन्दा पहिले इस्माकै परिवर्तन युवा क्लवले मंसिर २० देखि २५ गतेसम्म क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।
कुल १० टिम सहभागि प्रतियोगिताको उपाधी रुपन्देहीको देवहदको युवा क्लव हात पारेको थियो । दोस्रो खेल गुल्मीको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र पत्रकार महासंघबीच मैत्रपूर्ण भएको थियो । तेस्रो खेलको रुपमा फोर्टिन स्टार युवा क्लवले पौष ८ देखि १० गतेसम्म जिल्लाका माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता गरेको थियो ।
त्यसैगरी चौथो खेल पौष १५ गते विद्युत कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा पाँचौ खेलको रुपमा पौष २४ देखि २६ गतेसम्म इस्माको राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न भयो । अब छैठौँ खेलको रुपमा तम्घासको खुकुरी युवा क्लवले माघ ६ देखि १० गतेसम्म विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको वडाध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए । कुँवरले पछिल्लो समय पार्कमा घुमफिर, पिकनिक एवं खेलकुदका धेरै कार्यक्रमहरु संचालन हुँदा स्थानीय स्तरमा आर्थिक चलायमान बढेको बताए । स्थानीय उत्पादन बिक्री हुनुका साथै चटपटे, होटल व्यवसाय, फलफुल व्यवसाय लगायतका व्यवसाय बढ्ने र घडेरीको मूल्य समेत बृद्धि भएको वडाध्यक्ष कुँवरको भनाई छ ।
पछिल्लो समय युवाहरुमा क्रिकेटप्रतिको मोह बढ्दै गएपछि इस्मा गाउँपालिकाले वडा नम्बर १ मा बिपी पार्कको नाममा क्रिकेट रंगशालाको निर्माण गरेको थियो । सार्वजनिक जग्गा सदुपयोग गरेर बनाइएको उक्त खेलमैदानमा पार्क र पिकनिक स्पोर्ट समेत बनाइएको छ । मदन भण्डारी राजमार्गको छेवैमा पर्ने जैढुंगा बिपी पार्कको काम २०७९ सालबाट सुरु भएको थियो । पहिलो बर्ष ०७९ मा पाँच लाख, ०८०–८१ मा एक करोड र ०८१–८२ मा एक करोड २३ लाख रुपैँया लागतमा खेलमैदान सहितको संरचना तयार भएको गाउँपालिका उपाध्यक्ष एवं प्रवक्ता पार्वती कुँवरले बताइन् ।
उनले पार्कमा माटो बिछ्याउने, खोलाको किनारमा पर्खाल लगाउने, ग्याभिन जाली, तारजाली घेराबार, बगैँचा निर्माण, पिकनिकका लाग संरचना तयार, फुलफूलका बिरुवा रोपण, पिउने पानी, पार्किङ्ग, शौचालय लगायतका संरचना तयार गरेको बताइन् । ‘खेलकुदको नयाँ घरका रुपमा खेलमैदान निर्माण गरेका छौँ ।’ उपाध्यक्ष कुँवरले भनिन्, ‘भविष्यमा समग्र जिल्लाको खेल पर्यटनलाई बृद्धि गर्ने लक्ष्य लिएका छौँ ।’ उनले जेनजी आन्दोलनका कारण संघीय सरकारको तीन करोड बजेट रोकिएपनि आगामी बर्षहरुमा खेलमैदानलाई थप आकर्षक र स्तरोन्नती गर्ने पनि योजना रहेको बताइन् । खेलमैदान निर्माणपछि स्थानीय खेलाडीहरुलाई खेलप्रति मोह बढेको कुँवरको भनाई छ ।






