काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले काठमाडौंको भृकुटीमण्डप परिसरलाई उत्साह र भीडभाडले भरिएको बनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थितिले परिसर भरिभराउ भएको छ ।
विशेष महाधिवेशनको औपचारिक उद्घाटनका लागि तयार पारिएको मञ्च खचाखच भरिएको छ । उद्घाटन समारोहपछि सोही स्थानमा बन्दसत्रको आयोजना गरिने आयोजकले जनाएको छ । यसैबीच, प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि भृकुटीमण्डपमै जारी रहेको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस तथा र्याली निकालिएको छ । ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निस्केका जुलुसहरू भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट गएका जुलुसहरू पहिले नै स्थलमा पुगिसकेका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ ९२० अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ । यद्यपि, पार्टीको संस्थापन पक्षले यसलाई औपचारिक मान्यता नदिएको अवस्था छ ।
आयोजकहरूका अनुसार विशेष महाधिवेशनमा करिब ६० प्रतिशत प्रतिनिधिको सहभागिता हुने अनुमान गरिएको छ । भृकुटीमण्डप परिसरमा खाना, आवास तथा अन्य व्यवस्थापनको तयारी समेत पूरा भएको छ ।






