काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा जिउँदो मानिसको पार्टी भएको बताएका छन् । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्,’ थापाले भने ।
कांग्रेसभित्र प्रश्न नमरेको उनको भनाइ थियो। ‘यहाँ कोही मालिक, कोही दास छैन, सब बराबर छ,’ उनले भने। आजदेखि कांग्रेसको पुरानो पद्धति भत्किएको उनले घोषणा गरे। ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो, आजदेखि त्यो भत्कियो। अब कसैले पार्टीको सदस्यलाई हेप्न सक्दैन,’ थापाले भने, ‘अब तल बसेको सदस्यलाई माथि बसेकाले निहुरिएर नमस्ते गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ।’
नेतृत्वको लागि विशेष महाधिवेशन आयोजना नगरिएको उनको भनाइ थियो। ‘यो पार्टीभित्रको सत्ता संघर्ष होइन, विचारको संघर्ष हो,’ उनले भने।
जेनजी आन्दोलनपछि पार्टीलाई नयाँ ढंगबाट अगाडि बढ्न विशेष महाधिवेशन गरिएको उनको भनाइ थिाये। ‘भाद्र २३ गते गैरन्यायिक हत्या पनि भयो, २४ गते उपद्रोह पनि भयो,’ उनले भने, ‘जेनजी रिसाएर सडकमा आएको हो। किन रिसायोरु राजाको छोरा राजा हुने व्यवस्था फालेर आएको गणतन्त्रमा नेपोबेबीहरूको राजदेखेर रिसाएको हो।’








