काठमाडौं । इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको सोमवार अबेर साँझ अंत्यष्ठी गरिएको छ । आइतबार दिल्ली स्थित आफ्नै फ्लाटमा सुतेको बेला गायक प्रशान्तको निधन भएको थियो ।
पत्नी मार्था (गीता थापा)का अनुसार गायक प्रशान्तको हृदयाघातका कारण निधन भएको हो । अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएपछि आइतबार बिहान उनको निधन भएको पत्नीको कथन छ ।
उनको पार्थिव शरीरलाई सोमबार बिहान दिल्लीबाट पश्चिम बंगालको बाघडोगरा एयरपोर्टमा अवतरणपछि प्रशान्तको जन्मथलो दार्जिलिङ लगिएको थियो । दिल्लीको हरिनगर स्थित दिनदयाल अस्पतालमा उनको शल्य परीक्षणपछि दार्जिलिङको जीटीए सरकारको पहलमा सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शव दार्जिलिङ ल्याइएको सांसद राजु विष्टले बताए ।
नेपालबाट गाएका अभिनेता एवम् निर्माता राजेश घतानी, गायक डम्बर नेपाली पनि बागडोगरा एयरपोर्टबाट दार्जिलिङसम्म प्रशान्त तामाङ शव यात्रामा सहभागी भएका थिए ।
अभिनेता घतानीका अनुसार शव यात्राको क्रममा खर्साङ सहित विभिन्न स्थानमा वाहन रोकेर दर्शक श्रोताले प्रशान्तको शवमा फुल गुच्छा अर्पण गर्दै उनलाई अन्तिम बिदाइ गरेका थिए । सो क्रममा सबै भावुक देखिन्थे ।
खर्साङ हुँदै दार्जिलिङमा शव यात्रा सम्पन्न गरेपछि गायक प्रशान्तको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि त्यहाँको चौरस्तामा राखिएको थियो । श्रद्धाञ्जलीको क्रममा दार्जिलिङका स्थानीय कलाकारहरूले प्रशान्तको चर्चित गीतहरू गाउँदै उनलाई संगीतबाट अन्तिम बिदाइ गरिएको पनि अभिनेता घतानीले राजधानीलाई जानकारी गराए ।
गायक प्रशान्तका बुबा आमाको यसअघि नै निधन भइसकेको छ । उनको परिवारमा श्रीमती र एक छोरी छन् । उनको सोमबार अबेर साँझ तामाङ संस्कार अनुसार अंत्यष्ठी गरिएको अभिनेता घतानीले जानकारी गराए ।
सन् २००७ मा भारतीय टेलिभिजन रियालिटी सो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेपछि उनी चर्चामा आएका थिए । आधा दर्जन नेपाली चलचित्रमा अभिनेताको रूपमा काम गरेको उनले एक दर्जन नेपाली चलचित्रमा गीत समेत गाएका थिए ।
पछिल्लो समय प्रशान्तले बलिउड अभिनेता सलमान खानसँग चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनय गरेको थिए । नेपाली चलचित्रमा गरेको अभिनयको सफलतापछि गत वर्ष मात्र उनले भारतीय वेभ सिरिज ‘पाताल लोक सिजन २’मा शीर्ष भूमिका निर्वाह गरेर चर्चा कमाएका थिए ।






