६ माघको अन्योलबीच उम्मेदवार छनोटमा दल

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांगेसलाई वैधता दिएसँगै ६ माघमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तालिका के हुने भन्ने अन्योलमा परेको छ । कांग्रेसभित्रको आन्तरिक कलहका कारण २१ फागुनको निर्वाचन प्रभावित नहुने सरकारले दोहो-याइरहँदा निर्वाचन कार्यतालिका हेरफेरको अधिकार भने निर्वाचन आयोगलाई रहेको बताएको छ ।

निर्वाचन आयोगका अधिकारीहरू औपचारिक प्रतिक्रिया दिँदा ६ फागुनको प्रत्यक्षतर्फको मनोनयन नसर्ने बताउँछन् । तर कांग्रेसको आन्तरिक किचलो व्यवस्थापन र देउवा पक्षले अदालत जाने गरी गरेको निर्णयका कारण ६ गतेको कार्यतालिका प्रभावित हुने आयोगका आयुक्तहरू नै बताइरहेका छन् । कांग्रेसको वैधता निर्णयमा अल्पमतमा परेका आयुक्त देउवा पक्ष अदालत गएको अवस्थामा अदालतले अन्तरिम आदेशको छिनोफानो नगरेसम्म उम्मेदवारी दर्ता रोक्नुपर्ने पक्षमा छ ।

तर बहुमत आयुक्तहरू भने कांगे्रस फुटेको नभई विशेष महाधिवेशन वैध हो कि अवैध भन्ने विषयमा मात्र आयोगले निर्णय दिएको दाबी गर्दै आधिकारिकता विवाद निरूपण गरेको तर्कमा छन् । पार्टी महाधिवेशनमार्फत फुटेर आएको नदेखिएका कारण असन्तुष्ट पक्षका कुरा सुनिरहन नपर्ने पक्षमा रहेका आयुक्तहरू ६ माघमै मनोनयन गर्ने अडानमा छन् ।

आयोग कार्यतालिका संशोधन गर्ने कि नगर्ने अन्योलमै रहेका बेला राजनीतिक दलहरू भने उम्मेदवार छनोटमा व्यस्त छन् । दलहरू अर्को दलबाट उम्मेदवार तानेर टिकट दिनेदेखि प्रभावशालीलाई पार्टीभित्र भित्र्याउने कसरमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिवालय बैठकले अधिकांश क्षेत्रका उम्मेदवार चयन गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार तय गरेको बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छ । मधेस केन्द्रीतदेखि साना दलसम्मले उम्मेदवार तय गरिसकेको बताए पनि महत्वपूर्ण र शीर्ष नेताले प्रतिस्पर्धा गर्ने क्षेत्रका उम्मेदवार भने सबैजसो दलले गोप्य राखेका छन् ।

नेपाली कांगे्रसले संसदीय बोर्डमार्फत उम्मेदवार छनोटको कार्य अघि बढाएपछि शनिबार अपरान्हसम्म शेरबहादुर देउवा पक्षमा रहेका शेखर कोइराला पक्षधर नेतासहित अधिकांश पूर्वकेन्द्रीय समितिका सदस्यहरू गगनकुमार थापा नेतृत्वको नेपाली कांगे्रसतिर फर्किएका छन् । कांगे्रसले असन्तुष्ट पक्षसहित सबै समूहका नेतालाई मिलाएर उम्मेदवार चयन गर्ने भन्दै ५ माघमा मात्र उम्मेदवारको अन्तिम छनोट सक्ने बताएको छ ।

राजीनामा दिएर चुनावमा होमिँदै २ मन्त्री
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता राजीनामा दिएर चुनावमा होमिने भएका छन् । दुवै मन्त्री ५ माघअघि नै राजीनामा दिएर चुनावी प्रचारमा होमिने तयारीमा रहे पनि कांग्रेस विवादका कारण ६ माघको कार्यतालिका हेरफेर हुने आशंकामा तत्काललाई रोकिएका छन् । मन्त्री खरेल र गुप्ता दुवै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्दैछन् । खरेल ललितपुर २ या ३ तथा गुप्ता सिराहा–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

मन्त्री खरेलले त शनिबार प्रमुख अतिथिको निम्तोपत्र लिएर मन्त्रालय पुगेका केही व्यक्तिसँग आफूले राजीनामा दिन लागेको भन्दै निम्तोपत्र अस्वीकार नै गरेका छन् । उनको सचिवालयले समेत मन्त्री चुनावी प्रतिस्पर्धामा उत्रन लागेको तर निर्वाचन क्षेत्र निश्चित भइनसकेको दाबी गरेको छ । गुप्ताका निकट सहयोगीहरू पनि उनी राजीनामा दिएरै चुनावमा होमिन लागेको बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल