काठमाडौं । यही ९ माघबाट रिलिज हुने भनिएको नेपाली चलचित्र ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको छ । चलचित्रका मुख्य निर्माता दिनेश कोइरालाले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘बिगुल’ को प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् । देशको वर्तमान राजनैतिक अवस्था, आम नेपालीको जनभावना तथा परिस्थितिसँग धेरै हदसम्म मिल्ने कथा यसमा समेटिएको निर्माण पक्षको कथन छ । चलचित्रको रिलिज मिति चाँडै घोषणा गरिने पनि निर्माण पक्षको भनाई छ ।
यो चलचित्रका अर्का निर्माता एवम् संगीतकार विश्वप्रकाश शर्मा हुन् । नेपाली काँग्रेसका नव निर्वाचित उपाध्यक्ष विश्वप्रकाश यति बेला आउँदो चुनावको तयारीमा छन् । निर्माता दिनेश कोइराला पनि नेपाली काँग्रेसका नेता हुन् । यसरी राजनीतिक खिचातानीसहित ९ माघमै अर्को चलचित्र परिवर्तनको पनि रिलिज मिति राखिएका कारण यसको प्रदर्शन स्थगित गरिएको बताइएको छ ।
सोही कारण चलचित्रको प्रदर्शन स्थगित गर्नु परेको भन्दै ‘बिगुल’ टोलीले क्षमा याचना गरेको छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायत नवअभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा छन् ।
यो चलचित्रलाई काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले वितरण गर्दै छ । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन ।






