जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उनले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताएका हुन् ।
सभापति लामिछानेले आफ्नो पार्टी परिर्वतनको वाहक भएको जिकिर गर्दै त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गरे । “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ”, उनले भने।
सभापति लामिछानेले आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा राखे । देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन साह एकठाउँमा आएको उनको भनाइ थियो ।
सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल गरे । कार्यक्रममा पूर्वस्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।






