मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ ।

आज साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उनलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट बिदाइ गरिएको हो । मन्त्री खरेलले आजै साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गरेका थिए । जेनजी आन्दोलनका बलमा गठन भएको वर्तमान सरकारमा उनी गत असोज ६ गते मन्त्री नियुक्ति भएका थिए ।

बिदाइ कार्यक्रममा उनले चार महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा देश र जनताको सेवा गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको बताए ।
निवर्तमान मन्त्री खरेलले मन्त्रालय र मातहतका निकायबाट यस अवधिमा पूर्ण रुपमा सहयोग प्राप्त भएकाले छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गर्ने अवसर प्राप्त भएको बताए ।

उनले भने, “थोरै समय भए पनि राज्य सञ्चालनका विषयमा धेरै सिक्ने अवसर मिल्यो, यहाँ प्राप्त अनुभव देश र जनताका लागि समर्पित गर्नेछु । मेरा काम पारदर्शी छन्, मूल्याङ्कन होस् । मन्त्रीका रुपमा कार्य सम्पादन गर्दा दुःखद् अनुभूति केही छैनन् । सबै सुखद र उपलब्धिमूलक, परिणाममुखी तथा सौहार्दपूर्ण रह्यो ।”

उनले कर्मचारी वा राजनीतिकर्मीको एकल प्रयासले देश अघि बढ्न नसक्ने भएकाले दुवैको सामूहिक प्रयासको आवश्यकतामा जोड दिए । मन्त्रालयका निमित्त सचिव रानाले राजनीतिक वृृत्तको अनुभव नभए पनि पत्रकारिता क्षेत्रको लामो अनुभवले मन्त्री खरेलको छोटो अवधिमा महत्त्वपूर्ण प्रगति र अतुलनीय कामको अभिलेख भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल