वीरगन्ज । पर्साको क्षेत्र नं. ३ मा बाहेक पहिले निर्वाचित पुरानै अनुहारसहित नयाँले पनि पर्सामा चारवटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन् । पर्साको क्षेत्र नम्बर १, २ र ४ मा क्रमशः प्रदिप यादव, अजय चौरसिया र रमेश रिजाल २०७९ को निर्वाचनमा निर्वाचित पुराना अनुहार हुन् ।
क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका नेता राजकुमार गुप्ता भने भ्रष्टाचार अभियोग मुद्दामा पुर्पक्षसम्म पुग्दा एमालेले त्यस ठाउँमा भने यो पटक रुपेश पाण्डेलाई अघि सारेको छ । तथापि पुराना मध्ये जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित निवर्तमान खानेपानी मन्त्री समेत रहेका प्रदिप यादव भने यो पटक जसपाबाट नभई सोमबार (हिजो) मात्र एमालेमा प्रवेश गरी पर्साको क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट उमेद्वार बनेका हुन् ।
यादवले नै पराजित गरेका उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिल रुंगटा पुनः यो पटक पनि नेपाली कांग्रेसकै तर्फबाट पर्सा १ मा यादवसँग आमने सामने बन्ने भएका छन् । यादव र रुँगटा सहित पर्साको क्षेत्र नं. १ मा राप्रपाबाट बरिष्ठ बलाकार नन्दु श्रीवास्तव, जसपा नेपालका राम नरेश प्रसाद यादव, रास्वपाका जिल्ला सभापति समेत रहेका बुद्धि प्रसाद (हरि) पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफ, नेपाली कम्यूनिष्ट पार्टीका सिए अजय चौरसिया, उज्यालो पार्टीका रामकिशोर सिंह पराग, लगायत स्वतन्त्रले पनि उमेद्वारी दर्ता गराएका छन् । पर्साको क्षेत्र नम्बर १ मा कुल ३० जनाले उमेद्वारी मनोनयन गराएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए । पर्साका चारवटै निर्वाचन क्षेत्रमा मंगलबार कुल १ सय ५ जनाले उमेद्वारी मनोनयन गराएको उनको भनाइ छ ।
पुराना अनुहार विस्थापन गर्ने हौवा चलिरहेकै बीच राजनीतिक धरातलमा उभिएका पुराना राजनीतिक दलबाट नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ मा अजय चौरसियालाई नै अघि सारेको छ । एमालेले भने पर्साको क्षेत्र नम्बर २ मा जेनजी उमेद्वार रिमा कुमारी यादवलाई अगाडी सारेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका मनोज चौधरी, राप्रपाबाट विना जयसवाल (निवर्तमान संसद), रास्वपाबाट सुशिल कुमार कानु, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट अभिताव बच्चन दास तत्मा, नेपाल जनता पार्टीका सन्तोष कुमार पटेल, जसपा नेपालबाट उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका अशोक अग्रवाल (टेवानी) लगायत ३२ जनाले मनोनयन दर्ता गराई सकेको पर्साको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसुदन आयार्यले बताए ।
त्यसैगरी पर्साको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पुराना नेता सुरेन्द्र चौधरी, एमालेका रुपेश पाण्डे, रास्वपाका रामाकान्त चौरसिया, नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल यादव, जनमत पार्टीका मालती कुमारी, उज्यालो पार्टीका रामरुप प्रसाद साह र केही स्वतन्त्र सहित १९ जनाले उमेद्वारी मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले बताए ।
मधेश प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्साको ठोरी समेत रहेको यहाँको क्षेत्र नम्बर ४ मा पनि पहिले निर्वाचित हुने नेपाली कांग्रेसका रमेश रिजाल (पूर्वउद्योग मन्त्री) र उनकै निटतम प्रतिद्वन्दी एमालेका जालिम मिया, संविधान सभा सदस्य तथा नेपाली कम्यूनिष्ट पार्टीका जयप्रकाश थारु पुनः आमने सामने हुने भएका हुन् । उनीहरुसँगै नयाँ अनुहारहरुमा रास्वपाका टेकबहादुर शाक्य, राप्रपाका शान्त कुमार जोशी, श्रम संस्कृति पार्टीका विष्णु लोप्चन, जनमत पार्टीका सिमा देवी कलवार, आजपाका इमदाद गद्दी, जसपा नेपालका कृपासिन्धु प्रसाद चौधरी सहित ११ स्वतन्त्र गरी कुल २४ जनाले मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत नुतन झाले बताइन् ।
पुराना अनुहार विस्थापन गर्न भन्दै नयाँ अनुहार पनि पर्सामा धेरै प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको उमेद्वारी दर्ताको तथ्याँकले देखाएको छ । तथापि कडा प्रतिस्पर्धा भने पुरानाहरुसँगै हुन सक्ने उमेद्वारी दर्तास्थल पुगेका प्रत्यक्षदर्शी अधिकारकर्मीहरुको तर्क छ । नयाँ अनुहारहरुमा केही वडा तहका नेता पनि भएकोले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पुरानाको अनुभवले नयाँलाई पछि पार्लान् कि भन्ने उनीहरुको आँकलन छ । फागुन २१ पछि यथार्थ आउने हुँदा उमेद्वारी दर्ताकै दिन बढि समिक्षा गर्न हतार गर्न नहुने मनोनयन दर्तास्थल पुगेका प्रत्यक्षदर्शीहरुले पनि बताए ।






