धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि धनकुटामा प्रत्यक्ष तर्फ दलित र महिलाको उम्मेदवार शुन्य भएको छ। एउटा निर्वाचन क्षेत्र रहेको धनकुटामा १८ जनाको उम्मेदवारी दर्ता हुँदा दलित र महिलाको उम्मेदवारी नै नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार १८ जनामा १४ जना जनजाति पूरुष र ४ जना खसआर्य पूरुषले उम्मेदवारी दर्ता गराएका छन्।
जसले गर्दा धनकुटामा प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गरेका १४ वटा राजनितिक दलले महिला तथा दलितलाई उम्मेदवार बनाएका छैनन्। राजनितिक कार्यक्रममा महिला र दलितका ’boutमा चर्का कुरा गर्ने राजनितिक दलले उम्मेदवार नै नबनाएपछि उनीहरुको कुरा भाषणमा मात्रै सिमित रहेको चर्चा हुन थालेको छ।
धनकुटामा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र जनता समाजवादी पार्टी नेपालले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन्। यस्तै नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी, राष्ट्रिय परिवर्तन पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले पनि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन्। यी बाहेक ४ जनाले स्वतन्त्रको रुपमा मनोनयन दर्ता गरेका छन्। १४ वटा राजनितिक दल तथा ४ जना स्वतन्त्रका गरि १८ जना रहेकामा कुनै पनि महिला तथा दलित उम्मेदवार रहेका छैनन्।
महिला अधिकारकर्मी सुमना तिम्सीनाले महिलाहरुलाई राजनितिक दलले दिँदा खुसी हुनुपर्ने र नदिँदा अरुको लागि सहयोग गरेर हिड्नुपर्ने अवस्थामा पु¥याएको बताउँछिन्। उनले अर्कोपटक पालो आउँछ भन्दाभन्दै महिलाको पालो नै नआउने गरेको बताइन्। तिम्सिनाले राजनितिक दलले महिलालाई नेतृत्वमा ल्याउन नचाहनु, निर्वाचन प्रणाली महंगो हुनु, संविधानले महिला र दलितलाई अधिकार दिएपनि राजनितिक दलमा जनमानसमा भिजेको छैन भन्ने गरिनु वा महिलाले के नै गर्न सक्छ र भन्ने नजरले हेर्दा समस्या भएको बताउँछिन्।
उनले आर्थिक रुपमा महिला स्वतन्त्र नहुने र चुनावमा खर्च पनि बढी गर्न महिला डराउने भन्ने मनोभावना समाजमा विकास भएको बताइन्। उनले राजनिति परिपाटी सुन्दर बन्दा महिलाले उम्मेदवारी पाउने आश रहेको बताउँदै राजनिति सुन्दर बन्न सबैको भूमिका हुनुपर्ने बताइन्। नेपालमा सती प्रथाको इतिहासबाट अहिलेको अवस्थासम्म आइपुग्नु चाहिँ धेरै उपलब्धी भएका निराश हुनुपर्ने अवस्था नभएको भएपनि यति मात्रै भने नपुगेको तिम्सिनाको भनाइ छ।
दलित एकता समाज धनकुटाकी अध्यक्ष तथा अधिकारकर्मी कोपिला शंकरले प्रत्यक्षतर्फ महिला र दलितलाई टिकट नदिएर राजनितिक दलले उपेक्षा गरेको गुनासो गरिन्। संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको पनि मुख्य दलहरूले नै टिकट वितरणमा दलित समुदाय र महिलालाई बेवास्ता गरेको उनको भनाइ छ। पार्टी भित्र जित्ने खालका कुरा गर्ने भन्ने गरिएको र पहुँचको आधारमा टिकट वितरण हुने गरेको उनको भनाइ छ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजयसञ्तोषी राईले जिल्ला समितिले सिफारिस गर्ने अधिकार मात्रै भएकाले जिल्लामा रहेका महिलाले चाहाना नगर्दा सिफारिस नभएको बताए। उनले उम्मेदवार बनाउने अधिकार केन्द्रको मात्रै भएकाले जिल्लाले बोल्न सक्ने ठाउँ नै नरहेको बताए।
यता नेकपा एमाले धनकुटाका सचिव पर्शुराम नेपालले महिला र दलितलाई उपेक्षा गरेको नभइ टिकट वितरण केन्द्रले गर्ने भएकाले जिल्लाको अधिकार नभएको बताए। उनले जिल्लामा एउटा उम्मेदवार हुने भएकाले सबैलाई अटाउन नसकिएको नेपालले बताए। नेपालले देशभर मिलाएर गरेको र धनकुटामा कार्यकर्ताको माग अनुसार त्यो परिस्थिती नबनेको बताए।
नेपाली कम्युनिष्ट पार्टी धनकुटाकी संयोजक कुशुम कुमारी श्रेष्ठले जिल्लाबाट महिला, दलित र जनजाति मिलाएर सिफारिस गरेको भएपनि केन्द्रले उम्मेदवारको टुंगो लगाएको जानकारी दिइन्। उनले पार्टीले प्रदेशभरि सबै मिलाएर उम्मेदवार बनाउँदा धनकुटामा महिला र दलित उम्मेदवारको भागमा नपरेको जानकारी दिइन्।
समानुपातिकमा धनकुटाका २१ जना उम्मेदवार
धनकुटाबाट समानुपातिकमा भने २१ जना उम्मेदवार रहेका छन्। धनकुटाबाट समानुपातिकमा नेकपा एमालेले केन्द्रिय सदस्य मनकुमारी तितुङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेश र नेपाली कम्युनिष्ट पार्टीका समानुपातिक तर्फ उम्मेदवार नै छैनन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्व राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमार बहादुर थापा, जनता समाजवादी पार्टी नेपालबाट रकम चेम्जोङ र राजकुमार राईको उम्मेदवार रहेका छन्।
यस्तै श्रम संस्कृति पार्टीबाट मुनादेवि लिम्बू र पूर्ण गहतराज विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीबाट भूमिका तामाङ, नागरिक शक्ति नेपालबाट कल्पना मेगाले मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट धानुका चोङवाङ, प्रजातान्त्रिक पार्टी नेपालबाट सविना श्रेष्ठ, आम जनता पार्टीबाट सर्मिला लिम्बू, माया दनुवार र शिवकुमार थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनकुमार राईको नाम समानुपातिक उम्मेदवारको बन्द सूचिमा रहेको छ। यता नेपाल मातृभूमि पार्टीबाट सिता दाहाल र माया राना, मितेरी पार्टी नेपालबाट मिना राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट टेकरत्न चेम्जोङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट राधिका जवेगु मगर र नेपाल संघीय समाजवादी पार्टीबाट सोमबहादुर राईको नाम समानुपातिकको बन्द सुचिमा रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सुचिमा उल्लेख छ ।






