सप्तरी । सरकारी जागिर छाडेर चुनावी मैदानमा उत्रेका राजविराज १३ विषहरिया निवासी डा. दिपक चौधरीले देश बन्न सही व्यक्तिको चयन आवश्यक रहेको बताएका छन् । ५२ वर्षिय डा. चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार बनेका व्यक्ति हुन् ।
देश बन्न सही व्यक्तिको चयनमा जोड
उनी उक्त पार्टी का केन्द्रिय सदस्य समेत हुन् । बुधबार राजविराजस्थित राजदेवी मन्दिर चौकमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले देश बन्नलाई सही व्यक्ति चयन हुन आवश्यक रहेको बताए । उनी हालै नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिई राजनीतिमा होमिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेतृत्व विकासमा विद्यावारिधी (पिएचडी) गरेका उनलाई उज्यालो पार्टी नेपालले चुनाव लड्न टिकट दिएपछी जागिर छाडेका हुन् । उनले एउटा कर्मचारीको आँखाबाट जनताको दुःख देखिसकेपछी जनप्रतिनिधिकै हैसियतले काम गर्नु पर्ने महसुस भई राजनीतिमा लागेको बताएका छन् ।
“राजनीतिलाई मैले अर्को अवसरका रुपमा लिएको छु, उनले भने– अब कुलमान घिसिङको नेतृत्वमा मुलुकलाई सही ट्रयाकमा लैजाने प्रयास हुनेछ ।” झण्डै दुई दशक उर्जा क्षेत्रमा काम गरेर प्रशासकीय, व्यवस्थापकीय र नीतिगत अनुभव बटुलेका डा. चौधरी पार्टी अध्यक्ष कुलमानकै प्रेरणाले राजनीतिमा प्रवेश गरेको बताउँछन् ।
राष्ट्रिय, अन्तराष्ट्रिय अध्ययन, अनुसन्धान तथा मधेश आन्दोलन र मधेशको अवस्था ’bout थुप्रै लेख, रचना र पुस्तक लेखेका डा. चौधरी मुलुकमा भ्रष्टाचार र गलत नेतृत्वलाई विकासको प्रमुख बाधक मान्छन् । उनी भन्छन्–नेपाललाई उज्यालो बनाउन भ्रष्टाचार मुक्त न्यायिक समाजको निर्माण गर्नु जरुरी छ ।
उक्त अवसरमा पार्टीका जिल्ला संयोजक डा. सुर्य प्रसाद यादव, सह–संयोजक श्रीप्रसाद चौधरी, प्रकाश चन्द्र चौधरी, सत्यनारायण देव, कान्तिदेवी राम, क्षेत्र नं. ३ का उमेदवार परमेश्वरलाल साह र क्षेत्र नं. ४ का उमेदवार बिसोकुमार यादवसहितको उपस्थिति थियो ।






