काठमाडौं । आमचुनावका लागि मंगलबार दर्ता भएको प्रत्यक्षतर्फको उम्मेदवारीमा ३५ वर्षमुनिका ५ सयभन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । विगतका निर्वाचनमा युवा विद्यार्थी परिचालन नाममा झन्डा बोकेर हिँड्ने उमेर समूहका मानिने ३५ वर्षसम्मका युवा पुस्तालाई यो निर्वाचनमा उम्मेदवार बनाउने अवस्था ‘जेनजी आन्दोलन’ले बनाएको दाबी गर्छन् जेनजी आन्दोलनका अभियन्ता रक्षा बम ।
‘यो उम्मेदवारी नै त्यो सफलता त होइन तर कमसेकम यी युवाहरू अरूको प्रचार गर्न मात्र नभई आफैँ उम्मेदवार बन्न तयार हुनु पनि एउटा महत्वपूर्ण उपलब्धि हो,’ बमले भनिन् । जेनजी आन्दोलनको एजेन्डा व्यवस्थामै सुधारसहितको परिवर्तनको प्याकेज भए पनि युवाहरूमा राजनीतिको झड्का दिन सफल भएको अभियन्ता मिराज ढुंगाना बताउँछन् ।
‘हाम्रा माग, चासो र सरोकार त व्यवस्थामा आमूल परिवर्तन नै हो, प्रत्यक्ष निर्वाचित कार्यकारी नै हो, तर पनि यो मुद्दा बोक्नका लागि युवाहरूमा राजनीतिको चासो बढाउनु आवश्यक थियो, चासो बढेछ भन्ने कुरा त उम्मेदवारीले पनि देखायो नि,’ ढुंगानाले भने । युवा अधिकारका क्षेत्रमा कार्यरत संस्था युवा सँस्था सञ्जाल (आयोन)की अध्यक्ष सुजता बराल निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गर्दै राजनीतिक परिवर्तनको हिस्सेदार बन्न तयार भएको युवा उम्मेदवारीलाई रूपान्तरणका लागि भएको सकारात्मक हस्तक्षेपकै रूपमा नै लिनुपर्ने बताउँछिन् ।
अघिल्ला निर्वाचनमा नाम सिफारिसमा समेत आनाकानी हुनसक्ने सम्भावना भएका युवाहरू पुरानै पार्टीबाट समेत टिकट लिएर निर्वाचनमा पुगेको दृश्य युवा आन्दोलनका लागि निकै प्रेरक भएको बरालले बताइन् । नेपाली काँग्र ेसको पार्टी नेतृत्वमै युवा पुस्ताको उपस्थिति हुनु र निर्वाचनका लागि युवा उम्मेदवारको संख्या बढ्नुलाई जेनजी आन्दोलनकै उपलब्धिको रुपमा लिनुपर्ने बरालले बताइन् ।






