खोटाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा उम्मेदवार अर्थ तथा राजनीतिक विश्लेषक डा. हरि रोकालाई विजयी गराउन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईको संयोजकत्वमा १,१२५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
बिहिबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत समिति गठन’bout जानकारी दिईएको हो । समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरू, पूर्वसांसद, संविधानसभा सदस्यहरू, केन्द्रीय समितिका सदस्यहरू, प्रदेश पदाधिकारीहरू, जिल्ला कार्यसमितिका पदाधिकारीहरू, जनवर्गीय संगठनका नेताहरू, दशवटै स्थानीय तहका पदाधिकारीहरू र जनप्रतिनिधिहरू समावेश छन् ।
नेकपा खोटाङले निर्वाचन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गरेको छ । टंक राईकै संयोजकत्वमा ११ सदस्यीय आर्थिक संकलन तथा व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य राजन राईको संयोजकत्वमा १५ सदस्यीय चुनाव प्रचार–प्रसार तथा घोषणापत्र निर्माण समिति बनाइएको छ ।
उम्मेदवारसँग परिचालित हुने आठ नेताहरूको टोली निर्धारण गरिएको छ, जसमा टंक राई, रामकुमार राई ‘पासाङ’, सनबहादुर राई, राजन राई, समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, कमल ढकाल र शुभलाल राई ‘आदेश’ रहेका छन् ।
निर्वाचन क्षेत्रगत जिम्मेवारी
खोटाङ निर्वाचन क्षेत्र नं. १ (क)को संयोजन तथा व्यवस्थापनका लागि दुर्गाजयन्ती राई र निर्वाचन क्षेत्र नं. २ (ख)मा समिता कार्की ‘अस्मिता’लाई जिम्मेवारी दिइएको छ । निर्वाचन कार्यालय व्यवस्थापनका लागि जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै, मत सर्वेक्षणका लागि प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’को संयोजकत्वमा १३ सदस्यीय समिति, कानूनी शिक्षा तथा अनुगमनका लागि अधिवक्ता एवं पूर्वसांसद कुलप्रसाद फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति र स्वय्सेवक परिचालनका लागि किसन राई ‘दोबालिछा’को संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
चुनावी कार्यक्रम
नेकपाले माघ १५ गतेभित्र सबै पालिका र माघ २० गतेभित्र वडा तहमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाएको छ । पार्टीले आगामी फागुन ५ गतेदेखि बराहपोखरी गाउँपालिकाबाट चुनावी सभा सुरु गर्ने योजना रहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।






