म्युनिख । कोरोना महामारीपछि पनि जर्मन फरवार्ड टिमो वेर्नरले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिँदै ह्याट्रिक पूरा गरेपछि आरबी लाइपजिगले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । लाइपजिगले घरेलु टोली मेइन्जमाथि ५–० को सानदार जित निकालेको हो । लाइपजिगको सानदार जितमा टिमो वेर्नरले ह्याट्रिक पूरा गर्दा युसुफ पउलसेन र मार्सेल सवित्जेरले समान १–१ गोल गरे ।
मेइन्जमा आइतबार राति एकपक्षीय बनेको खेलमा लाइपजिगले खेलको ११औं मिनेटमा टिमो वेर्नरको गोलबाट खेलमा अग्रता बनाएको थियो वेर्नरले कोनराड लेइमेरको पासमा गोल गर्न सफल भएका थिए । २३औं मिनेटमा युसुफ पउलसेनकले सवित्जेरको पासमा गोल गरेपछि लाइप्जिगले खेलमा अग्रता दोब्बर पारेको थियो । ३६औं मिनेटमा युसुफको पासमा सवित्जेरले गोल गरेपछि लाइपजिगले पहिलो हाफमा ३–० को अग्रता आरामदायी अग्रता लिन सफल भयो । ४८औं मिनेटमा वेर्नरले केभिनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि लाइपजिग फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ७५औं मिनेटमा वेर्नरले युसुफको पासमा ह्याट्रिक पूरा गरे ।
वेर्नरले मेइन्जविरुद्ध गत नोभेम्वरमा पनि ह्याट्रिक पूरा गरेका थिए । यससँगै वेर्नरले बुन्डेसलिगामा यस सिजन आफ्नो गोल संख्या २४ पु¥याएका छन् । जुन उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । सर्वाधिक गोल गर्नेमा वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की २७ गोलसहित वेर्नरभन्दा अघि छन् । यस्तै वेर्नर लाइपजिगको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले लाइपजिगका लागि ९१ गोल गरेका छन् ।
त्यसपछि थप गोल निस्कन नसक्दा लाइपजिग ५–० को सानदार जित निकाल्न सफल भयो । जितसँगै लाइपजिग २७ खेलबाट ५४ अंक जोडेर तेस्रो स्थानमा उक्लन सफल भएको छ । लाइपजिगले बायर लिभरकुसेनलाई १ अंकले पछि पारेको छ । पराजित मेइन्ज २७ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान मात्रै माथि छ । तर, यो स्थानको टोलीले रेलिगेसन बच्नको लागि प्ले अफ खेल्नुपर्ने हुन्छ ।