टाइगर कप भलिबल सुरु

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा शुक्रबारदेखि छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएका छन् । यही १७ माघसम्म चल्ने प्रतियोगितामा २ विदेशी टिम पनि सहभागी छन् । पुरुष र महिला दुवैतर्फ विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार पुरुषतर्फ विदेशी टिम माल्दिभ्स भलिबल एशोसिएसनसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ विदेशी थाइल्याण्ड क्वीन्ससहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड युथ स्पोट्र्सले भाग लिएका छन् ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथि उठाउने महत्वपूर्ण माध्यम रहेको बताए । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पर्यटकीय राजधानी पोखरामा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुसीको महसुस भएको उल्लेख गरे ।

नेपाल भलिबल संघ महासचिव रोशन श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्ड हल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेल मैदान निर्माणका लागि संघले पहल गरिरहेको बताए ।

यसैबीच, आयोजकले भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पु-याउने तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर हुन्् । सुनारी हालै २२ औं पल्सर स्पोर्टस् अवार्डमा पिपल्स च्वाइस अवार्ड विजेता पनि हुन् ।

पहिलो दिन शुक्रबार ३ खेल भए । पुरुषतर्फ एपिएफ र नेपाल आर्मीले विजयी सुरुआत गरे । पुरुषतर्फ उद्घाटन खेलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ सेटमा पराजित गरेको हो । जसमा एपिएफका उपेन्द्र परियार प्लेयर अफ दि म्याच बने ।

त्यसअघि, पुरुषतर्फ नै विभागीय आर्मीले विजयी सुरूआत गरेको छ । आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० ले पराजित गरेको हो । आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने ।

महिलातर्फ टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले विभागीय आर्मीलाई सोझो सेटमा हरायो । जसमा न्यू डायमण्डकी सालिना बुढा मगर प्लेयर अफ द म्याच घोषित भइन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक