काठमाडौं । अभिनेता एवम् निर्देशक अर्पण थापा नयाँ चलचित्र ‘फ्रेन्च किस’ लिएर निर्माणमा उत्रिएका छन् । उनको यो चलचित्रको निर्माण सुरु भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रको सरस्वती पूजा (वसन्त पञ्चमी)को अवसर पारेर शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको थियो ।
चलचित्रको छायांकनको लागि आफूहरू आइतबार बिहान चितवन तर्फ लाग्ने उनले राजधानीलाई बताए । निर्देशक थापाको अनुसार चलचित्र ‘फ्रेन्च किस’को छायांकन सोमबारबाट सुरु हुँदै छ । चलचित्रको सबै छायांकन चितवनका विभिन्न स्थानमा सम्पन्न गर्ने पनि उनले बताए । युवा पुस्ताको समस्या र प्रेमकथामा यो चलचित्र आधारित हुने अर्पणको कथन छ ।
यस चलचित्रमा आफू पनि मुख्य भूमिकामा देखिने अर्पणले बताए । उनका अनुसार ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो यो चलचित्रमा अभिनेत्रीको रूपमा छिन् । जसमा अर्पण र थिन्ले जोडी बन्दै छन् ।
चलचित्रमा अभिनेत्री गौरी मल्ल, आयशा तामाङसहितको मुख्य भूमिका रहेको पनि उनले जानकारी गराए । अर्पणका अनुसार यो चलचित्रको छायांकन ४० दिनमा सक्ने लक्ष्य रहेको छ ।
चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रको छायांकारमा सुदीप बराल, संगीतकारमा दीपक बज्राचार्य छन् ।






