पोखरा । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा समेत पहिलोपल्ट कोरोना संक्रमित देखा परेका छन् । भारतको गाजियावादबाट नेपाल आएका २० र २९ वर्षका उनीहरु दुवै पुरुष हुन् । स्याङ्जा प्रवेश गरेदेखि नै वालिङस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुको सोमबार राति स्वाब परीक्षणमा पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोबारे पुष्टि नगर्दै स्याङ्जाबाट प्रतिनिधित्व गर्ने दुई सांसदले गण्डकी प्रदेशसभामा सोबारे जानकारी दिँदै उच्च सुरक्षाको माग गरेका थिए । सांसद भागवत्प्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले सोमबार पोखरा सभागृहस्थित गण्डकी प्रदेशसभाको बैठकमा सोबारे जानकारी दिएका थिए ।
त्यसको केही घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा सोमबार देखिएका ९० नयाँ संक्रमितमध्ये स्याङ्जाका पनि ती २ जना भएको पुष्टि गरेको हो ।
जेठ १० मा भारतको गाजियावादबाट उनीहरुसहित कुल ९ जना आएका थिए । गाजियावाददेखि गोरखपुरसम्म रेलमा, त्यसपछि सुनवलसम्म ट्रकमा र सुनवलबाट वालिङसम्म जीपमा आएका र शनिवार बिहान ३ बजे वालिङपछि उनीहरु क्वारेन्टाइनमा बसेको जिल्ला अस्पतालका प्रमुख डा. शुशिल मरासीनीले जानकारी दिए ।
उनीहरुसहित २० जनाको क्वारेन्टाइन रहेकै बेला स्वाब परीक्षण गरी पोखरा ल्याइएको हो । संक्रमितमध्ये २० वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहे पनि अर्का २९ वर्षीय युवकको स्वास्थ्यमा समस्या देखिएको जनाइको छ । नतिजा पोजेटिभ आएपछि स्याङ्जा जिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा उपचारका लागि लगिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनीहरु वालिङ–७, केवरे भञ्ज्याङको भएको बताइएको छ ।
जिल्लामा पहिलोपल्ट कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ध्रुव गिरीले जानकारी दिए । यता, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा पहिलोपल्ट कोरोना संक्रमित देखिएको हो । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा ९ माघमा देखिएको हो ।
नेपाल सरकारले कोरोना परीक्षण प्रदेशस्तरमा विस्तारगरेपछि गण्डकी प्रदेश राजधानी पोखरामा १८ चैतेदेखि पीसीआर परीक्षण हुँदै आएको हो । झण्डै २ महिना अवधिमा मात्र २ हजार जनाको परीक्षण भएको छ । आरडीटी ७ हजार पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भने प्रदेशको बजेट अधिवेशनको पहिलो दिन यहाँ पीसीआर मेसिन थपेर परीक्षण दर बढाउने बताएका थिए ।
गण्डकीमा देखिएका २ नयाँ संक्रमितसहित प्रदेशमा कुल संक्रमित संख्या ७ जना पुगेको छ । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केका हुन् । गत ४ चैतमा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका बागलुङका २ जना (नेपालमा क्रमशः पाँचौ र छैटौं संक्रमित) थिए ।
तीमध्ये बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीलाई चैत १५ मा कोरोना पुष्टि भएको थियो । उनी गण्डकीमै पहिलो संक्रमित हुन् । उनको बागलुङस्थित धौलागिरि अस्पतालमा उपचारपछि १२ वैशाखमा डिस्चार्ज भएकी थिइन् ।
यस्तै, छैटांै संक्रमित बागलुङ–३, गौंडाकोटकी ६५ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारपछि ६ वैशाखमा डिस्चार्ज गरिएको थियो । गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा प-यो ।
जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।