राजविराज । सहिद दिवसको अवसर पारेर शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी कर्मचारी सहिद प्रभुनारायण यादवको सम्झना गरिएको छ । कर्मचारी सहिद यादवको गृह गाउँ तिलाठी कोइलाडी गाउँपालिकाको तोपा बजार तथा जिल्ला समन्वय समिति परिसर भित्र रहेको उनको शालिकमा माल्यार्पण गर्दै सम्मान र श्रद्धान्जली अर्पण गरिएको हो ।
उनको सालिकमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, मधेश प्रदेशका अर्थमन्त्री महेश यादवका साथै विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरु समेत पुगेर माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण गरेका छन् ।
प्रभु नारायण स्मृती प्रतिष्ठानका अध्यक्ष अवधेश कुमार झाको उपस्थितिमा आयोजित श्रद्धान्जली समारोहमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
वि.स.२०१७ सालमा तिलाठी कोइलाडी गाउँपालिका ८ बभनगामाकट्टीमा जन्मेका यादवलाई २०६४ साल कार्तिक १२ गते साँझ कार्यालयको काम सकेर मोटरसाईकल चढी घर फर्किर्द गर्दा राजविराज–हनुमाननगर सडक खण्ड अन्र्तगतको खाँडो पुल नजिकै अपराधिक समुहले गोली हानी हत्या गरेका थिए ।
उनी तत्कालिन जिल्ला विकास समिती सप्तरीको नायब सुब्बा पदमा कार्यरत थिए । स्थानीयतह कर्मचारी संघ सप्तरीको पहिलो जिल्ला अध्यक्ष समेत रहेका उनको हत्या पश्चात् कर्मचारीहरुको आन्दोलन तथा उक्त आन्दोलनमा पेशागत संगठन, राजनितीक दल र नागरिक समाजको समेत सहभागिता बढ्दै गएपछी २०६४ साल कार्तिक १७ गते बसेको मन्त्री परिषदको बैठकले स्व.यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो ।










