काठमाडौं । गत साता हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीकै भाउ फेरि लगातार उच्चदरमा घट्न थालेको छ। सुनको भाउ आज तोलामा १८ हजार आठसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेर तीन लाख १८ हजार आठसय रुपैयाँमा झरेको थियो। दुई दिनमै सुनको मूल्य ३९ हजार तीनसय रुपैयाँ घटेको हो।
गएको बिहीबार भने सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो भाउ हालसम्मकै सबैभन्दा महँगो हो।
गएको बुधबार सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेको थियो। गएको एक सातामा सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेर फेरि उच्चदरमा घट्न थालेको हो।
आज चाँदीको भाउमा पनि व्यापक गिरावट आएको छ। तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको पाँच हजार पाँचसय रुपैयाँमा झरेको छ। चाँदीको मूल्यमा यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो।
गएको शुक्रबार चाँदीको भाउ तोलाको सात हजार ६५ रुपैयाँमा झरेको थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार ८६५ र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











