एमालेका पूर्वगाउँपालिका प्रमुख कृष्णकुमार राई नेकपा प्रवेश

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता एवं केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईले पार्टी परित्याग गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले मङ्गलबार बाक्सिलाबजारमा आयोजना गरेको कार्यक्रममा एमाले नेता राईसहित ३७ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

एमाले गाउँपालिका उप–सचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नम्बर–४ बाक्सिला गाउँकार्यसमिति अध्यक्ष दिनेश राईलगायतका नेताहरू एमाले छाडेर नेकपामा आबद्ध भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भावना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताए । नेता राईले, “एमालेले जनताको भावना बुझ्न सकेन त्यहाँ रहेर अहिले जनताको घरमा जान सकिने अवस्था छैन जेनजी आन्दोलनपछि देशभर नेकपाको पक्षमा जनमत जुट्दै गएको छ म आफू पनि राजनीतिक व्यक्ति हुँ जनताको सेवा गर्न एमाले परित्याग गरेर नेकपा प्रवेश गरेको हुँ” ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राई, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू रामकुमार राई ‘पासाङ’ र राजन राई, केन्द्रीय सदस्य भीम राई, जलशेर राई लगायतले स्वागत गरेका छन् । नेकपा प्रवेशसँगै पार्टीले दिएको जिम्मेवारीमा रहेर जनताको सेवामा समर्पित हुने नेता राईले प्रतिबद्धता जनाएका छन् ।

चुनावको मुखैमा पूर्वगाउँपालिका अध्यक्षसहितका नेताकार्यकर्ताहरूले पार्टी परित्याग गरेपछि एमाले खोटाङलाई ठूलो धक्का लागेको छ । पूर्वगाउँपालिका प्रमुख राईको नेकपा प्रवेशले चुनावी अभियानमा रहेका नेकपा खोटाङका उम्मेदवार डा हरि रोकालगायतको टोली उत्साहित बनेका छन् । नेकपाका उम्मेदवार अर्थ तथा वाम राजनीतिक विश्लेषक डा रोकाले कृषकको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि यस पटकको निर्वाचनमा आफूले उम्मेदवारी दिएको बताए ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पुरानै तीन राजनीतिक दल (काँग्रेस, एमाले र नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२