टुरिष्ट उम्मेदवार नै प्रधानमन्त्रीका दाबेदार

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका प्रधानमन्त्रीका दाबेदार उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने भएका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आफूलाई मतदान गर्न पाउने छैनन् । झापा क्षेत्र– ५ बाट उम्मेदवार शाह काठमाडौं महानगरपालिकाका मतदाता हुन् ।

चर्चित नेताहरू आफैंलाई भोट हाल्दैनन्

स्थानीय तह निर्वाचनमा सम्बन्धित स्थानीय तहभित्रै मतदाता हुनुपर्ने कानुनी व्यवस्था भए पनि प्रतिनिधिसभा निर्वाचनका लागि देशको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाइने भएकाले काठमाडौं महानगरपालिकाका नगरप्रमुख निर्वाचित भएका शाहले राजीनामा गरेर झापा क्षेत्र–५ बाट उम्मेदवार भएका हुन् । झापा–५ लाई ‘रैथाने निर्वाचन क्षेत्र’ बनाउँदै आएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा क्षेत्र–५ का मतदाता होइनन् ।

उनी हरेकपटक यो क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने भए पनि मताधिकार भने भक्तपुर क्षेत्र–२ मा छ । ओलीले सुर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माविबाट मत हाल्छन् । उनको थातथलो भने झापा पनि हो । निर्वाचन कानुनमा सहुलियत भए पनि नैतिक रूपले प्रश्न उठ्नेगरी आफ्नो मताधिकार भएको क्षेत्र छाडेर शाहजस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि चलनचल्तीको भाषाको ‘टुरिस्ट’ उम्मेदवार भएका छन् ।

लोकतन्त्रमा चुन्ने र चुनिने अधिकार सँगसँगै भएका कारण मताधिकार भएकै क्षेत्रमा उम्मेदवार हुनुपर्ने विषय उठिरहेका बेला आफ्नो मताधिकार क्षेत्रबाहिर गएर मत मागिरहेका उम्मेदवारलाई स्थानीयले ‘टुरिस्ट’ भन्दै आलोचना गरिरहेका छन् ।

थापा काठमाडौं क्षेत्र–४ का मतदाता हुन् भने आफ्नो क्षेत्र छोडेर सर्लाही क्षेत्र–४ बाट उम्मेदवार भएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापालाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । राजनीतिक दलमा सबैभन्दा बढी चलायमान अर्थात् गतिशील भन्दै दावी गर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफूलाई प्रधानमन्त्रीको दाबेदारकै रूपमा अगाडि सारिरहेका छन् ।

भावी प्रधानमन्त्रीको रूपमा नेपाली कम्युनिस्ट पार्टीले प्रचण्डलाई नै अगाडि सारेको सो पार्टीको प्रचार रणनीतिले देखाएको छ । प्रधानमन्त्रीका रूपमा अघि सारिएका प्रचण्डले पनि आफैंलाई मतदान गर्न पाउने छैनन् । प्रचण्ड लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट उम्मेदवार भएका छन् भने उनको मताधिकार चितवनमा छ ।

धेरै चर्चित नेता भोट माग्दै निर्वाचन क्षेत्र दौडिरहेका छन् । लोकतन्त्रमा चुन्ने र चुनिने अधिकार सँगसँगै भएका कारण आफ्नो मताधिकार भएकै क्षेत्रमा उम्मेदवार हुनुपर्ने विषय उठिरहेका बेला आफ्नो मताधिकार रहेको क्षेत्रबाहिर गएर उम्मेदवार बन्दै मत मागिरहेका उम्मेदवारलाई स्थानीयले ‘टुरिस्ट’ भन्दै आलोचना गरिरहेका छन् ।

राष्ट्रिय चर्चाकै कारण निर्वाचन क्षेत्रमा जाने र जित्ने भए पनि भूगोल र भावनाको प्रतिनिधित्व खोज्न नागरिकले ‘आफ्नै क्षेत्रको कि अन्यत्रबाट चुनाव लड्न आएको ?’ भन्दै प्रश्न सोध्ने सामान्य विषय भएको निर्वाचन मामिलाका जानकार बताउँछन् । नागरिकले आफ्नो भूगोल, भावना र अझ नजिकका व्यक्ति जनप्रतिनिधि होस् भन्ने चाहेको मानवीय कारण नै निर्वाचन क्षेत्र बाहिरकालाई अलिक भिन्न व्यवहार हुने गरेको मतदाता बताउँछन् ।

चर्चित नेताहरू नै टुरिष्ट
जेनजी आन्दोलनपछि चर्चामा रहेको र चर्चित नेता तथा ‘सेलिब्रेटी’ जुटेर सशक्त बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि आफ्नो मताधिकार भएको क्षेत्रबाहिर मत माग्न पुगेका छन् । यसअघि पनि आफूले आफै ंलाई मत हाल्न नपाएको भनिएका लामिछाने चितवन क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

लामिछाने काठमाडौं क्षेत्र–३ का मतदाता हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र उपनिर्वाचनमा समेत उनले आफैंलाई मतदान गर्न पाएका थिएनन् । नेपाली कांग्र ेसका महामन्त्री तथा युवा नेता प्रदीप पौडेल पनि आफ्नो मताधिकार भएको क्षेत्रबाहिर मत माग्नुपर्ने अवस्थामा छन् । मतदातासँग भेटघाट गर्ने चाहना राख्दा मताधिकार नपाइने र मताधिकार लिँदा आफ्नै उम्मेदवारी भएको क्षेत्रका मतदातासँग निर्वाचनका दिन भेटघाट गर्न नपाउने अवस्थाका भागेदार बन्नुपर्नेमा बालेन्द्र, रवि र गगनपछि प्रदीपसमेत परेका छन् ।

काठमाडौं क्षेत्र–५मा उम्मेदवार बनेका पौडेल तनहुँ क्षेत्र–२ का मतदाता र शुक्लागण्डकी नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र–२ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा उम्मेदवार भई पराजित भएका पौडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र–५ बाट निर्वाचित भई स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत भएका थिए ।

राप्रपा नेता रविन्द्र मिश्र पनि काठमाडौं क्षेत्र–१ का लागि ‘टुरिस्ट’ उम्मेदवार भएका छन् । आफ्नो मताधिकार सारेर ल्याउन पनि नसक्ने तर सधैं चुनाव लड्न यही क्षेत्र रोज्ने राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । ललितपुर क्षेत्र–३ बाट मताधिकार प्रयोग गर्ने मिश्रको रोजाइमा काठमाडौं क्षेत्र–१ पर्ने गरेको विषयमा पार्टीभित्र आन्तरिक विवाद हुँदासमेत उनी यही क्षेत्रमा दोहोरिएर उम्मेदवार भएका हुन् ।

ललितपुर महानगरपालिका–१८ का स्थायी बासिन्दा उनी २०७४ र २०७९ सालको निर्वाचनमा प्रकाशमान सिंहसँग पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा ‘भावी अर्थमन्त्री’ भन्दै प्रचार गरिएका डा. स्वर्णिम वाग्ले पनि आफ्नो थातथलो छोडेर चुनावी क्षेत्र खोज्दै तनहुँ पुगेका हुन् । मतदातामाझ पुग्दा ‘टुरिस्ट उम्मेदवार’ भनी आलोचना भएका वाग्ले पनि काठमाडौं जन्मस्थान भएका गोरखाका स्थायी बासिन्दा हुन् ।

गोरखा जिल्ला शहीद लखन गाउँपालिका बुङ्कोट स्थायी ठेगाना भएका वाग्ले गोरखाकै मतदाता हुन् । तनहुँ क्षेत्र–१ बाट उम्मेदवार भएका वाग्लेले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । भक्तपुर क्षेत्र–२ मा रास्वपाबाटै उम्मेदवार बनेका उम्मेदवार राजिव खत्री पनि आफैंलाई मतदान गर्न नपाउने ‘टुरिस्ट’ उम्मेदवार हुन् । भक्तपुर क्षेत्र–२ बाट उम्मेदवार बनेका खत्री काठमाडौं क्षेत्र–४ का मतदाता हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिपक्षीको बहिष्कारबीच राति ११:४५ बजे सुदूरपश्चिमको बजेट