राष्ट्रियताको विषयलाई सर्वोपरि राखियोस्

नेपालको नयाँ नक्सा अनुमोदनका लागि गरिने भनिएको संविधान संशोधनको प्रक्रिया ढिलो हुने देखिएपछि यसले नेपाली जनताका बीचमा विभ्रम पैदा गरिदिएको छ । जनता अन्योल र आक्रोशित बन्न थालेका छन् । स्वाभिमानी जनताका लागि अतिक्रमित भूमि फिर्ता एक गौरवको विषय हुनुका साथै नेपाल आमाप्रतिको सच्चा दायित्व पूरा गरिनु पनि हो । भूमिलाई माताका रूपमा पुज्ने तथा श्रद्धा गर्ने नेपालीका लागि योभन्दा ठूलो कुरा अरू हुन पनि सक्दैन । राष्ट्रिय लोगोमा नै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अंकित छ ।’ नेपाल र नेपाली भूमिप्रतिको नेपालीको आस्था आदर्श मात्र होइन, यो पटकपटक अनुभूत हुने गरेको व्यावहारिक विषय पनि हो । छिमेकी देश भारतबाट हरेक वर्ष केही न केही र कहीँ न कहीँ अतिक्रमणमा परिरहने नेपाली भूमिको सबैभन्दा ठूलो हिस्सा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि समेटिएको नेपालको नक्सा संसद्बाट अनुमोदन हुँदै छ भन्ने ठूलो आशा पनि रहेको छ । सकारले यसलाई व्यावहारिक रूप दिने घोषणा गरेको पनि छ । तर, भनेअनुरूप व्यावहारिक कार्यान्वयनमा प्रतिपक्षमा रहेका राजनीतिक दलले नै तदारुकता नदेखाएपछि आशामा चिसो पानी खनिन पुगेको छ ।

गुगल सर्चमा जाँदा भेटिने नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र, नेपाल भनी चिह्नित गरिने संकेत र नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर भूमि देख्दा जोे कोही नेपालीले पनि आफूलाई धन्य ठानिरहेका छन् । अरूको एक इन्च पनि भूमि लिन वा मिच्न नचाहने स्वाभिमानी नेपाली आफ्नो एक इन्च पनि भूमि नमिचियोस् भन्नेमा दृढ छन् । नेपाली सचेतना अरू कुनै पनि देशको भन्दा फरक छ । शालीन, भद्र तथा शान्त स्वभावका नेपाली उत्तिकै बहादुर पनि छन् । एक योद्धा वा बहादुरमा जत्तिको सहन गर्न सक्ने शक्ति हुन्छ, त्यत्तिकै भिड्न सक्ने क्षमता पनि हुन्छ । तर, सीमा समस्या दुई देशका बीचमा देखापर्ने साझा समस्या भएकाले यसलाई कूटनीतिक माध्यमबाट हल गर्ने प्रक्रिया अपनाउन नेपाली तयार रहेको पनि व्यवहारतः अभिव्यक्त भएकै छ । त्यसमा पनि हाल भारतद्वारा अतिक्रमित भूमि नेपाली भूमि हो, जो सबै सबुत प्रमाणले नेपालको भनी पुष्टि गरिरहेको छ । स्थानीय जनता पनि आफूहरूलाई नेपाली नै भनिरहेका छन् ।

नेपालमा भइरहने राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तनका कारण भारतले एकपछि अर्को गरी गरिरहेका अतिक्रमणका कारण नेपाली सीमाको भूभाग मिचिन पुगेका छन् । लामो समयदेखि अतिक्रमित भूभाग फिर्ताका लागि संघर्ष पनि हुँदै आएका छन् । हाल बहुमतको सापेक्ष स्थिर सरकार बनेका बखत यो भूभाग फिर्ताका लागि भएको पहलले केही आशा अवश्य जगाएको छ । तर, यसका लागि कूटनीतिक तथा अन्य पहल यथासमयमै अघि बढाइनु जरुरी छ । नेपाली सार्वभौमिकता इंगित हुनेगरी मिचिएको भूभागसहितको देशको नक्सा सार्वभौम संसद्बाट पारित भएमा यो नै नेपाली जनमत अभिव्यक्त सबैभन्दा आधिकारिक प्रमाण हुने कुरामा दुई मत छैन । अहिले बजेट अधिवेशन पनि चलिरहेको छ । संसद् सुचारु रहेको यो अवस्थामा संविधान संशोधनमार्फत नेपालको नयाँ नक्सा, निशाना छाप तथा यिनको भाषिक व्याख्या वा परिभाषा उल्लेख र अनुमोदन हुनु जरुरी भएको छ । राष्ट्रियताजस्तो गम्भीर विषयमा कुनै खेलबाड नगरी उच्च प्राथमिताका साथ बिनाढिलाइ संंविधानमा उल्लेख गरिनुपर्ने कार्यलाई उच्च प्राथमिकतामा राखियोस् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार