पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । शुक्रबार बिहान ८ बजेसम्मको मतपरिणाममा कास्की १ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेश) ले २३०६ मत ल्याएका छन् । नेपाली काँग्रेसका तिलकबहादुर रानाभाट ९६७, नेकपा (एमाले) का वैनबहादुर क्षेत्री (अधिकारी) १४५५, नेकपाका राजकाजी गुरुङले १०८ मत ल्याएका छन् ।
कास्की १ मा कुल १ लाख १६ हजार ८७८ मतदाता हुन् । खसेकोमध्ये हालसम्म ५१५० मत गणना भएको हो । यहाँ स्वतन्त्रसहित कुल १७ उम्मेदवार हुन् । कास्की १ मा मादी गाउँपालिका (वडा १ देखि १२ पूरै) र रुपा गाउँपालिका (वडा १ देखि ७ पूरै) सहित पोखराका ११ वटा वडाहरु पर्दछन् । पोखराको वडा १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाहरु कास्की १ मा पर्छन् । रुपा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । कास्की १ मा २०७४ र ०७९ मा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए ।
यसैगरी, कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३ हजार ७० मत ल्याएर अग्रता लिइरहेका छन् । ६ हजार १३८ मत गणनामा उनी झण्डै २ हजार मतान्तरले अघि छन् ।
एमालेका रश्मि आचार्यको १ हजार ४१४, काँग्रेसका माधवप्रसाद बास्तोला (मधु) ९३२, नेकपाका हेमबहादुर थापा (किरण) २७६, राप्रपाका हेमजंग गुरुङ ११७ मत रहेको छ । कास्की २ मा स्वतन्त्रसहित कुल १७ उम्मेदवार हुन् ।
कास्की २ मा ८४ हजार १३४ मतदाता छन् । यो निर्वाचन क्षेत्र पोखराको मुख्य बजार क्षेत्र पर्छ । पोखराका वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ पर्छ । यो क्षेत्रमा एमालेले २०६४ सालदेखि लगातार जित्दै आएको क्षेत्र हो ।
कास्की ३ मा ३ हजार ८८२ मत गनिसक्दा रास्वपाकी विनाकुमारी गुरुङले २ हजार ७४ मत ल्याएर अग्रता लिएकी छन् । काँग्रेसका मनोज गुरुङ ८९५, नेकपा एमालेका दामोदर पौडेल बैरागी ५६७, नेकपाका गोपाल गिरीको ११८ मत रहेको छ ।
कास्की ३ मा कुल १५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ कुल १ लाख ७ हजार ५६० मतदाता छन् । यो अन्नपूर्ण गाउँपालिका (वडा १ देखि ११ पूरै), माछापुच्छे गाउँपालिका (वडा १ देखि ९ पूरै) र पोखराका ११ वटा वडाहरु पोखराका वडा १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ पर्दछन् । २०७४ र ०७९ मा कास्की ३ एमालेले जितेको क्षेत्र थियो ।






