सप्तरी राजविराज । कोरोना परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै विराटनगर र काठमाण्डौ स्थित प्रयोगशालाको भरमा बस्नु पर्ने यहाँका बासिन्दाको बाध्यता अब हट्ने भएको छ ।
प्रदेश २ सरकारले गजेन्द्र नारायण सिंह अस्पतालबाटै कोरोना परिक्षणका लागि आवश्यक उपकरण र रकम उपलब्ध गराइ दिएपछि कोरोना परिक्षणका लागि धेरै दिन देखि पर्खाइमा बसेका सप्तरीबासीको चिन्ता हट्ने भएको हो । एक साता अघि पिसिआर मेसिन उपलब्ध गराई सकेको प्रदेश सरकारले शनिबार प्रयोगशाला निर्माण र आवश्यक जनशक्तिका लागि ५० लाख समेत उपलब्ध गराएपछि अब जिल्लामै पिसिआर परिक्षण सेवा संचालनमा आउने भएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई शनिबार ५० लाखको चेक हस्तान्तरण गर्दै उपस्थित स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न हौसला पनि बढाए । प्रदेश सरकारले श्रोत साधनले भ्याएसम्म कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक उपकरण र यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि काम गरिरहेको छ उनले भने ‘तपाईहरु ढुक्क भएर काम गर्नुहोस् हामी साथमा छौं ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दासले प्रदेश सरकार प्रति धन्यवाद व्यक्त गर्दै आइतबार देखि नै पिसिआर परिक्षण प्रयोगशाला संचालनमा ल्याउने गरी तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले धरान, विराटनगर र काठमाण्डौ स्थित प्रयोगशालाले परिक्षणका लागि यहाँबाट पठाउन खोजिएको दुई सय जनाबाट संकलित स्वाब लिन आलटाल गर्दा स्वाव नमुना अझै जिल्लामै थन्काउनु पर्ने लाचारी सुनाउँदै अब प्रदेश प्रदेश सरकारको सहयोग पाएपछि अब यसै अस्पतालबाट कोरोनाको परिक्षण गर्न सहज भएको बताए । मन्त्री साहले शनिबारै यहाँ स्थित भिम दल गणलाई आईसोलेसन कक्ष निर्माण र व्यवस्थापनका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।