कलाकार संघमा उम्मेदवारी घोषणसँगै चर्कियो सदस्यता विवाद

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको २१औँ साधारण सभा तथा चुनावी अधिवेशन यही २८ चैतमा हुँदैछ । यति बेला कलाकारहरू उम्मेदवारी र प्यानलको घोषणामा व्यस्त छन् । चुनाव नजिकिँदै गर्दा कलाकार संघमा सदस्यता नवीकरणको विवादले अहिले चरम रूप लिएको छ ।

कलाकार संघको विधानमा साधारण सदस्य बन्नको लागि रिलिज भएको पाँच वटा नेपाली फिचर चलचित्रमा अभिनय गरेको हुनुपर्ने उल्लेख छ । सम्बन्धित पाँच वटा चलचित्रको निर्माताबाट चलचित्रमा अभिनय गरेको सिफारिस पत्र बुझाएको खण्डमा सदस्यता पाउने पनि विधानमा उल्लेख छ ।

तर वर्तमान कार्यसमितिका पदाधिकारीहरूले आफ्नो फोटो सहितको पाँच वटै चलचित्रको दृश्य युक्त युट्युब स्क्रिन सर्ट माग गरेपछि संघमा सदस्यता नवीकरणमा समस्या आएको हो । डेढ दुई दशक अघि संघबाट सदस्यता लिएका कलाकारहरूको पनि सदस्यता नवीकरणमा अहिले पाँच वटा चलचित्रको युट्युब स्क्रिन सर्ट अनिवार्य मागिएको छ ।

यति बेला संघमा ६०० भन्दा बढी साधारण सदस्यहरू छन् । ती मध्य अहिलेसम्म एक तिहाइ पनि नवीकरण भएको छैन । पुराना र नयाँ धेरै नेपाली चलचित्र युट्युबमा नराखिएकोले कलाकार संघको माग अनुसार आफूहरूले पाँच वटा चलचित्रको स्क्रिन सर्ट दिन नसकेको गुनासो धेरै छ । नेपाल चलचित्र कलाकार संघको विधान विपरीत चलचित्रमा आफ्नो तस्बिर सहितको स्क्रिन सर्ट बुझाएपछि मात्र नवीकरण गरिने अडान संघका अध्यक्ष मोहन निरौलादेखि पदाधिकारीहरूले लिएपछि यही समस्याले नवीकरण नभएका कलाकारहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्ने चेतावनी दिएका छन् ।

पाँच वटा चलचित्रको युट्युब स्क्रिन सर्ट अनिवार्य गर्नुको कारण’bout संघका अध्यक्ष मोहन निरौलाले राजधानीसँग भने,‘यो मेरो माग नभएर कार्यसमितिले गरेको निर्णयका कारण यो नियम लागु गरिएको हो । मुख्यतया संघका सचिव रामेश्वर बुर्लाकोटी सहित केही पदाधिकारीहरूले युट्युबबाट स्क्रिन सर्ट नै माग गर्ने निर्णय गराएपछि यो नियम लागु गरिएको हो ।’

संघको विधान विपरीत किन यस्तो नियम ल्याइएको भन्ने प्रश्नमा नेपाल चलचित्र कलाकार संघका सचिव रामेश्वर बुर्लाकोटीले राजधानीसँग भने,‘कलाकार संघमा गैह्र कलाकारहरूलाई शुद्धीकरण गर्न यो नियम ल्याइएको भए पनि नयाँ सदस्यता लिनेलाई यो नियम लागु गरिनुपर्छ भन्ने हाम्रो माग थियो । तर अध्यक्षज्यूले नै नवीकरणको लागि सबैसँग पाँच वटा चलचित्रको आफूले अभिनय गरेको स्क्रिन सर्ट अनिवार्य गर्नु भएको हो ।’

संघको सदस्यता नवीकरण १७ चैतबाट बन्द गरिए पनि दुई तिहाइ सदस्यहरूको नवीकरण बाँकी रहेको छ । त्यसैले यो समस्यालाई समाधान गर्न संघको पदाधिकारीको बैठक बस्ने पनि सचिव बुर्लाकोटीले राजधानीलाई बताए ।

केही वर्ष यताबाट नेपाल चलचित्र कलाकार संघमा सेलिब्रेटी कलाकारहरूको आकर्षण घट्दै गएको छ । संघको पदाधिकारीहरूमा सेलिब्रेटी अनुहारहरू बस्न छाडेको र संघका कार्यक्रममा सेलिब्रेटी कलाकारहरूको उपस्थिति हुन छाडेको अध्यक्ष मोहन निरौला आफैँले स्विकारेका छन् । राजेश हमाल, करिश्मा मानन्धर, दिपाश्री निरौला जस्ता थुप्रै लोकप्रिय कलाकारहरूलाई संघको नेतृत्वमा बस्न आह्वान गर्दा उनीहरू संघमा बस्न चाहेका छैनन् ।

काठमाडौँको नक्साल स्थित लिसारा पार्टी भेन्युमा यही २८ चैतमा हुने संघको निर्वाचनको लागि अहिलेसम्म दुई जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । जस मध्य अग्रज कलाकार उत्तम केसी नेपालले आफ्नो प्यानल नै घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार उत्तमको प्यानलबाट उपाध्यक्षमा संघका वर्तमान उपाध्यक्ष शिवहरि वैरागी र अभिनेता शीतल केसी रहेका छन् । यस्तै महासचिवमा सुनिल कटुवाल छन् । सुनिल हालका कोषाध्यक्ष हुन् । यही प्यानलबाट सचिवमा कलाकार गोपाल ढकाल ‘छन्दे’, कोषाध्यक्षमा तेजुला खतिवडा र सह कोषाध्यक्षमा गीता नेपालले उम्मेदवारी घोषणा गरेका छन् । संघको कार्यसमिति सदस्य ११ जनाको लागि १५ जनाले चाहना देखाएको उत्तम केसी नेपालले बताए । त्यसैले सदस्यको टुंगो केही दिनपछि मात्र लगाउने उनले बताए ।

अर्का अध्यक्षका उम्मेदवार अभिनेता सविन श्रेष्ठ रहेका छन् । उनी हालका महासचिव हुन् । सविनको प्यानलबाट उपाध्यक्षमा नायिका पनाह अधिकारी र कलाकार उद्धव प्रसाद भट्टराई, महासचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन् । सचिव र सह कोषाध्यक्षको ’bout भने एक दुई दिनमा निर्णय गरिने महासचिवका उम्मेदवार बुर्लाकोटीले राजधानीलाई बताए । यो प्यानलबाट सचिवमा पवन केसी र सह कोषाध्यक्षमा अभिनेता रोशन श्रेष्ठले चाहना देखाएको पनि उनले बताए । यो प्यानलबाट ११ सदस्यको लागि १४ जनाले चाहना देखाएको बुर्लाकोटीले जानकारी गराए ।

यसैबिच कलाकार उत्तम केसी नेपालले आफ्नो प्यानल नै घोषणा गरेर चुनावी अभियानलाई तीव्र अघि बढाइसकेका छन् । तर अभिनेता सविन श्रेष्ठले अझै प्यानललाई पूर्णता दिएर अघि बढ्न सकेका छैनन् । यो प्यानलको शुक्रबारसम्म घोषणा गरिने उनीहरुको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ