रास्वपा सांसद राणाले त्यागिन् आइसल्यान्डको वाणिज्यदूत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद विदुषी राणाले युरोपेली देश आइसल्यान्डले नियुक्त गरेको वाणिज्यदूत पद त्याग गरेकी छिन् । राजधानीले उनी सांसदको हैसियतमा वाणिज्यदूत पदमा बहाल रहेको विषयमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनलगत्तै सांसद राणाले आफूले सो पद त्याग गरेको र सोको जानकारी परराष्ट्र मन्त्रालयमा लिखितरूपमै गराएको बताएकी छिन् ।

राणाले गत ५ चैतमै पदत्याग गरेको दाबी गरे पनि आइसल्यान्ड सरकारको वेबसाइटमा अझै पनि उनी आइसल्यान्डका तर्फबाट नेपालको मानार्थ वाणिज्यदूत रहेको उल्लेख छ । राणाले भने परराष्ट्र मन्त्रालयको चिफ प्रोटोकललाई सम्बोधन गरेर राजीनामा बुझाएको बताएकी छिन् ।

‘म नेपालको संसद् सदस्यको जिम्मेवारी ग्रहण गर्दैछु । सार्वजनिक सेवामा यो नयाँ भूमिकालाई ध्यानमा राख्दै, औचित्य र संस्थागत स्पष्टताको सिद्धान्तलाई ध्यानमा राख्दै नेपालमा आइसल्यान्डको मानार्थ वाणिज्यदूतको रूपमा मेरो पद सम्मानपूर्वक त्याग्न चाहन्छु,’ परराष्ट्रमा बुझाएको पत्रमा उल्लेख छ ।

उनले मानार्थ वाणिज्यदूतको रूपमा नेपाल र आइसल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्न योगदान पुर्‍याउन पाएको भन्दै कार्य अवधिमा दिगोपन, नवीकरणीय ऊर्जा र पारस्परिक हितका क्षेत्रमा कार्य गर्न पाएकोमा आभार व्यक्त गरेकी छिन् ।

राजधानीले कूटनीतिक मामिलाका जानकारहरूलाई उद्धृत गर्दै रास्वपाबाट समानुपातिक सांसद राणाले सांसदका रूपमा शपथग्रहण गरिसकेका कारण वाणिज्यदूतका रूपमा काम गर्न नैतिक संकट रहेको लेखेको थियो ।

समाचारमा सम्बन्धित देशको सरकारले नियुक्त गर्ने र नेपाल सरकारले नियुक्ति अनुमोदन मात्रै गरिदिने भएकाले यस्ता विषयमा कस्तो निर्णय लिने भन्ने कानुनी अलमल रहेको परराष्ट्र मन्त्रालय तथा निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

वाणिज्यदूतमा नियुक्त राणालाई १९ पुस २०८० मा परराष्ट्र मन्त्रालयका तत्कालीन चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । त्यसलगत्तै राणाले २२ जेठ २०८१ मा होटेल याक एन्ड यतिमा औपचारिक कार्यक्रम गरेर काठमाडौं शंखपार्कमा वाणिज्य दूतावासको कार्यालय उद्घाटन गरेकी थिइन् ।

राणा गोल्डस्टार जुत्ताको निर्माता युनिभर्सल ग्रुप अफ कम्पनीअन्तर्गतको किरण सुज मेनुफेक्चर्स कम्पनीको प्रमुख सञ्चालक हुन् । आइसल्यान्ड सरकारको आधिकारिक वेबसाइट गभर्मेन्टडटआईएसको कन्सुलेट अफ आइसल्यान्ड खण्डमा विदुषी राणा अवैतनिक महावाणिज्यदूतको कूटनीतिक जिम्मेवारीमै रहेको उल्लेख छ ।

नेपालसँग सम्बन्धित देशको सम्बन्ध राम्रो बनाउने, व्यापार तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले विशेष उपाधिमूलक कूटनीतिक जिम्मेवारी प्राप्त गरेकी राणाले आफ्नो कूटनीतिक प्रतिवेदनसमेत समयमा नबुझाएको पाइएको छ ।

गोल्डस्टार जुत्ताको सञ्चालक व्यवसायी राणा महावाणिज्यदूत हुन सरकारसमक्ष पेस गरेको कार्ययोजना र प्रतिबद्धताअनुसार काम नगरे पनि मन्त्रालयले उनलाई प्रतिवेदन पेस गर्न वा कार्यसम्पादन मूल्यांकन गर्नसमेत भन्न नसकेको परराष्ट्र सम्बद्ध अधिकारीहरू स्विकार्छन् ।

राणालाई कूटनीतिक जिम्मेवारीको रूपमा आइसल्यान्ड सरकारले नियुक्ति दिएको भए पनि लाभको पद भने नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताएका छन् । कानुनले लाभको पदमा बहाल रहेको भन्नाले सरकारको ढुकुटीबाट पारिश्रमिक वा अन्य सुविधा लिने व्यक्तिलाई मान्ने र वाणिज्यदूत अवैतनिक भएकाले लाभको पद नहुने उनले बताए ।

नेपालमा झन्डै ६० बढी देशले वाणिज्यदूत नियुक्त गरेका छन् । उनीहरूका लागि अवैतनिक वाणिज्यदूतसम्बन्धी ऐन र नियमावली जारी गरिएको छ । २०३९ सालमा जारी गरिएको नियमावलीको अन्तिम संशोधन २०७५ सालमा भएको थियो ।

नेपालमा महावाणिज्यदूत नियुक्ति तथा सर्त सुविधासम्बन्धी ऐन २०३१ को दफा १० को उपदफा ४(३) मा व्यापार प्रवर्धनका लागि भएको प्रगति प्रतिवेदन महावाणिज्यदूतले सम्बन्धित देशका राजदूतसमक्ष र राजदूतले परराष्ट्र मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरेको भए पनि राणाले त्यस्तो प्रतिवेदन बुझाएको’bout परराष्ट्र मन्त्रालय अनभिज्ञ छ ।

‘कार्यालयको अभिलेखमा हेर्नुपर्ने हुन्छ, कानुनमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था भए पनि धेरै महावाणिज्यदूतहरूको नियमित प्रतिवेदन नआउने गरेकोले मन्त्रालयले अनुरोध गरिरहेको छ, उहाँको प्रतिवेदनको अवस्था के छ हेर्नुपर्ने हुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले भने ।

अवैतनिक महावाणिज्यदूतसम्बन्धी नियमावली २०३९ ले ४ वर्षे अवधि हुने उल्लेख गरेको छ भने राणा २०८१ मा नियुक्त भएकी हुन् । राणा नियमावलीको नियम १२ अनुसार आइसल्यान्ड सरकारको नियुक्तिलाई नेपाल सरकारले स्वीकृत गरेपछि वाणिज्यदूत भएकी हुन् ।

नेपालमा विभिन्न ६० देशका अवैतनिक महावाणिज्यदूत छन् भने नेपालले ३९ देशका ६० स्थानमा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ । अवैतनिक वाणिज्य दूतसम्बन्धी नियमावली, २०३९ अनुसार अवैतनिक वाणिज्यदूत नियुक्ति गर्ने गरिएको छ ।

नेपाल सरकारले नियमावलीबमोजिम योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सक्ने प्रावधान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अवैतनिक वाणिज्य दूतमा नियुक्ति हुने व्यक्तिको योग्यता ३५ वर्ष उमेर पूरा भएको, कुनै व्यापार, व्यवसाय वा पेसामा संलग्न रही स्वीकार गर्ने राज्यमा ख्यातिप्राप्त व्यक्तिको हैसियत भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

त्यस्तै नेपालप्रति सद्भाव भएको, मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरू’bout यथेष्ट जानकारी भएको योग्यता हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 693 times, 1 visits today)

epaper

ताजा समाचार

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते