म्युनिख । आरबी लाइपजिगले आफ्नो अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिँदा सोमबार राति जर्मन बुन्डेस लिगामा एफसी कोल्नमाथि सहज जित निकालेको छ । लाइपजिगले कोल्नमाथि ४–२ को सहज जित निकालेको हो ।
लाइपजिग फेब्रुअरीमा डीएफबी पोकलको प्रि–क्वार्टरफाइनलमा फ्रान्कफर्टसँग पराजित भएयता योसँगै पछिल्लो ११ खेलमा अपराजित रहेको छ । यसक्रममा लाइपजिगले ६ जित र ५ बराबरीको नतिजा निकालेको छ । जितसँगै तेस्रो स्थानमा उक्लन सफल लाइपजिगले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दूरी २ मा झारेको छ । लाइपजिगको २९ खेलबाट ५८ अंक पुगेको छ । डर्टमुन्डको ६० अंक छ ।
पराजित कोल्न ३४ अंकसहित ११औं स्थानमा छ । शीर्षस्थानको बायर्न म्युनिखको ६७ अंक जोडेर उपाधिनजिक पुगेको छ । कोल्नमा भएको खेलमा लाइपजिगको सहज जितमा प्याट्रिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे । घरेलु टोलीका जोन कोर्डोवा र एन्थोनी मोडेस्टेले गोल गरे । खेलको सातांै मिनेटमा कोर्डाेवाको गोलबाट पछि परेको लाइपजिगले २०औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
प्याट्रिकले एंगेलोको पासमा गोल गर्न सफल भएका थिए । ३८औं मिनेटमा क्रिस्टोफोरले गोल गरेपछि लाइपजिगले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । ५०औं मिनेटमा वेर्नरले गोल गर्दै लाइपजिगलाई ३–१ ले अघि बढाए । बुन्डेस लिगामा वेर्नरको यो २५औं गोल हो । बुन्डेस लिगामा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका उनी बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (२९) भन्दा पछि छ । ५५औं मिनेटमा एन्थोनीले गोल गरेपछि खेल ३–२ को प्रतिस्पर्धात्मक मोडमा पुगेको थियो । तर, त्यसको दुई मिनेटपछि नै ओल्मोले गोल गर्दै लाइपजिगलाई ४–२ को सहज जित दिलाए ।