सिन्धुपाल्चोक । राजधानीबासीको पानीको प्यास मेटाउने बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले प्रभावित क्षेत्रमा विकासका कामहरुका लागि करोडौं बजेट विनियोजन गरेको छ । पुर्व कानुन मन्त्री एवम् सिन्धुपाल्चोक प्रतिनिधिसभा–२ का सांसद शेरबहादुर तामाङको पहलमा मेलम्ची खानेपानी प्रभावित षेत्रमा सडक, पक्की पुलका लागि करोडौं रकम विनियोजन गरेको हो ।
मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलसम्म पुग्ने मेलम्ची–हेलम्बु सडक कालोपत्रेका लागि ५ करोड विनियोजन गरेको छ । मेलम्ची खानेपानी आयोजनाले पहिलो चराणको काम सकेपछि दोस्रो चरणमा याङग्री लार्केबाट पानी ल्याउँदै छ । उक्त क्षेत्रको सडकलगायत अन्य पुर्वाधार निर्माणका लागि पनि आयोजनाले बजेट विनियोजन गरेको सासंद एवम पुर्वमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
मेलम्ची–धाप–भोताङ सडक खण्डको स्तोरन्नतीका लागि आयोजनाले ३ करोड, फट्टे–दाउचेत–केउरेनी–बासखर्क–बरुवा–याङग्री सडकको स्तोरन्नतीका लागि २ करोड विनियोजन गरेको सांसद तामाङले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाले पक्की मोटरवेबल पुल निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ । चिण्डे–बाँसखर्क–गुन्सा–रैथाने मोटरपुलका लागि आयोजनाले १ करोड रुपैयाँ विनियोजन गरेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।
पहिलो चरणको खानेपानी आयोजना प्रभावित क्षेत्र र दोस्रो चरणको प्रभावित क्षेत्रमा आयोजनाले विकास निर्माण कार्य गर्नुपर्ने भन्दै पुर्व मन्त्री एवम सांसद तामाङले गएको मंसिर १९ गते आयोजनालाई लिखित पत्र नै दिएका थिए । सोही पत्र र यस क्षेत्रका जनप्रतिनिधिहरुको समेत आग्रहमा सडक, पुललगायतका क्षेत्रमा बजेट विनियोजन गरेको खानेपानी आयोजनाका सिनीयर डिभीजन इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए ।
आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले विकासका लागि बजेट माग गरेपछि आयोजनाको तर्फबाट डाक्टर शम्भु कट्टेलको रोहबरमा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पासहितका जनप्रतिनिधिहरु बिच प्रभावित क्षेत्रमा सडक, पुल लगायतका पुर्वाधारको क्षेत्रमा बजेट विनियोजन गर्ने सहमती भएको थियो । आयोजना र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु बिच भएको सहमती भन्दा थप केही योजनाहरुमा खानेपानीको तर्फबाट बजेट विनियोजन भएको सासंद तामाङका स्वकीय सचिव निर्मल बन्जराले जानकारी दिए ।
आयोजनाको पदाधिकारीसँग भएको छलफलमा पहिलो चौमासिक भित्र आवश्यक प्रक्रिया पुरा भएका योजनाहरुमा दोस्रो चौमासिकबाट विकासका कामहरु सुरु गरिने बन्जाराले जानकारी दिए । दशैंभित्र मेलम्चीको पानी राजधानी लैजाने गरी काम भइरहेपनि लक डाउनका कारण आयोजनाको मिति फेरी पर धकेलीन सक्ने आयोजनाले जानकारी दिएको छ ।