संकट निवारणको सूत्रः चलायमान सरकार, अनुशासित जनता

यतिखेर विश्व नै कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको छ । ढिलोचाँडो मानवजातिले यसमाथि विजय हासिल गर्ने निश्चित छ । यसकारण जो कोही आशावादी बन्नुपर्छ । मानवजातिको उद्भव नै आशावादी हो । यसको नियन्त्रणमा मानवजाति सफल हुन्छ । जुन मुलुकमा पारदर्शी, चलायमान र बलियो सरकार तथा अनुशासित जनता हुन्छन्, त्यहाँ सबै संकट निराकरण हुने निश्चित छ । उदाहरणका रूपमा चीन, जापान, अस्ट्रेलिया, जर्मन, दक्षिण कोरिया, सिंगापुरलगायतका मुलुकलाई लिन सकिन्छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि बलियो तथा पारदर्शी सरकार र जनताको सकारात्मक सोच नै महत्वपूर्ण विषय हुन् । नकारात्मक सोच, अराजकता, भ्रम फैलाउने प्रवृत्ति, खबदारीका नाममा ध्वंसात्मक चरित्र प्रदर्शन गर्दै जाँदा सफलता हासिल गर्न सकिँदैन । नागरिकस्तरमा अनुशासन र संयमता अत्यावश्यक छ ।

पूर्वतयारी तथा सशक्त अभियानमा सरकार चुकेको स्पष्ट हुन्छ । साढे दुई महिना लगातारको लकडाउनले जनजीवन अस्तव्यस्त बनिरहेको छ । अर्थतन्त्रमा ठूलो ह्रास आएको छ । मुलुकमा यस्तो अवस्था आउँदा सरकार नागरिकको घरदैलोमा पुग्नुपर्छ, पारदर्शी बन्नुपर्छ । जनताको सुखदुःखमा सँगै रहेमा मात्रै जनताले सरकारको काम प्रत्याभूत गर्नेछन् ।

व्यवसाय धरासायी बनिरहेको समयमा सरकारले उद्योगी व्यवसायीको समस्या पनि बुझ्न सकेको छैन । उद्योगी व्यवसायीले सरकारविरुद्ध आक्रोश पोखिरहेका छन् । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लामो समय लकडाउन हुँदा अर्थतन्त्रमै ब्रेक लागेको बताउँछन् । यसमा सरकार संवेदशील देखिएको छैन । सरकारले बजेटमार्फत पनि उद्योगीको समस्या समाधान गर्न नसकेको उनको गुनासो छ ।

नागरिकले ध्यान दिनुपर्ने विषय
– बिनाकाम घरबाहिर नजाऔं
– घरबाहिर जाँदा मास्क, चस्मा र पन्जा लगाऔं
– ६ फिटको भौतिक दूरी राखेर हिँडौं
– भीडभाड नगरौं र अरुलाई पनि गर्न नदिऔं
– प्रयोग गरिएका पञ्जा र मास्कलाई खाल्डोमा गाडौं
– कोरोना सँग लड्न रोगप्रतिरोधात्मक शक्ति बढाऔं
– प्रशस्त मात्रामा घाम ताप्ने र व्यायाम गरांै
– मानसिक तनाव र चिन्ता नलिऔं

उद्योग व्यवसायीको मर्मलाई सरकारले सम्बोधन नगर्दा मुलुकको अर्थतन्त्र नै धराशायी बन्ने उनको बुझाइ छ । संकट निवारणमा सफलता मिल्नेछ, त्यतिबेला विश्व राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा धेरै परिवर्तन आउनेछन् । बाँच्न कठिन संघर्ष गर्नुपर्ने र संघर्षमा सफलता हासिल गर्न सक्नेहरूको नै अस्तित्व रहिरहने डार्बिनको सिद्धान्तलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नेपालले पनि कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हरेक संकटसँगै समाधान पनि निस्कने भएकाले अहिलेको संकट निवारण हुनेमा आशावादी हुनुपर्छ ।

बायोलोजिकल भर्सेस लजिकल वार
अहिलेको संकटलाई प्रकृतिले मानवमाथि थालेको बायोलोजिकल वार (जैविक युद्ध)का रूपमा लिन सकिन्छ । अध्ययनमै व्यस्त रहेका समाजशास्त्री तथा वातावरणविद्का अनुसार यसलाई अप्रत्यक्ष रूपमा मानव सिर्जित समस्याको उग्र रुप मान्न सकिन्छ । मुलुकले यसविरुद्ध अपनाउने रणनीति, कार्यनीति, कार्यक्रम र समग्र साधन स्रोतको उचित परिचालनले अहिलेको संकटमाथि विजय प्राप्त गरिन्छ ।

विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप र औषधि पत्तालगाउन अध्ययन अनुसन्धान गरिरहेका छन् । औषधि पत्ता नलाग्दासम्म यो महामारी र संक्रमणबाट बच्ने एउटै उपाय भनेकै सतर्कता हो । अहिले विश्वका प्रायः देशले आफ्ना नागरिकलाई भावी संकटबाट बचाउन लकडाउन, संकटकाल तथा कफ्र्युलगायतको व्यवस्था गरिरहेका छन् । अर्थतन्त्रमा ठूला असर परेपछि बिस्तारै लकडाउनको विकल्पको खोजी सुरु भइरहेको छ ।

महिनौंसम्म लकडाउन गर्दा नागरिकहरू रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आएको छ । सरकारले यसको विकल्प सोच्न ढिलाइ गर्नुहुँदैन । कोरोनासँग लड्न यतिबेला समग्र विश्वले लजिकल वार (स्रोत साधन र मानवीय जनशक्तिको वैज्ञानिक व्यवस्थापन गरी उच्चतम परिचालन) गरिरहेका छन् ।

नेपालमा कोरोना संक्रमणमाथि विजय हासिल गर्ने प्रमुख औजार भनेकै नागरिकस्तरमा अनुशासन कायम गर्दै सरकारले आफूसँग रहेको साधनस्रोत र जनशक्तिको परिचालन गर्नु हो । तर, यहाँ दुवै पक्षमा हामी चुकिरहेका छौं ।

संकट व्यवस्थापनको खाका
असामान्य रूपमा यसरी सिर्जना भएको संकटलाई बुद्धिमतापूर्वक समाधान गर्न संकट व्यवस्थापन खाका आवश्यक छ । सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएर काम गरे पनि समस्या समाधानको खाका नै छैन । यस्तो अवस्थामा राज्यका सबै निकायलाई चलायमान बनाउनुपर्छ । तीनवटै सरकारबीचको समन्वयलाई सशक्त बनाइनुपर्छ । महामारी दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक कार्यनीति र कार्ययोजना बनाउनुपर्छ । सरकारले बनाएको कोरोना नियन्त्रण कोषको पारदर्शी परिचालन आवश्यक छ ।

अहिलेको परिस्थितिमा अग्रमोर्चामा रहने भनेको स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी नै हुन् । उनीहरूको मनोबल उच्च बनाउनु आवश्यक छ । ७ सय ५३ स्थानीय सरकार मातहत रहेको स्वास्थ्य कार्यालय कमजोर बनिरहेका छन् । ती कार्यालयलाई सशक्त बनाई आगामी दिनमा आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशमा हेलिकोप्टर तैनाथ गरिनुपर्छ ।

यसैगरी, सरकारले गरेको सबैभन्दा ठूलो गल्ती नै ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङमा हो । सुरुका दिनमा ट्र्याकिङ र ट्रेसिङ गर्ने काम नै भएन । टेस्टिङ पनि सीमित भएको छ । जसका कारण छोटो समयमै संक्रमण सामुदायस्तरमा फैलन पुग्यो । अहिले पनि भारतबाट दैनिक हजारांै नेपालीहरू स्वदेश फर्किरहेका छन् । ती सबैलाई क्वारेन्टिनमा राख्ने व्यवस्था हुन सक्दा समस्या झन् जटिल बढिरहेको छ ।

यस्तै, शक्तिशाली नेतृत्व रहेका मुलुकमा संक्रमण नियन्त्रणमा आइसकेको छ । चीन, जापान, दक्षिण कोरिया र सिंगापुर यसका उदाहरण हुन् । ती देशमा आमजनताको साथमा सरकारले संक्रमण नियन्त्रणमा ल्याउन सफल भएका हुन् । त्यसैले सरकारले पनि आमजनताको सहयोग र साथ लिन सक्नुपर्छ । जनताहरूले पनि नकारात्मक भावना त्यागेर महाविपत्तिविरुद्ध सरकारले चालेको कदममा पूर्ण रूपमा सहयोग गर्नुपर्छ । संघीय शासन व्यवस्थाको सफल कार्यान्वयन गर्ने हो भने पनि यस्ता विपत्तिसँग सहजै जित हासिल गर्न सकिन्छ । गाउँका सिहदरबारका रूपमा रहेका स्थानीय सरकारहरू यस्तो विपत्तिको अवस्थामा आफ्ना जनताको सुख दुखको वास्तविक सारथी बन्न सक्नुपर्छ ।

अहिलेको पुस्ताले पहिलोपटक यस प्रकारको संकट बेहोरिरहेको छ । त्यसैले आमनागरिकले संक्रमण नियन्त्रणका लागि अनुशासन र सकारात्मक सोच लिनु नै महत्वपूर्ण हो । जनस्वास्थ्य विज्ञहरूले पनि सरकारको एक्लो प्रयासबाट मात्रै यो संकट सामाधान हुन नसक्ने भएकाले नागरिकस्तरमा पनि उन्नत किसिमको संस्कार, असल बानी बेहोरा र अनुशासन अत्यावश्यक रहेको बताउने गरेका छन् ।

वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे नेपालमा निरन्तर रूपमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले हरेक नागरिकले ‘म कोरोनाबाट बच्नेछु, परिवार र समाजलाई बचाउनेछु’ भन्ने प्रण गर्नुपर्ने बताउँछन् ।

चिकित्सक तथा जनस्वाथ्यविद्ले नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमितहरू गम्भीर अवस्थामा पुग्न सक्ने बताइरहेका छन् । चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट)मा जोखिम अझै बढेर जान सक्ने बताएका छन् ।

‘नेपालका लागि आगामी जुन, जुलाई र अगस्ट अत्यधिक चुनौतीपुर्ण छ,’ उनले भने, ‘सरकारी निकायले रातदिन नभनी परिणाम निस्कने गरी काम गर्नुपर्छ ।’

संक्रमणसँग जुध्ने सरकारको तयारी निकै फितलो भएको बताउँदै आचार्यले अहिलेको अवस्थामा नै अघि बढ्दा आगामी तीन साताभित्र स्थिति नियन्त्रण बाहिर जाने चेतावनी दिए ।

‘फितलो सतर्कता, ट्र्याक, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर गएको छ,’ आचार्यले भने । उनले भावी संकटबाट बच्न कम्तीमा १० हजार डाक्टर, ५० हजार नर्स, ढेड लाखको संख्यामा युवा स्वयंसेवी तयारी अवस्थामा राख्नुपर्ने सुझाए । उनले सीमामा तत्काल अस्थायी अस्पताल बनाउनुपर्ने बताए ।

नेपालमा कम्तीमा १ सय वटा पीसीआर मेसिनबाट टेस्ट विस्तार गर्नुपर्छ । भारतीय सीमाका जिल्लामा कम्तीमा दैनिक ५० हजार पीसीआर टेस्ट र १ लाख आरडीटी टेस्ट गर्नुपर्छ । डा. आचार्यले अब ७७ वटै जिल्लालाई हाई रिस्क जोनमा राखी सबै किसिमका सुरक्षा विधि अपनाउन आवश्यक रहेको बताए । आचार्यले विगत तीन साताको समयमा भारतबाट १ लाख १९ हजार नेपाली स्वदेश फिर्ता भइसकेको र अबको एक महिनामा ढेडदेखि २ लाख नेपाल भित्रन सक्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म