Sunday, July 12, 2020
Home बिचार तालीको तरंग

तालीको तरंग

भनिन्छ, राजनीति भ्रम र अफवाह फैलाउने खेल पनि हो । आर्थिक वर्ष २०७७-७८ को बजेट भाषणमा प्रशासनिक खर्च घटाउने उपायहरू भनी विभिन्न विषय उल्लेख गरिए । उल्लेख गरिएका उपायमध्ये ओभरटाइम, बैठकभत्तालगायत केही कार्यालयमा काम गर्ने कर्मचारीले प्राप्त गर्ने गरेको भत्ताजस्ता सुविधा कटौती गरिएको प्रसंले सर्वाधिक चर्चा पायो । वास्तवमा यस्ता सुविधा कटौतीको माध्यमबाट थोरै रकम मात्र बचत हुनेछ । तर, अर्थमन्त्रीले यसबारे उल्लेख गर्दा माननीय सांसदहरूबाट प्रकट भएको उत्साह र हर्षले ठूलो अर्थ राख्दछ । यो उद्घोषण सुनेपछि थपथपाइएका मेचहरूबाट गुन्जायमान भएको संगीतमय झंकारले त्यहाँको वातावरण नै पुलकित र आनन्दित भएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

भत्ता कटौतीको घोषणाले आमकर्मचारीले पाउँदै आएको सुविधामा कुनै असर परेको छैन । यथार्थमा आमकर्मचारी विशेष प्रकारका कार्यालयमा प्रदान गर्ने गरिएको विशेष प्रकारको सुविधाबाट असन्तुष्ट नै थिए । ‘महŒवपूर्ण कार्यसम्पादन गर्नुपर्ने’ केही कार्यालयमा लागू भएको भत्ता ‘सामान्य कार्यसम्पादन गर्नुपर्ने’ तर ‘ठूला’ कार्यालयमा समेत संक्रमित हुँदै गएपछि स्वाभाविक रूपमा आलोचनाको विषय बनेको थियो । समानभित्र असमान व्यवहार भाएको महसुस गरिएको विशेष भत्ताको कटौती सर्वसाधारण कर्मचारीका लागि सकारात्मक घटना नै थियो । किन्तु, यो उद्घोषणप्रति प्रकाश भएको हर्ष बढाइँले साराका सारा कर्मचारीले विशेष सहुलियत प्राप्त गर्ने गरेको भान पर्न गयो । यस घटनाले राजनीतिक नेताहरूको कर्मचारीप्रतिको दृष्टिकोण र भावना कत्ति पनि नलुकाई जगजाहेर भयो ।

यस घटनाले नेपाल निजामती सेवा (यस सन्दर्भमा सबै प्रकारको निजामती चरित्रको सार्वजनिक सेवा) प्रस्ट रूपमा राजनीतिक वृत्तबाट साह्रै नरुचाइएको किन्तु नभई पनि नहुने संस्थाको रूपमा उजागर भएको छ । हाम्रो राजनीतिले ‘ब्युरोक्रेसी’लाई एउटा बिसाउन नमिल्ने गरुंगो भारीको रूपमा लिने गरेको कुरा त अलि अगाडि नै बुझिएको हो । यो घटनाले अझै एक पाइला अघि बढेर ‘राजनीतिक ईष्र्या’को केन्द्रका रूपमा समेत प्रकट गरेको छ । यसले अर्को गम्भीर कुरातर्फ पनि संकेत गरेको छ । त्यो हो, नेपाली राजनीतिलाई कर्मचारीतन्त्रप्रति कुनै भरोसा छैन ।

राजनीतिका असंख्य बोल्ने मुख र सुन्ने कान हुन्छन् । राजनीतिले आफ्ना समस्त प्रयास र चेष्टालाई पोख्ने सुविधा पाउँछ । देशको शासनव्यवस्था सदैव राजनीतिको माध्यमबाट सञ्चालन हुन्छ । देशको मूल कानुन, सोअन्तर्गत कानुन र मुलुकको लागि नीति निर्माण पनि राजनीतिले नै गर्दछ । तर, निजामती सेवाको बोल्ने मुख हुँदैन । निजामती सेवाको कुनै प्रवक्ता हुँदैन । मुलुकी प्रशासनको समग्र संरचनाको निर्माणको नक्सा पनि राजनीतिले नै कोर्दछ । प्रशासनले त राजनीतिले तयार गरेको ‘डिजाइन’ अनुरूपको कार्य गर्ने हो । प्रशासन राजनीतिले बस् भनेको घरमा बस्छ । राजनीतिले जुन अन्न जुन भाँडामा पका भन्छ, प्रशासनले त्यही अन्न त्यही भाँडामा पकाउँछ । ‘ब्युरोक्रेसी’ले राजनीतिले तोकिदिएको मानो खान्छ ।

निजामती प्रशासन लथालिंग हुनुमा प्रमुख भूमिका राजनीतिको छ । आज निजामती सेवा बांगोटिंगो र उबडखाबड बाटोमा यात्रा गर्न अभिशप्त छ । हाम्रो राजनीतिले आफैंले बांगो र नागबेली बाटो निर्माण गर्दछ र बटुवालाई सोझोसँग हिँडेन भनेर दोषारोपण गर्दछ । कर्मचारीतन्त्र एउटा बालकले बनाएको त्यस्तो पुतलीजस्तो भएको छ, जसलाई बनाउने बालकले आफैं तानतुन गरेर बनाउँछ र ‘कति नराम्रो’ भनेर च्यातचुत पारेर फाल्दछ । भत्काउनुलाई मात्र सफलता मान्ने एकथरी राजनीतिक नेताहरू कर्मचारीतन्त्रलाई पनि भत्काउने सुझाव दिन्छन् । बोझिलो कर्मचारी संयन्त्रलाई ठीक ‘साइज’मा ल्याउनका लागि भत्काउनु पर्दैन, छरितो र कर्मठ बनाए पुग्छ ।

बोझिलो कर्मचारी संयन्त्रलाई ठीक ‘साइज’मा ल्याउन भत्काउनु पर्दैन, छरितो र कर्मठ बनाए पुग्छ

कर्मचारीतन्त्रप्रति राजनीतिको नकारात्मक दृष्टिकोण पैदा हुनुमा स्वयं कर्मचारीको पनि हात छ । उच्चपदस्थ कर्मचारीको राजनीतिक आबद्धताले उनीहरूको योग्यता र क्षमता छायामा पर्न गयो । स्वतःस्फूर्त निर्णय गर्न नसक्नु, अकर्मण्यता, आशयअनुरूपको कार्यसम्पादन र परनिर्भर चरित्रले गर्दा राजनीतिक व्यक्तिमा ‘यिनीहरूभन्दा त म नै योग्य रहेछु’ भन्ने भावनाको विकास भयो । पूर्वसचिव शारदाप्रसाद त्रितालको शब्दमा ‘अधिकांश नेता तथा कार्यकर्ताको संगत त्यस्तो कर्मचारीसँग हुन्छ, जो कामचोर, भ्रष्ट र कम ज्ञान सीप भएको हुन्छ किनकि त्यस्तो कर्मचारी मात्र नेता तथा कार्यकर्ताकोमा धाएर उनीहरूलाई जसरी पनि आफूप्रति आकर्षित गराउन प्रयास गरिरहेको हुन्छ ।

प्रायः सबै भ्रष्ट कर्मचारीले नेता तथा कार्यकर्तालाई चुनाव खर्चलगायत अन्य दैनिक खर्चमा सहयोग गरेका हुन्छन् । ती राजनीतिकर्मीले सबै कर्मचारी यस्तै भ्रष्ट हुन्छन् भन्ने धारणा बनाएका हुन्छन् ।’ वास्तवमा राजनीतिक नेताहरूमा नेपालका साराका सारा कर्मचारी चाकरीवाज, राजनीतिक झुकाव राख्ने, कामचोर र चाटुकार हुन्छन् भन्ने छाप परेको छ । राजनीतिक नेताले केही कर्मचारीबाट आफ्नो स्वार्थसिद्ध गरे तापनि त्यस्ता कर्मचारी उनीहरूको नजरमा खराब नै हुँदा रहेछन् । यस बखतको राजनीतिको ‘मुड’लाई नियालेर हेर्दा शासकीय सुधार र उन्नयनप्रति कुनै सरोकार भएको देखिँदैन । बरु राजनीति स्वयंमा जागिरे मानसिकता कायम हुँदै गएको छ । संघदेखि स्थानीय तहसम्मको राजनीतिक नेतृत्वमा आफ्नो सुविधालाई कर्मचारीको सुविधासँग तुलना गर्ने प्रवृत्ति देखिएको छ । तलब, पेन्सनलगायतका सुविधाबाट आकर्षित भएरै एउटा योग्य र सक्षम युवा आफ्ना धेरै मौलिक अधिकारलाई स्थगित गरी निजामती सेवामा प्रवेश गर्दछ भन्ने कुरा कतिपय राजनीतिकर्मीलाई ज्ञान छैन । ज्ञान भएकालाई सरोकार छैन ।

नेपालको ‘ब्युरोक्रेसी’ नेपाली राजनीतिको ‘आफ्नै संरचना आफ्नै आलोचना’ सिद्ध भएको छ । आफंैले बनाएको कानुन, आफंैले खडा गरेको संस्थागत पद्धति र आफंैले निर्माण गरेको जगमा उभिएको संगठनप्रति आफंै झस्केको छ, हाम्रो राजनीति । आफंैले पुलपुल्याएका केही निजामती प्राणीसँग आफंै तर्सेको छ, राजनीति । आफंैले हात बाँधेर र मुख थुनेर हल न चल पारेको उच्चपदस्थ प्रशासकलाई ‘काम गर्न नसक्ने’ आरोप लगाउँछ, हाम्रो राजनीति । राजनीतिले ‘जागिरे’हरूको मुटु राम्रैसँग छामिसकेको छ । त्यसैले त आफैं सुविधा दिन्छ, आफैं फिर्ता लिन्छ र आफंै मेच थपथपाउँछ । आफैंले दिँदै आएको सुविधा फिर्ता लिँदा आफंै मन्त्रमुग्ध हुनुमा ठूलो मनोविज्ञान छ । कर्मचारीतन्त्रमा हुर्केका र राजनीतिको ‘दिमाग’समेत पढेका विद्वान् अर्थमन्त्रीले बजेट भाषणमा नराखिकनै निर्णय गर्न सकिने विषयलाई त्यसै सदनमा प्रस्तुत गरेका होइनन भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज भएको भए सदनबाहिर ठूलो करतलध्वनि गुन्जायमान हुने थियो

राजनीतिले जति नै नालायक र निकम्मा माने तापनि शासकीय प्रणालीको रथ तान्ने साधन निजामती सेवा नै हो । यसका हातखुट्टा टेढा होलान । रथ तान्ने लयात्मक कला कमजोर होला । तमाम बेथिति र विसंगति पनि होलान । तथापि सरकारको समृद्धि यात्रालाई साकार पार्ने मूल माध्यम यही नै हो । राजनीतिले बेलाबखत अघि सार्ने गरेका करार, विघटन (भत्काउने)लगायतका विकल्पले झन् काम गर्न सक्दैनन् । ‘भनेको मान्ने’ र व्यावसायिक संगठनले गर्न नसकेको काम आफ्ना परिचित, मित्र र प्रतिस्पर्धीले कति निष्ठाका साथ गर्लान् ? यसतर्फ राजनीतिको सरोकार छैन । हाम्रो राजनीति ‘सरदार’ हुनुभन्दा ‘खरदार’ हुनुमा रमाउँछ । धेरैजसो राजनीतिक नेताहरूलाई आफ्नो काँधमा आएको वृहत्तर जिम्मेवारीको बोध छैन । कतिपयमा ‘लोक सेवा पास’ हुन नसकेको लघुताभाष छ । कतिलाई कर्मचारीले प्राप्त गरेको स्थायी पद र सुविधाको ईष्र्या छ । अधिकांशलाई निजामती सेवा स्थायी सरकार हो भन्ने हेक्का छैन । हेक्का हुनेलाई वास्ता छैन ।

आजको निजामती सेवा राजनीतिको वक्रदृष्टिमा मात्र सीमित छैन । यसबारेमा बुद्धिजीवीले समेत उस्तो समीक्षा गर्ने गरेको पाइँदैन । फाट्टफुट्ट तदर्थ भाषण गर्नुबाहेक सम्बन्धित विभागका कुनै पनि पूर्वमन्त्रीले यसबारे लेख्ने गरेको पाइँदैन । यसको समस्याबारे उल्लेख गर्दै आक्रोश पोख्ने राजनीतिक नेताले सम्यक र संयत तरिकाले सुधारका लागि सुझाव दिएको थाहा छैन । कसैले सुझाव दिए तापनि ‘ठाउँ’मा बस्नेको आँखा र कान त्यतातर्फ आकर्षित हुँदैन । आफूले विश्वास नगरेको, निरन्तर खिसीको पात्र बानाएको र ‘बल्ल स्वाद पाइस्’ भनेर उपहासपूर्ण ताली पिटेको संस्थाको भरमा यात्रा गर्न बाध्य छ, हाम्रो राजनीति । खर्च कटौतीको कुरा कर्मचारीमा लागू हुने हो । राजनीतिले आवश्यक ठान्यो भने ‘अन्य’ व्यक्तिलाई काम दिनुमा र सोबापत खर्च हुनुमा कुनै आश्चर्य मान्नुपर्दैन ।

कर्मचारी एक प्रकारले राजनीतिका ‘कारिन्दा’ हुन् । प्रशासन राजनीतिको प्रतिद्वन्द्वी होइन । प्रशासन राजनीतिको परिपूरक र सहयोगी हो । तर, हाम्रो मुलुकको राजनीतिले यो गुह्य कुरालाई आत्मसात् गर्ने प्रयास नै गरेन । यो मामिलामा राजनीतिक सुझबुझको नितान्त अभाव दुःखलाग्दो छ । यति ठूलो सहयोगी समूहलाई उदार किन्तु प्रबल बागडोरको माध्यमबाट परिचालन गर्नेतर्फ समुचित ध्यान जान नसक्नु आश्चर्य र खेदको विषय हो । अहिले निजामती विधेयक संसद्मा विचाराधीन छ । त्यसमा केकस्ता प्रावधान राखिएमा कर्मचारीतन्त्रको रचनात्मक स्वरूप कायम गर्न सकिएला भन्नेतर्फ विचार गर्नुमै राजनीति, निजामती सेवा र राष्ट्रको कल्याण छ । कर्मचारी राजनीतिका पूरक शक्ति हुन् । यिनीहरूप्रति चिरप्रतिद्वन्द्वीलाई जस्तो व्यवहार गर्नुको केही प्रयोजन छैन । तालीकै कुरा गर्ने हो भने त ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ खारेज भएको भए सदन बाहिर झन् ठूलो करतलध्वनि गुन्जायमान र तरंगित हुने थियो ।

(Visited 190 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार जना बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

मनसुनपछिको विपद् :२९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

काठमाडौँ ।  मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

धेरै पढिएका

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार जना बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

मनसुनपछिको विपद् :२९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

काठमाडौँ ।  मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

ई-पेपर

(Visited 39 times, 1 visits today)