म्युनिख । आइनट्राख्ट फ्रान्कफर्टसँगको हारसँगै जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनलाई रेलिगेसन खतरा बढेको छ । ब्रेमेन घरेलु मैदानमा फ्रान्कफर्टसँग ३–० ले पराजित भएको थियो । घरेलु टोलीलाई पराजित गर्न फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, फ्रान्कफर्टले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । खेलको ६१औं मिनेटमा पोर्चुगिज आन्द्रे सिल्भाले फिलिप कोस्टिकको पासमा गोल गर्दै फ्रान्कफर्टलाई खेलमा १–० ले अघि बढाए । त्यसपछिको दुवै गोल स्टेफनको नामा रह्यो । स्टेफनले १० मिनेटको अन्तरमा दुई गोल गर्न सफल भए । ८१औं मिनेटमा बास डोस्टको पासमा पहिलो गोल गरेका स्टेफनले ९०औं मिनेटमा जोनाथन डि गुजमनको पासमा गोल गर्दै फ्रान्कफर्टलाई ३–० को सहज जित दिलाए ।
जितसँगै फ्रान्कफर्ट २९ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा उक्लदा पराजित वेर्डर ब्रेमेनले रेलिगेसन जोन छाड्ने मौका खेर फालेको छ । ब्रेमेन २५ अंकसहति १७औं स्थानमा यथावत् छ । १९ अंकसहित पाडेरवर्न पुछारमा छ । बायर्न म्युनिख ६७ अंक जोडेर शीर्षस्थानमा रहँदा बोरुसिया डर्टमुन्ड (६०) र आरबी लाइप्जिग (५८) ले बायर्नलाई पछ्याइरहेका छन् ।