धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट बाबुछोरी सहित छ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उनले बताए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्वर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।
उनले चिकित्सकको आवश्यक निर्देशन सहित उनीहरुलाइ डिस्चार्ज गरिएको बताउदै सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भईरहेको बताए ।