गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को दिने आफूलाई कुनै बेलाका कथित शासकवर्ग ठान्ने एउटा समूहले अर्को समूहलाई भ्याकुरो खेदाइ गरेर आधा दर्जन मान्छेको ज्यान लिएको छ ।
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हामीले जातीय विभेद अन्त्य गरेका रहेनछौं । रुकुम सोतीको घटनाले यस्तो बताउँछ– जातीय विभेद अन्त्यको नारा र व्यवहारिक पक्षलाई धमिराले भित्रभित्रै खाएर खोक्रो बनाइसकेको रहेछ ।
सोती घटना दलित जातिको मात्र नभएर ३ करोड नेपाली जनताको इज्जतमा धावा बोलेको घटना हो भन्ने बुभ्mनु कथित् उपल्लो जातीलाई म आग्रह गर्दछु । सोती घटनामा दलित भएकै कारण नवराजले ज्यान गुमाएको तथ्य घामझै छर्लङ छ । नवराजले एउटी ठकुरीकी छोरीसँग विवाह गर्न खोज्दा उलगायत अन्य पाँच जनाको सपना भेरी नदीमा बग्यो । विडम्बना ! निर्दोष नौंजवान युवाहरु साथीलाई सहयोग गर्न गएकै कारण ज्यान गुमाउनु परेको तथ्य जगजाहेर हुँदाहुँदै घटनालाई तोडमोड गरेको देख्दा नेपालका कथित बुद्धिजीवीहरुप्रति दया जागेर आउँछ ।
कथित दलित जातका नाममा नवराजको प्रेम भेरी नदीमा ३ करोड नेपालीले हेर्दाहेर्दै बगेर कहिले नफर्किने गरी सागरमा मिल्न पुग्यो । भनिन्छ, प्रेम अमर हुन्छ ।
घटनालाई दलित समुदायसँग जोडेर मुद्दा फितलो पार्ने प्रयास भइरहेको पनि सबै सामु छर्लङग छ । ती बुद्धिजीवीले यो घटना मानव जातिकै लागि कलंक हो भनेर बुझ्न जरुरी छ । यसलाई सिंगो नेपाली समाजले पाठको रुपमा लिनुपर्छ । ताकि, भविष्यमा नेपाली समाज नै कलिंकित पार्ने घटना दोहोरिनु हुँदैन ।
आज यो घटना एउटा दलितको छोराको कारण भएको छ भने भोलि जनजातिका छोराको नाम नहोला भन्ने सकिन्न । विधंश एउटा सलाइको काँटीबाट सुरु हुनसक्छ भन्ने चेतना समाजका प्रत्येक तह र तप्कालाई हुनुपर्छ ।
निष्पक्ष छानबिन भएर घटनामा संलग्न दोषीलाई सजाय दिनुपर्छ भन्ने कुरामा कसैको दुई मत नहोला, तर न्यायमा पनि प्रेममाजस्तै विभेद होला भन्ने आशंका गर्ने ठाउँ प्रशस्त छन् । कथित बुद्धिजीवीबाट सार्वजनिक अभिव्यक्तिले त्यो आशंका पैदा गरेको हो । कथंम यसले अर्को दुर्घटना निम्त्याउँछ भन्ने हेक्का शासकवर्गले राख्नैपर्छ ।
जातीय विभेद संविधान र कानुनमा लेखेर मात्र हुँदैन, सर्वमान्य सिद्धान्त हो । कानुनमा जसरी उल्लेख गर्न सजिलो छ, व्यवहारमा लागू गर्न त्यत्ति नै कठिन हुँदो रहेछ भन्ने कुरा सोती घटनाभन्दा अगाडि पनि धेरै प्रमाणहरु छन् ।
अहिलेको परिवेशमा दलित भनेको के हो भनेर सबैले बुभ्mनु पर्छ । दलित भनेको जात होइन एउटा अवस्था थियो भन्ने बुभ्mनु पर्छ । जो कोही पनि दलित हुन सक्थ्यो, अब ती दिन गए ।
यसैले पानी चल्ने वा नचल्ने दलित जाति भन्न छोडौं । दलित भनेर आज पनि भन्ने हो भने यस्तो घटना फेरि पनि दोहोरिरहन सक्छ । हामी यो आवाज किन पनि उठाइरहेका छौं भने हामीले त यो अवस्था भोग्यौ अब हाम्रा नयाँ पुस्तालाई त्यो आभाससमेत नहोस् । उनीहरुलाई संसारमा मान्छे भनेको दुई जातिका महिला र पुरुष मात्र हुन्छन् भन्ने ज्ञान दिनुपर्छ ।
छुवाछुत दलित र गैरदलित शब्दबाट मात्र हटाउन सम्भव छैन । यसका लागि चेतना र विवेक महत्वपूर्ण हुन्छ । सोती घटनाले हाम्रो समाजको चेतनास्तर बोलेका बेला कथित जाति विशेषको व्याख्या र विश्लेषण टपक्कै टिपेर किनारा लगाइ हाल्ने मिल्ने अवस्था बनिसकेको रहेनछ ।
कथित दलित जातका नाममा नवराजको प्रेम भेरी नदीमा ३ करोड नेपालीले हेर्दाहेर्दै बगेर कहिले नफर्किने गरी सागरमा मिल्न पुग्यो । भनिन्छ, प्रेम अमर हुन्छ । ३ करोड नेपालीको आँखा साक्षी बसेको नवराजको प्रेम त्यसबेला अमर हुन्छ, जतिबेला नवराज र उनका साथीका हत्यारालाई न्यायको कठघरामा उभ्याइदैन ।
दलितको नाम कथित उपल्लो जाती शिकार बनेका नवराज र उनका अन्य ५ जना साथीहरुलाई श्रद्धाञ्जली तथा उनका परिवारजनमा समवेदना !