म्युनिख । खेलमा पछि परेको स्थिति उल्ट्याउँदै बायर लिभरकुसनको चुनौती ४–२ ले पन्छाउँदै बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको उपाधिनजिक पुगेको छ । यस्तै, बायर्नले लिभरकुसनसँगको पछिल्लो दुई हारको शृंखला तोड्न सफल भएको छ । बायर्न पछिल्लो दुई खेलमा लिभरकुसनसँग पराजित भएको थियो ।
लिभरकुसनमाथिको सहज जितसँगै बायर्नले ३० खेलबाट ७० अंक जोड्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । बुन्डेस लिगामा अब चार चरणको खेल बाँकी छ । चारमध्ये दुई खेलमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ । हारपछि लिभरकुसन ५६ अंक जोडेर पाँचौं स्थानमा यथावत् छ । लिभरकुसनमा शनिबार राति भएको खेलमा बायर्नको सहज जितमा किंग्सले कोमन, लियोन गोरेट्जका, सर्जी जिनाब्री र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका लुकास एलारियो र फ्लोरियन विट्जले गोल गरे । पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको नवौं मिनेटमा नै लुकास एलारियोको गोलबाट पाहुना टोली बायर्न पछि परेको थियो । २७औं मिनेटमा बायर्नले बराबरी गोल फर्कायो ।
लियोन गोरेट्जकाको पासमा किंग्सले कोमनले गाल गरे । ४२औं मिनेटमा थोमस मुलरको पासमा लियोन गोरेट्काले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए । ४५औं मिनेटमा जोसुवा किम्मिचको पासमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । दोस्रो हाफमा पनि बायर्नले गोल गर्ने शृंखलालाई जारी राख्यो । ६६औं मिनेटमा थोमस मुलरको पासमा बुन्डेस लिगाको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४–१ को फराकिलो जिततर्फ अग्रसर गराए । लेवान्डोस्कीले बुन्डेस लिगामा आफ्नो गोल संख्या ३० पु¥याएको छ । खेल सकिन एक मिनेट बाँकी रहँदा घरेलु टोलीका फ्लोरियल विट्जले गोल गरे पनि खेलमा फर्कन निकै ढिला हुन पुग्दा बायर्नलाई ४–२ को नतिजा सुम्पियो ।
यता, हेर्था बर्लिनमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगाको उपाधिको झिनो आशालाई जीवितै राखेको छ । जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दूरी ७ मै राखेको छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी रहेको सबै चार खेलमा जित निकाल्नुको विकल्प नरहँदा बायर्नलाई केवल दुई जितको खाँचो छ । हारपछि हेर्था ३८ अंक जोडेर नवौं स्थानमा यथावत छ । बायर्नले अब बोरुसिया मोन्चेनग्लाडवाच, वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले डुसेलडर्फ, माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।
सिग्नल इडना पार्कमा शनिबार राति भएको खेलमा बायर्नको संघर्षपूर्ण जितमा इम्री क्यानले गरेको गोल नै निर्णायक बन्यो । क्यानले दोस्रो हाफमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।
घरेलु मैदानमा डर्टमुन्डले बर्लिनलाई सुरुवातदेखि नै दवावमा राखे पनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५७औं मिनेटमा इम्री क्यानले जुलियन ब्रान्डका पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा क्यानको एक गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो । यस्तै, अर्का खेलमा आरबी लाइप्जिग रेलिगेसेन जोनमा रहेको पाडेरवर्नसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली लाइप्जिग पाडेरवर्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो । माइन्जले फ्रान्कफर्टमाथि २–० को जित निकाल्दा र डुसेलडर्फ र होफेनहाइनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।