बेङ्लोर । दक्षिण भारतीय स्टार अभिनेता चिरञ्जीवी सरजाको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उनको आइतबार उपचारको क्रममा बेङ्लोरको सागर अस्पतालमा निधन भएको हो । उनको निधनप्रति बेङ्लोर राज्य सरकारले शोक व्यक्त गरेको छ ।
११ वर्षअघि फिल्म वायुपुत्रमा अभिनय गर्दै उनले कन्नड फिल्म सुरु गरेका थिए । पछिल्लो पुस्ताका कन्नड नायकमा चिरञ्जीवी पनि दर्शकले रुचाएका कलाकार थिए । यो अवधिमा दुई दर्जन फिल्म खेलेका चिरञ्जीवीले १५ भन्दा बढी हिट फिल्म दिएका छन् । जसमा उनका सिंगा, अम्मा आई लभ यु, चिरु, रामलिला, तान्डवजस्ता हिट फिल्म पनि छन् ।
अभिनेता चिरञ्जीवीको अकस्मात निधनप्रति कन्नड सिने उद्योगले शोक व्यक्त गरेको छ ।
बलिउडमा पछिल्लो सयम एकपछि अर्को सिनेकर्मीको निधन भएको बेला कन्नड फिल्म उद्योग पनि यतिबेला शोकमा रहेको उनीहरूले बताएका छन् । साउथ इन्डियन अभिनेता अर्जुन सरजाका नातेदार चिरञ्जीवीले दुई वर्षअघि मात्र विवाह गरेका थिए ।