कोरोना रोकथाम र उपचारमा ८ अर्ब ३९ करोड खर्च

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यका सहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो । उच्चस्तरीय कोरोना नियन्त्रण समिति सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । यसअघि १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।

यसैगरी प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।
यसैगरी प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । सरकारले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ ।

स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । यसअघि उच्चस्तरीय कोरोना नियन्त्रण समिति र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा १० अर्ब खर्च भएको सार्वजनिक गरेका थिए। दुवै निकायले सार्वजनिक गरेको तथ्यांक र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले शनिबार सार्वजनिक गरको तथ्यांक बीचमा फरक देखिएको छ।

सरकारले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकले झन्डै डेढ अर्बको हिसाबकिताब खै त भन्ने प्रश्न उब्जिएको छ। उच्चस्तरीय समिति, प्रधानमन्त्री र मन्त्रीहरुले संसदमा बोलेको हिसाब अनि अहिले सार्वजनिक भएको तथ्यांक बीचमा कसरी फरक पर्‍यो? त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन। यसअघि संसदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीले शनिबार सार्वजनिक गरेको सो विवरणमा उल्लेखित खर्चहरु कहिलेसम्म भएको हो भनेर स्पष्ट व्याख्या गरिएको छैन । विवरणमा ‘तीनवटै तहबाट हालसम्म भएको खर्च’ भनिएको छ । तर, त्यसको मिति र समय तोकिएको छैन । सामान्यतया खर्चको विवरण सार्वजनिक गर्दा महिना र दिनसमेत तोकिनुपर्छ । तर यो विवरणले खर्च विवरणको सामान्य औपचारिकतालाई पनि पालना गरेको छैन । सरकारले कोरोना नियन्त्रणका हरेक काममा सेना अघि सार्दा पनि सरकार विवादित बनेको छ। सेनाले जिटूजी मार्फत चीनबाट खरिद गरेको मेडिकल सामाग्रीमा एक अर्बभन्दा धेरै अनियमिता गरेको विषयले समेत सरकारलाई अप्ठयारो पारेको छ।

यस्तो छ खर्च विवरण

प्रदेश १- १९ करोड ३५ लाख ६० हजार

प्रदेश २- १३ करोड ३९ लाख ४६ हजार

वागमती प्रदेश- १३ करोड ६७ लाख

गण्डकी प्रदेश- १५ करोड ४२ लाख १० हजार

प्रदेश ५- ७ करोड ७९ लाख ३० हजार

कर्णाली प्रदेश- २३ करोड ९२ लाख ८३ हजार

सुदूर पश्चिम प्रदेश- ३६ करोड ४८ लाख ७० हजार

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेनु दाहाललाई ११ हजार बढीको अग्रता