प्राणीमा प्राणनिहित हुन्छ । प्राण नभएका वस्तु हुन् । प्राणी हैनन् । निष्प्राण हुन् । समस्त प्राणीमा प्राणनिहित भएबाट समान हुन् । प्राणनिहित हुनुका आधारमा भुसुनादेखि भीमकाय स्वरूप भएका सम्पूर्ण प्राणी समान हुन् । पृथ्वीमा अनेकानेक प्राणी छन् । तिनीहरूमध्ये मानव एक सचेत र सर्वश्रेष्ठ प्राणी हो । हरेक आत्मामा परात्माको गुण र स्वभाव रहेको हुन्छ । हरेक जीवमा आत्मानिहित भएबाट सबै जीव समान हुन् । मानव र पशु पनि समान जीवात्मा हुन् । किंतु मानवले आफूलाई सर्वश्रेष्ठ प्राणी वा सर्वश्रेष्ठ जीवात्मा भएको घोषणा गरेको छ । उसले आफू सर्वश्रेष्ठ भएको प्रमाणित गर्ने आधारहरू स्वेच्छाले स्वयंले खडा गरेको हो ।
वैदिक इतिहासले मानव मात्रलाई सदासर्वदा सर्वश्रेष्ठ भएको देखाउँदैन । अपितु, यसले विभिन्न कालखण्डमा मानवइतरका प्राणीहरू जलचर, कछुवा प्रजाति, सरिसृप र यक्षहरूलाई सर्वश्रेष्ठ भएको व्याख्या गरेको छ । कैयन विषय अझै पनि रहस्यकै गर्भमा छन् । मानव मथिंगलले ती विषयको भेउ पाउन सकेको छैन । संसारमा घट्ने कतिपय आश्चर्यजनक, अकल्पनीय तथा अपत्यारिला घटनाले यसलाई पुष्टि गर्दछ । ती विषयमा पार पाउन नसकेकाले मानव सर्वश्रेष्ठता नै अन्तिम हो भन्न सकिँदैन ।
प्राणीशास्त्रले पनि जीव निहित भएका प्राणीलाई सजीव र जीव निहित नभएका प्राणीलाई निर्जीव भनी दुई भागमा विभक्त गर्दछ । मानवमा जीव निहित छ । पशुमा पनि जीव निहित छ । प्राणीशास्त्रले पशु र मानव दुवैमा जीव निहित भएकाले सजीवको कोटीमा राखेको हो । दुवैलाई एउटै समूह ‘प्राणीजगत्’अन्तर्गत राखेर शोध र अध्ययन गर्दछ । जीवमा चेतना निहित हुन्छ । निर्जीवमा चेतना हुँदैन । मानव र पशुलाई एउटै बृहत् समूह ‘प्राणीजगत’अन्तर्गत राखिएकाले विज्ञान र पारलौकिक विज्ञानले प्राणीप्रति हेर्ने दृष्टिकोण समान बनाएको छ ।
चेत प्राणमा निहित हुन्छ । निष्प्राणमा चेत निहित हुँदैन । यसर्थ, चेत प्राण निःसृत हो । प्राणीको प्राणपखेरुको हरण गर्नु प्राणको चीरहरण हो । प्राणी हत्या गर्नुले प्राणी निष्प्राण भई चेतहीन हुन जान्छन् । प्राणीको एकपटक उडेको प्राणपखेरु कहिल्यै फर्कदैन । जसको परिपूरण असम्भावी हुन्छ । त्यसैले, प्राणी हत्या वा प्राण हरण जघन्य अपराध हो भने गर्न नहुने अमानवीय क्रिया हो । प्राणीको प्राणमा ठेस पु-याउने हरेक क्रिया अमानवीय र जघन्य हुन् ।
संवेगहरू चेत निःसृत हुन् । निष्प्राणमा संवेग रहँदैनन् । निष्प्राण संवेदनशील हुँदैनन् । हरेक प्राणीमा संवेदना निहित हुन्छ । त्यसैले, प्राणी संवेदनशील हुन्छन् । प्राणीमा हर्ष विस्मात, सुख, दुःख, क्रोध, क्रन्दन, पीडा बोध गर्ने संवेग अन्तःप्रेरणा र प्राकृतिक तथा स्वाभाविक रूपमा मूल प्रवृत्ति स्वरूप समान रहन्छन् । चाहे त्यो मानव होस् वा गधा, हात्ती, कुकुर, छेपारो, चखेवा, डल्फिन, कमिला आदि । अझ भन्ने नै हो भने कतिपय प्राणी त केही खास विषय सम्बन्धमा मानव प्राणीभन्दा भौतिक रूपमा संवेदनशील हुन्छन् ।
मानवजगत् रक्षार्थ मानवअधिकारसँगै पशुअधिकारलाई पनि सम्मान र पालना गरिनुपर्छ
विवेक संवेगजनित हो । मानव र पशु दुवैमा संवेग रहेबाट दुवैमा विवेक रहन्छ । यद्यपि, मानवलाई मात्र विवेकशील प्राणी हो भनिन्छ । मानव र पशुमा केही न्यूनतम साझा तर समान विवेक निहित रहन्छन् । मूल प्रवित्तमूलक विवेकले प्राणीलाई आफ्नो रक्षा गर्ने र सम्भावित दुर्घटनाबाट बच्नका लागि आवश्यक कार्य गर्न उत्तेजना प्रदान गर्दछन् । प्राणीहरूबीच विवेकशीलताको स्तर एकआपसमा दाँज्न सकिन्छ । विवेकशीलताको स्तर कम वा बढी हुन सक्छ । तर, मानव मात्र विवेकशील प्राणी हो भन्नु सरासर गलत हो ।
गर्भाधारणसँगै प्राणीहरूमा संवेगात्मक तथा शारीरिक विकास हुन्छ । संवेगात्मक तथा शारीरिक विकासले प्राणवत् बनाउँछ । प्राणीको जीवनको सिर्जना हुन्छ । प्राणीमा निहित प्राण निःसृत चेतले अनुभव गर्दछ । बोध गर्दछ । त्यसैले, मानव मात्र चेतनशील प्राणी हो भन्नु गलत छ । समस्त प्राणी चेतनशील प्राणी हुन् । मानव र पशुबीच केवल चेतजनित संवेग व्यक्त गर्ने शैली तथा माध्यम मात्र भिन्न छन् ।
जति पीडा मानवले आफ्ना प्राकृतिक क्रियाकलाप गर्न बन्देज हुँदा महसुस गर्दछ । त्यत्तिकै पीडा पशु उनीहरूको प्राकृतिक क्रियाकलाप गर्नबाट नियन्त्रित गर्दा पीडाबोध गर्दछन् । जत्तिको माया, ममता मानवले आफ्ना सन्ततिमा राख्दछ, त्यत्तिकै स्नेह हरेक पशुपन्छीले आफ्ना जायजन्ममा राख्दछ । जत्तिकै घाउचोट लाग्दा हामी पीडाबोध गर्छौं, त्यत्तिकै पीडा हरेक पशुपन्छी चोट लाग्दा महसुस गर्दछन् । जत्तिको चित्त अमानवीय व्यवहार हुँदा हाम्रो दुख्छ, उत्तिकै चित्त अमानवीय व्यवहार हुँदा पशुको पनि दुख्छ ।
प्राणले न्यूनतम साझा मूल प्रवृत्ति तथा संवेग उत्पादन गर्दछ । तसर्थ, समस्त प्राणीमा हर्ष, विस्मात, सुखदुःख र पीडा आदि मूल प्रवृत्ति तथा संवेग समान रूपमा निहित छन् । यिनै न्यूनतम साझा संवेग र मूल प्रवृत्तिहरूका आधारमा समस्त प्राणी समान हुन् । प्राणीका उल्लिखित संवेगमा आघात पुग्ने क्रिया गर्नु अमानवीय हुन्छ । कुनै एक प्राणीमा आघात पुग्ने क्रिया भएमा समस्त प्राणीहरूले पीडाबोध गर्दछन् किनकि हरेक प्राणीमा निहित प्राण एउटै हो । कुनै पनि एक प्राणमा आघात भएमा प्राणीले प्राणीजगत् क्रुर, निशृंस र बर्बर भएको महसुस गर्दछन् । यसर्थ, समस्त प्राणीको प्राण मर्म, न्यूनतम साझा मूल प्रवृत्ति, प्राणीगत चेत र संवेदनामाथि आँच नपुगोस् भन्ने आधारमा पशुअधिकार र मानवअधिकारका न्यूनतम तथा साझा आधार खडा गरिएका हुन् ।
प्राणीका चेतले प्राणीमा जठारग्नी पैदा गर्ने, हर्ष, विस्मात, सुखदुःख, पीडा, माया, स्नेहजस्ता संवेगको निर्माण गर्दछन् । यी संवेग सबै प्राणीमा समान किसिमले निहित हुन्छन् । यस आधारमा मानव र पशु समान हुन् । यद्यपि, मानवले समस्त प्राणीमा चेतना स्तर समान रहेको मान्दैन । मानवले आफूइतरका प्राणीको क्षमता, गुण र स्वभावलाई पूर्ण रूपमा नकारिदिएको छ । उनका गुण तथा स्वभावलाई गणना गरेको छैन । मान्यता दिएको छैन । आफ्नो चेतना स्तर उच्च रहेको दावा गर्दछ ।
प्राणीका हिँडडुल गर्ने, खाना खाने, जिउज्यानको रक्षा गर्ने, प्रजननमा सहभागी हुने आदि क्रिया संवेदनाजनित प्राकृतिक तथा स्वाभाविक मूल प्रवृत्तिहरू हुन् । मूल प्रवृत्ति समस्त प्राणीमा जन्मसिद्ध हुन् । तिनीहरूबिना प्राणीको प्राण रक्षा र सुरक्षा हुन सक्दैन । ती क्रियाकलाप जीवनचर्याका लागि अपरिहार्य हुन्छन् । कुनै एक स्वाभाविक प्राकृतिक क्रियाकलापमा कुण्ठा आउँदा पनि समग्र जीवन कुण्ठित हुन पुग्छ । जीवनमा नै नकारात्मक असर पुग्न जान्छ ।
पशु तथा मानवका प्राकृतिक तथा स्वाभाविक क्रियाका लागि अत्यावश्यक वस्तु तथा परिवेश परिपूर्ति नभएमा प्राणीका स्वाभाविक तथा प्राकृतिक क्रिया कुण्ठित हुन्छन् । प्राणीहरूबीच द्वन्द्व हुन्छ । जैविक विविधता नष्ट हुन्छ । प्राकृतिक प्रकोप र संकट आइलाग्छन् । मानव मर्म र धर्म मर्दछ । पृथ्वीमा प्राकृतिक र मानवीय प्रणाली असन्तुलित हुन्छन् । प्राण संकटमा पर्न जान्छ । प्राणीको संवेग र चेतनामा आघात पुग्छ । प्राणमर्ममा आघात पु¥याउनु अमानवीय, बर्बर र निकृष्ट कर्म हो ।
पशुअधिकारको परिपालनाले मानवअधिकार र मानवजगत् समृद्ध बन्दछ । विश्वले हाल खेपिरहेको जलवायु परिवर्तनजनित विभिन्न प्रकोप, डढेलो, खेडेरी, अतिवृष्टि, भोकमरी, बाढीपैरोलगायत जाति हत्या, नरसंहार, व्यापार युद्ध, महामारी आदि मानवइतरका समस्त प्राणीको प्राण र संवेगको संरक्षण र सुरक्षामा गरिएको लापर्बाहीले गर्दा उत्पन्न भएका हुन् ।
मानवत्व र पशुत्वबीच धेरै हदसम्म फरक छैन । मानव र पशुका न्यूनतम मूल प्रवृत्ति र संवेगमा केही भिन्नता छैन । मानव र पशुमा एकै प्राणको बास छ । दुवै एउटै किसिमका जीव हुन् । दुवैमा एउटै जीवात्मा रहेको हुन्छ । मानव र पशुमा निहित प्राणले एकै किसिमका संवेग र मूल प्रवृत्ति पैदा गर्दछन् । ती मूल प्रवृत्ति समान हुन्छन् । दुवै मिलेर समस्त प्राणीजगत्को निर्माण भएको हो ।
संवेगात्मक तथा शारीरिक विकाससँगै अभिव्यक्त क्रियाकलापले हरेक प्राणीलाई अस्तित्ववान् बनाउँछ
मानव चेत र प्राणी चेतजनित संवेग र चेतनाको स्तरमा भने फरक हुन सक्छ । यद्यपि, तिनीहरूमा न्यूनतम साझा चेत र संवेग निहित हुन्छन् । पशु तथा मानवका स्वाभाविक तथा प्राकृतिक क्रियाकलापको रक्षा र सुरक्षा गर्न नसकिएमा प्राणीजगत् असभ्य, बर्बर, पाशविक, नृशंस र निकृष्ट बन्दछ । शान्तिको कुनै गुञ्जायस नै रहँदैन । ती न्यूनतम आधार (पशु तथा मानवका स्वाभाविक र प्राकृतिक क्रियाकलाप)का आधारमा बनेका प्रावधान र व्यवस्था नै पशुअधिकार र मानवअधिकार हुन् । त्यसैले त मानवअधिकार जन्मसिद्ध, सार्वभौम, अभिभाज्य, अहरणीय, आधारभूत, अन्तर्सम्बन्धित हुन्छन् र हुनुपर्छ भनिएको हो । मानव समान प्राण र संवेग भएबाट पशुका प्राकृतिक तथा स्वाभाविक क्रियाको बचाउ गर्नका लागि पशुअधिकारको पनि व्यवस्था भएको हो । मानवअधिकार तथा पशुअधिकार अन्तर्सम्बन्धित र अन्योन्याश्रित हुनुपर्छ ।
मानवले आफूमा निहित जीवात्माको उद्धार र प्रवद्र्धनका लागि आवश्यक कर्म अनवरत चलाउनुपर्छ । जिवात्माको प्रवद्र्धनमा लागिनपर्ने मानवात्मामा पशुमा निहित आत्मा सरहका गुणदोष मात्र रहन्छन् । मानव आत्मा र पशु आत्मामा केही फरक रहँदैन । त्यसैले त कतिपय मानव हिंस्रक, नृशंस र दानवीय प्रवृत्तिका हुन्छन् ।
विकासको सुरुको चरणमा मानव पशुसँगै जंगलमा बस्दथ्यो । समयक्रमसँग मानव झुपडीमा बस्न सुरु ग¥यो । तब बिरालो, कुकुर, घोडा, भेडा, कुखुरालगायत पशु मानवलाई पछ्याउँदै मानवसँगै बस्न थाले । तिनीहरू घरपालुवा जनावर भए । तिनीहरूमध्ये कतिपय पशुले मानवलाई सुरक्षाको प्रत्याभूति दियो । कतिपय मानवको अनन्य तथा असल मित्रका रूपमा दरिए । मानवले पशुलाई जीवनका विभिन्न पक्ष सहज बनाउन प्रयोग गर्दै आयो । अतः मानव र पशुबीचको सामीप्य बनिरह्यो । तर, आजकल प्रकृति तथा पशुको अधिक शोषण भएकाले मानव र पशुबीचको द्वन्द्व बढेको छ । मानव बर्बरताले पशुलगायतका प्राणीको जीवन संकटमा परेको छ । प्राणीजगत् क्रुर, नृशंस, हिंस्रक, पाशविक, त्राहिमाम् र असभ्य बन्दै गएको छ ।
मानव र पशुबीच गहिरो सामीप्य र अन्तर्सम्बन्ध छ । पशपन्छीको सानीध्य नपाई मानव मात्रको समाजमा हुर्केबढेका मानवमा मानवता समृद्ध हुन सक्दैन । उसले मानवात्माको उद्धार र समृद्धिमा टेवा पु¥याउन सक्तैन । समस्त संसारलाई बोध गर्न सक्तैन । ऊ एकलकाँटे हुन्छ । सचेत, जागरुक र उत्तरदायी नागरिक बन्न सक्तैन । सामाजिक प्राणी बन्न सक्तैन । हिंस्रक बन्न सक्छ । असंख्य सदस्य रहेको प्राणीजगत्को एक मात्र सदस्य मानवसम्बन्धी ज्ञानार्जनले बाँकी प्राणी जगत्प्रति अनभिज्ञ रहन्छ । मानव अधुरो र अपूरो रहन्छ । प्राणीजगत् संकटमा पर्छ । यसर्थ, मानवजगत् रक्षार्थ मानव अधिकारसँगसँगै पशुअधिकार क्षेत्र विस्तार गरी अक्षरशः पालना हुनु अपरिहार्य छ ।