यस कारण बदलिएन समाज

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा समाज गतिशील छ । समयको वेगसँगै समाज पनि बदलिँदै जान्छ । समाज बदलिनु भनेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक एवं भौतिक रूपले विकास हुनु हो । उल्लिखित क्षेत्रको विकासले समाजको सोचाइ, चिन्तन एवं व्यवहारमा परिवर्तन ल्याउँछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक प्रणाली र पद्धति बदलियो । तर, अरू क्षेत्रमा परिवर्तन हुन सकेन । त्यसैले, समाज बदलिन सकेन ।

मुलुकी ऐन २०२० मा नै राजा महेन्द्रले कानुनी रूपमा सामाजिक विभेदको अन्त्य गरेका थिए । अहिले नेपाली समाज २१औं शताब्दीको ८० को दशकमा अगाडि बढिरहेको छ । हालसम्म विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन पछाडि बन्ने संविधान, नीति, कानुन एवं आचार संहितामा पनि राज्यले जातीय, लिंगीय, वर्गीयलगायतका विभेदको अन्त्य भएको दस्तावेजीकरण गरेको छ । तथापि समाज बदलिएन । सामाजिक मनोविज्ञान बदलिन सकेन ।

आजको दशकमा आइपुग्दा सामाजिक परिवर्तनका कतिपय पक्षमा अग्रज पुस्ताभन्दा नयाँ पुस्ता उदार देखिन्छ । नयाँ पिँढीले सामाजिक विभेदविरुद्धमा व्यवहारमा नै एक कदम अगाडि बढ्न बल गरिरहेको देखिन्छ । तथापि, सदियांैदेखि चलिआएका चलनलाई छाड्न अग्रज पुस्ता मानसिक रूपमा तयार छैन । पछिल्लो दृष्टान्तका रूपमा पश्चिम रुकुममा विश्वकर्मा परिवारको २१ वर्षीय युवक र मल्ल ठकुरी परिवारकी १७ वर्षीया कन्याको बीचमा भएको माया प्रेमलाई केटी पक्ष मल्ल परिवारलगायत गाउँलेले अस्वीकार गरेपछि उनीहरूको प्रेम कहानी हत्या प्रकरणमा परिणत भयो । यस घटनाले हाम्रो समाज अझै पनि व्यावहारिक रूपमा जातीय विभेदलाई अन्त्य गर्न तयार भइसकेको अवस्था छैन भन्ने पुष्टि हुन्छ ।

समाज परिवर्तनका लागि नियम कानुन बनाएर वा राजनीतिक नारा लगाएर मात्र हुँदैन । मानवअधिकारको बाँसुरी बजाएर मात्र पनि हुँदैन । परिवर्तनका लागि समाजको चेतनालाई बदल्नुपर्दछ । सामाजिक चेतनाको स्रोत शिक्षा हो । मुलुकमा अझै पनि एक तिहाइ जनसंख्या निरक्षर छ । देशमा सदियौंदेखि जरा गाड्दै आएका जातीय, वर्गीय, सांस्कृतिक, धार्मिक, सांस्कारिकलगायतका मूल्य र मान्यताबाट अभ्यस्त समाजलाई बदलेर आधुनिक समाज निर्माण गर्ने आधार शिक्षा हो । तर, राज्यले राजनीतिक सिद्धान्तलाई परिवर्तनको संवाहक सम्झेको छ । यो नितान्त यान्त्रिक सोचाइ हो ।

समाज बदल्नका लागि राज्यले स्वरोजगारमूलक शिक्षाको अवसर सबैमा पु-याओस्

समाजिक रूपान्तरण आजको आवश्यकता हो । सामाजिक रूपान्तरणका लागि हरेक व्यक्तिको सोचान्तरणमा परिवर्तन हुन आवश्यक हुन्छ । नागरिकको आचरण, चेतना र मानसिक परिवर्तनले मात्र परिवर्तन सम्भव हुन्छ । यसका लागि समाज नागरिक शिक्षाले प्रशिक्षित हुन आवश्यक ठानिन्छ । नागरिक शिक्षा व्यक्ति, समाज र सिंगो राष्ट्र रूपान्तरणको आधार हो । नागरिक शिक्षाले असल, सभ्य, शिष्ट, लोककल्याणकारी समाज निर्माणमा सहयोग गर्दछ । यसले समाजमा रहेका विभेदको न्यूनीकरण गर्दै विभिन्न वर्ग, समूह, समुदाय तथा सम्प्रदायका हक, हित र अधिकारलाई वास्तविक जीवनमा प्रत्याभूति गर्न र गराउनका लागि भूमिका खेल्दछ । हाम्रो देशको शिक्षा प्रणालीमा नागरिक शिक्षाको विषयवस्तुलाई पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गरिएको छैन । न त समाजमा नागरिक शिक्षाका अनौपचारिक तालिममार्फत समाजलाई प्रशिक्षित गराइएको छ । त्यसैले, समाज बदलिएन ।

समाजका सबै पुराना कुराहरू नराम्रा छैनन् र सबै नयाँ कुरा पनि राम्रा छैनन् । समाजमा रहेका राम्रा वा नराम्रा कुरालाई छुट्याउन, आलोचना, समालोचना वा समीक्षा गर्न शैक्षिक चेतना चाहिन्छ । सामाजिक विभेद, अन्धविश्वास, परम्परागत प्रचलनको अध्ययन, अनुसन्धान, विश्लेषण, संश्लेषण, संशोधन, परिमार्जन एवं परिवर्तन गर्न शैक्षिक आलोक आवश्यक हुन्छ । हाम्रो देशको सन्दर्भमा सबैलाई शिक्षा दिई समाज परिवर्तनको आधार तयार गर्नुपर्नेमा समाज रूपान्तरणको आधार राजनीतिक सिद्धान्तलाई मानियो । समाजमा केही राजनीतिक दलले जातीय, वर्गीय, क्षेत्रीयजस्ता विषयलाई अनावश्यक उराल्ने र उकास्ने काम गरे । गरिबी, अभाव र अशिक्षाका रूपमा थलिएको समाजलाई अधिकारोन्मुख राजनीतिक एजेन्डामा गिजोल्ने एवं बिथोल्ने काम गरे । त्यसैले समाजमा विसंगति बढ्दै गए । द्वन्द्वहरू बढ्दै गए ।

समाजमा विभिन्न किसिमका विभेद व्याप्त छन् । जात, जाति, धर्म, संस्कृति, धनी, गरिब, सहरवासी, दूरदराजवासीलगायतका विभेदले कुनै न कुनै रूपमा समाजलाई गाँजेको छ । अहिले समाजमा कर्तव्यको कुराभन्दा बढी अधिकारका विषय उठ्ने गरेका छन् । समाज आत्मकेन्द्रित चिन्तन र भौतिक सुविधामुखी बन्दै गएको अवस्था छ । नेपालको संविधान २०७२ ले समाजमा पछाडि परेका जात, जाति, पिछडा वर्ग, सीमान्तकृत, दलित, महिला, मुस्लिमलगायतलाई राज्यको मूलधारमा ल्याउनका लागि उनीहरूका अधिकारलाई सुनिश्चित गर्नुको साथै आरक्षणको प्रबन्ध गरेको छ । यसरी हेर्दा राज्यले राजनीतिक रूपबाट समतामूलक समाज निर्माणका लागि पहल गरिरहेको अवस्था छ । सरकारको यो पहल सकरात्मक हुँदाहुँदै पनि समाज बदल्न शिक्षा, आर्थिक अवसर र सामाजिक चेतनाको आवश्यकता पर्दछ ।

सदियौंदेखि चलिआएका चलन छाड्न अग्रज पुस्ता मानसिक रूपमा तयार छैन

कुनै पनि व्यक्ति त्यो बेला मात्र सक्षम र सबल हुन्छ, जब ऊ शिक्षित एवं आर्थिक रूपले सबल हुन्छ । यसर्थ, सामाजिक विभेदको न्यूनीकरण गर्न राज्यले समाजलाई शैक्षिक एवं आर्थिक रूपले सबल बनाउनुपर्दछ । राज्यले समाजका दलित, विपन्नवर्ग, सीमान्तकृत, पिछडा वर्गलगायतको समूहलाई रोजगारमूलक शिक्षाको व्यवस्था गरेको खै ? राजनीतिक चर्का भाषण गरी आफ्नो दल र व्यक्तिगत स्वार्थका लागि जनतालाई उपयोग गर्ने तर सत्तामा पुगेपछि लक्षित वर्गको आयआर्जन मानिसको सिन्को नभाँच्ने राजनीतिक दुष्कर्मका कारण समाज बद्लिएन ।

अहिले नेपाली समाज सामाजिक रूपान्तरणको सँघारमा छ । सामाजिक रूपान्तरणका लागि व्यक्ति, समाज र समाजसँग सम्बन्धित निकाय र संयन्त्रहरूको सोचाइ र चिन्तनमा परिवर्तन हुन आवश्यक हुन्छ । शिक्षा व्यक्ति, समुदाय, समाज र संघसस्थाको सोचान्तरणको संवाहक तथा सामाजिक सबन्धको साँघु हो । यसले मानिसलाई समाजमा सँगै बस्न, सँगै काम गर्न, एकले अर्काको सम्मान गर्न, हरेक जातजाति, भाषा, भाषी समुदायबीचमा सबैका सामाजिक मूल्य, मान्यता, संस्कृति र चालचलनलाई स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहारको विकास प्रशिक्षित गर्दछ । आपm्नो अधिकार र कर्तव्यको कुरा गर्दा अरूको अधिकारको हनन् हुनुहुँदैन भन्ने अक्कलको हेक्का राख्ने चेतनाको विकास गर्न सहयोग गर्दछ ।

हाम्रो समाजमा जातीय विभेद मात्र छैन । अन्य सामाजिक विभेद विभिन्न रूपमा यत्रतत्र सर्वत्र छन् । कोही देवकीका रूपमा सामाजिक विभेद सहन बाध्य छन् । कोही झुमा भएका छन् । कोही समाजबाट छाउपडीमा निकालिन बाध्य छन् । कतिलाई घुम्टोभित्र लुक्न बाध्य पारिएको छ । कतिलाई बोक्सीको आरोपमा मलमूत्र खान बाध्य बनाइएका छन् भने कोही दाइजो नल्याएर जिउँदो शरीरमा आगोको राप र ताप सहन बाध्य पारिएको छ । यति हो, कतिपय अन्धविश्वाससँग सम्बन्धित छन् भने कतिपय पारिवारिक एवं सामाजिक बहिष्कारका रूपहरू छन् । विभेदका रूपहरू फरक छन् ।

यो मुलुकमा नागरिक चेतना, आर्थिक विकास र सामाजिक रूपान्तरणको रामवाण राजनीतिलाई मान्नु नै अवैज्ञानिक छ । देशमा अर्थशास्त्री, वैज्ञानिक, विज्ञ, विशेषज्ञ, डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, उद्योगी, दक्ष किसान, व्यापारी, लेखक, कलाकारलगायतका शिक्षित जनशक्ति उत्पादनको आधार राजनीतिले होइन, शिक्षा हो । विद्वान् चाल्र्स रंगेलले शिक्षाले मानिसलाई अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउँछ भनेका छन् । यसको अर्थ शिक्षा चेतना र आर्थिक आयआर्जनको बलियो आधार हो भन्ने हो । यसरी हेर्दा समाजमा रहेको अभाव, गरिबी र पछौटेपनलाई अन्त्य गरी विभेदरहित समाज निर्माणका लागि समाजका हरेक जात, जाति, वर्ग र क्षेत्रका नागरिकलाई सीपमा आधारित उत्पादनशील शिक्षाको प्रबन्ध गर्नुपर्दछ । राजनीतिक दलगत प्रशिक्षण होइन ।

अन्त्यमा, कार्ल माक्र्सले समाजमा आर्थिक विभेद हुनु भनेको सामाजिक द्वन्द्वको सिर्जना हुनु हो भनेका छन् । कार्ल माक्र्सका अनुसार द्वन्द्वरहित समाज निर्माणका लागि समाजका हरेक मानिसलाई आयआर्जनको अवसर प्रदान गर्नुपर्दछ भन्ने हो । तसर्थ, राज्यले समाज बदल्नका लागि स्वदेशमा नै आर्थिक उपार्जनका सम्भावनाको खोजी र कार्य गर्ने क्षमता तथा आत्मविश्वाससहितको शिक्षाको अवसर सबैमा पु¥याओस् । यसो हुन सकेमा सामाजिक चेतनामा वृद्धि हुन्छ । आर्थिक रूपले समाज बलियो हुँदै जान्छ । अनि मात्र समाज बदलिन्छ । सामाजिक विभेदको अन्त्य हुँदै जान्छ । सबैलाई चेतना भया ।

तपाइको प्रतिक्रिया
(Visited 1,135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ