पाल्पा । पाल्पामा ५ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमणको संख्या ५६ पुगेको छ । विहिबार रिब्दीकोट गाउँपालिकाका चार जना र तिनाउ गाउँपालिकाका एक जनामा कोराना पुष्टी भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणम २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।
रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए । सारदा मावि शान्तिचौर क्वारेन्टाइनका एक, नवज्योती प्रावि इजरडाँडा क्वारेन्टाइनका २ जना र कालिका निमावि बतासे क्वारेन्टाइनका एक जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनीहरुलाई लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टर ल्याइने छ ।
तिनाउ गाउँपालिका चौबिसमाइलको कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनका १५ दिनअघि भारतबाट आएर एक पुरुष संक्रमित भएका हुन् । उनलाई तानसेन नर्सिङ्ग स्कूलको आइसोलेशन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । बुधबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि रम्भा गाउँपालिकामा १६, बगनासकाली गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा १४, रैनादेवी छहरा गाउँपालिकामा २, निस्दी गाउँपालिकामा ३, रामपुर नगरपालिकामा २ र पुर्वखोला गाउँपालिका २ जनामा कोरोना संक्रमण एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दश स्थानीय तह मध्ये तानसेन नगरपालिकामा हालसम्म कोरोना संक्रमण देखिएको छैन ।