बैतडी । बैतडीका एकजना क्वारेन्टाइनमै किरियामा बसेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीका लिलाधर भट्ट आफ्ना बुवाको किरिया क्वारेन्टाइनमै बसेका हुन् । भारतको दिल्लीमा काम गर्दै आएका भट्ट ५ दिनदेखि भूमिराज मा.वि. चडेपानीको क्वारेन्टाइनमा किरिया बसीरहेका छन् ।
लिधारधरका बुवा चिन्तामणी भट्टको ७ दिनअघि निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया शुरु गरेको हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी लिलाधर दोगडाकेदार पुगेका हुन् । बुवाको मृत्यु भएपश्चात पछि क्वारेन्टाइनमा किरिया गर्न बाध्य भएको उनले बताए । घरमै बसेर किरिया गर्न व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भएपनि घर पठाउन नमानेको स्थानीय केशब भट्टले जानकारी दिए ।
भारतबाट फर्केका सबै व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशन अनुसार नै उनलाई क्वारेन्टाइनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लिलाधरको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आएमा उनलाई घर पठाइने स्वास्थ्य साखा प्रमुख नाथले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका ७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुवाको किरिया क्वारेन्टाइनमै बसेका थिए ।