स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासनले प्रभावकारी रूपमा काम गर्न नसक्दा सिंगो सरकारको साख गिर्ने काम भइरहेको छ । सरकारको नीति योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी प्रशासनको हो । जबसम्म कर्मचारी प्रशासनले विशेष उत्तरदायित्व र जिम्मेवारी बोधका साथ काम गर्दैनन्, तबसम्म सिंगो सरकारको पर्फमेन्स राम्रो देखिँदैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिरहेका छन् । उनले वर्षौंदेखि मूच्र्छित नेपालीहरूको सपनालाई जगाउने कामसमेत गरिरहेका छन् । तर, प्रधानमन्त्रीले देखेका सपना र उनले अघि सारेका भिजनहरूलाई कर्मचारीतन्त्रले संवेदनशीलताका साथ ग्रहण गर्न सकेका छैनन् । राजनीतिक नेतृत्वले सपना देखाउने र हो त्यो सपना पूरा गर्ने भनेको प्रशासनिक नेतृत्वले हो । तर, विडम्बना हामीकहाँ प्रधानमन्त्रीले अथाह सपना देख्छन् तर प्रशासनिक नेतृत्व भने सपना देख्ने त परै जाओस् भएका नीति योजना र कार्यक्रमहरूको समेत कुशलतापूर्वक कार्यान्वयन गर्न चुक्दै आइरहेका छन् ।
अहिले कोरोना भाइरस कोभिड–१९ का कारण मुलुकको आर्थिक अवस्था चौपट्ट छ । नागरिकमा भय र त्रास व्याप्त छ । राज्यका अंगहरू यस्तो समयमा नागरिकको कुशल अभिभावक बन्न सक्नुपर्छ तर राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले जनताको चहराइरहेको घाउमा मलम लगाउन सकेका छैनन् ।
लामो लकडाउनको समयमा हराएको कर्मचारी संयन्त्रले अहिले लकडाउन केही खुकुलो भए पनि चलायमान किसिमले काम गर्न सकेको छैन । कोरोना रोकथाम र नियन्त्रणका लागि चालिएका सरकारी कदमहरू पनि सशक्त र प्रभावकारी देखिन सकेको छैन । अझै पनि हाम्रो कर्मचारीतन्त्र हिजोकै मानसिकताबाट ग्रसित छ । हिजो राजाका पालमा ‘राजाको काम कहिले जाला घाम’ भन्ने प्रवृत्तिबाट गुज्रिएको कर्मचारीतन्त्र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको समयमा पनि उस्तै प्रवृत्तिबाट गु्ज्रनु दुःखद हो । अहिले त रातदिन काम गरेर परिणाम निकाल्ने समय हो । तर कर्मचारीतन्त्र कुम्भकर्ण निद्रामा नै रहेको जस्तो अनुभूति आमजनताले गर्न थालेका छन् । विशेषगरी अत्यधिक सुविधा लिँदै आएका उच्च प्रशासकहरू निष्कृयजस्तै बनिदिँदा आमकर्मचारी ऊर्जाविहीन बन्न पुगेका छन् । यो महामारी र संकटको समयमा कर्मचारीले आफ्नो दक्षता योग्यता र पहिचान देखाउन सक्नुपथ्र्यो तर त्यस्तो हुन सकेको छैन । कर्मचारीले परिणाम दिनेगरी काम नगर्दा त्यसको सिंगो दोष सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मात्रै थोपरिएको छ । जुन गलत छ । जबसम्म कर्मचारीतन्त्रले प्रभावकारी काम गर्दैन र सरकारलाई साथ दिँदैन तबसम्म प्रधानमन्त्रीले जति चाहना गरे पनि मुलुकले विकास र समृद्धि हासिल गर्न सक्दैन ।
यद्यपि, राजनीतिक नेतृत्वले पनि कर्मचारीतन्त्रलाई काममा लगाउने र काम नगर्नेलाई कडा कारबाही गर्ने पद्धतिको विकास गराउन सकेका छैनन् । कतिपय मन्त्रालयमा रहेका मन्त्रीहरू आफंै हराउन पुगेका छन् । आफंै हराउने र रातदिन काममा खट्न नसक्ने मन्त्रीहरूका कारण पनि मन्त्रालयको प्रशासनिक नेतृत्वले राम्ररी काम नगरेको सहजै अनुमान गर्न सकिन्छ । हामीकहाँ दण्डहीनताको संस्कृति मौलाइरहेको हुनाले पनि सरकारी काम प्रभावकारी हुन नसकेको हो । काम गरे पनि हुने र नगरे पनि हुने प्रवृत्ति छ । काम नगर्नेलाई कारबाही गर्ने र काम गर्नेलाई पुरस्कृत गर्ने व्यवस्थित प्रणालीको विकास गर्न सक्यौं भने पक्कै पनि कर्मचारीतन्त्रबाट परिणाम आउनेगरी काम हुनेछ । यस विषयमा राजनीतिक नेतृत्वले सही समयमा सही कदम लिन सक्नुपर्छ । त्यसका लागि राजनीतिक नेतृत्व सबैभन्दा पहिला आफंै सच्चिएर अहोरात्र काममा खट्ने बानीको विकास गर्नुपर्छ ।