कोरोना खोपको विकास र आशा

घरबाहिर निस्कदा लाग्छ, अहिले देशमा कोरोनाको महामारी छ र ! जताततै भिडभाड छ । चोकचोकमा बन्द भएका ट्राफिक लाइट खोलिएका छन् । सवारी जाम छ, सडकपेटीमा पैदलयात्रु ठोक्किनेगरी हिँडिरहेका छन् । अधिकांशले न त मास्क लगाएका छन् न भौतिक दूरी कायम । कोरोनाविरुद्ध खोप र औषधिको विकास भएको पनि छैन र प्रयोगमा पनि आएको छैन । । देशमा कोरोना संक्रमण दैनिक बढ्दो गतिमा छ । निको हुने दर घट्दै छ । तथापि असार १ गतेदेखि लकडाउन खुकुलिएको छ । स्वास्थ्य सुरक्षा आफ्नै लागि हो । वास्ता नगरी गैरजिम्मेवार भई नागरिक हिँड्दा ठूलो समूहलाई संक्रमणको जोखिम बढेको छ ।

नयाँ खोपको विकास : नयाँ खोपको विकास हुनलाई मूलतः दुई चरणको आवश्यकता हुन्छ । पहिलो, प्रि–क्लिनिकल अर्थात् कुन, कति, मात्रा आदिमा जनावरमा परीक्षण गरिने चरण र त्यसमा सफलता पाएपछि दोस्रो, हेल्सिन्की घोषणापत्रको आचारसंहिता, वैज्ञानिक मापदण्ड पूरा गरी मानिसमा क्लिनिकल चरण भएर खोपका रूपमा प्रयोगमा आउँछ । दोस्रो अर्थात् मानिसमा परीक्षण गर्दा प्रथम चरणमा पूर्वसूचनासहित स्वस्थ जवान व्यक्तिमा विभिन्न स्वास्थ्य सूचक संकलन गरिन्छ । सुरक्षित देखिए दोस्रो चरणमा सयौं स्वयंसेवक र केन्द्रमा परीक्षण गरिन्छ । जसमा सुरक्षित मात्रा, समयको अन्तर, कतिपटक, कुन उमेर, माध्यम, प्रतिरोधी क्षमताको विकास र प्रतिकूल असर प्रमाण जुटाइने भएकाले बढी समय लाग्छ । तेस्रो चरणमा अझ धेरै हजारांैको संख्यामा, धेरै स्थानमा र देशमा परीक्षण तथा खोप लगाएका र नलगाएकामा तुलना गरी खोपले कति सुरक्षा दिन सक्छ, कति सुरक्षित छ, खराब असर के र कति छन् हेरिन्छ । चौथो चरणमा व्यापारिक उत्पादनका लागि अनुमति लिई उत्पादित खोप सार्वजनिक रूपमा प्रयोगमा आइसकेपछि निरन्तर गुणस्तर’bout निगरानी गरिन्छ ।

नेपालको औषधि खोप झुट : हेटांैडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशालामा विश्व स्वास्थ्य संगठन जेनेभाले भिडियो कन्फरेन्समार्फत चासो लिएको छ । संस्थानका प्राडा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा जेठ २२ गते नेपालसहित ७३ राष्ट्रका विज्ञसँग जानकारी लिएको हो । नेपालले स्वीकृत गरेपछि विश्व स्वास्थ्य संगठनले स्वीकृत गर्ने बताइएको छ । उक्त खोपको परियोजना स्वीकृत भएमा ५ लाख अमेरिकी डलर ट्रायल फन्ड प्राप्त हुनेछ । प्राडा दासले २ महिनादेखि कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप निर्माण गरेको जिकिर थियो । तर, एक साता नबित्दै उक्त समाचार झुट भइसकेको छ ।

सामूहिक प्रतिरक्षा : जति मानिस इम्युन हुन्छन्, त्यति नै संक्रमण फैलिने दायरा साँघुरिदै जान्छ । जसबाट संक्रमणमा नपरेका र त्यस बिमारीका लागि इम्युन नभएका मानिस पनि सुरक्षित हुन पुग्छन् । अधिकांश मानिस भाइरसबाट इम्युन भएपछि उनीहरूको झुन्ड÷हर्डबीच रहेका अन्यमा संक्रमण पुग्न पाउँदैन र त्यसको फैलावट रोकिन्छ । जनसख्यालाई कोरोनाविरुद्ध लड्न सक्षम बनाउनु हर्ड इम्युनिटीको विकास गर्नु हो तर त्यसका लागि ७० देखि ९० प्रतिशत जनसंख्यामा कोरोनासँग लड्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ ।

दु्रत गतिमा लैजानुपरेकाले मुसा र बाँदरपछि कोरोना खोप मान्छेमा एकैपटक ट्रायलमा लाने तयारी छ

पहिलो उपाय ठेउलामा लागू भयो, जानीजानी ठेउला लगाई प्रतिरोधी क्षमता बनाउन सके तर कोरोनामा यसको अन्य फ्लुभन्दा १० गुणा बढी जटिलता, जोखिम समूह, मृत्युदरले गर्दा यसो गर्न सम्भव छैन । त्यसैमा नेपालको कमजोर स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले धान्न सक्दैन । दोस्रो उपाय खोप हो, जसको उत्पादन, परीक्षणमा विश्वभरका वैज्ञानिक जुटिरहेका छन् । तथापि केही महिनाभित्रै बजारमा आउन सक्ने देखिँदैन । आइहालेमा पनि धनीले पाउने, असमान पहुचले नेपालले छिटै पाउनेमा विश्वस्त बन्न सकिँदैन ।

जाग्दैछ खोपको आशा : विश्व स्वास्थ्य संगठनले विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको र १० वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको जनाएको छ । ती १० खोपले पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेकाले निष्कर्षमा पुग्ने उच्च सम्भावना र मानव समुदायलाई आशा जगाएको छ ।

चीनको एडेर्ना भाइरस टाइप ५ भेक्टर र अमेरिकाको एमआरएनए भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ । अन्य तीनवटा चीनले इनएक्टिभेटेडतर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा नन रिप्लेसिङ भाइरल भेक्टरका रूपमा एक खोप तयार भइरहेको छ । नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आरएनए र डीएनए आधार भएको भ्याक्सिन पनि बनिरहेका छन् । यी सबैले दोस्रो चरण पार गरेका छन् । अन्य १ सय १४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा छन् ।

छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको एमआरएनए १२७३ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ । मोर्डना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । खोपको पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीले दाबी गरेको छ । तेस्रो चरणको परीक्षणमा जाने अनुमति पनि विश्व स्वास्थ्य संगठनले दिएको छ । मोर्डनाले जुलाई २०२० देखि तेस्रो चरणको परीक्षण सुरु गर्दै छ । चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरिसकेको छ र १ सय ८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गर्दा सुरक्षाजनक, तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको रहेका बेलायतको एक जर्नलले जनाएको छ । अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि संगठनबाट अनुमति प्राप्त छन् । अमेरिकी औषधि कम्पनी फाइजर इंक, बायोटेक एसई, जर्मन इम्युथेरापी कम्पनीका साथै जापानमा पनि ६ वटा खोप विकासका क्रममा छन् ।

बेलायत र चीनका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको थियो । दोस्रो चरणको परीक्षणका लागि बेलायतका स्वयंसेवक आह्वान गरेको छ । जसमा खोप दोस्रो र तेस्रो चरणमा ५५ वर्षमाथिका र ५ देखि १२ वर्षसम्मका बालबालिका गरी १० हजार २ सय ६० जनामा परीक्षण गरिँदै छ । वृद्धवृद्धाको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने र नतिजा सेप्टेम्बरसम्म आउने र कुल १० करोडमध्ये ३ करोड डोज खोप उपलब्ध भइसक्ने र पहिला जोखिम समूहलाई दिने सरकार र बेलायती अनुसन्धानकर्ताको विश्वास छ ।

इम्पेरियल कलेज लन्डनले जुनदेखि मानव परीक्षण सुरु गर्दै छ । सामान्यतः खोप विकासका लागि पहिला कम्प्युटर मोडेल त्यसपछि सेल, मुसा, कुकुर, चिम्पान्जी, बाँदर हुँदै बल्ल मानिसमा परीक्षण हुन्छ । तर, हाल दु्रत गतिमा लैजानुपरेकाले वैज्ञानिक मुसा, बाँदरपछि मान्छेमा एकैपटक ट्रायल गर्न लागिरहेका छन् । सार्स, मर्सजस्ता भाइरस खोप नबन्दै हराएपछि खोपको ट्रायल हुन नपाएकाले अहिले नै अस्पताल, केयर होममा काम गर्नेमा परीक्षण गरिरहेका छन् । चीनको क्यान्सिनो बायोलोजिक्स इन्कर्पाेरेसनले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरी सफल भएको जनाएको छ ।

अन्त्यमा, दुवै उपाय हर्ड इम्युनिटी र खोप हाम्रा लागि तत्काल उपयुक्त नभएपछि जनस्वास्थ्यको अति नै पुरानो महामारीविरुद्ध सहायकसिद्ध उपायको विकल्प छैन । सामजिक तथा भौतिक दूरी दुई मिटर कायम गर्नु, बारम्बार साबुनपानीले हात धुनु, नभए स्यानिटाइजरको प्रयोग, माउथ मास्क र चस्मा लगाउने, व्यक्तिगत र श्वासप्रश्वास सरसफाइमा ध्यान दिनु नै मुख्य उपाय हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा