यातायात कार्यालयमा छैन कोरोनाबाट बच्ने सुरक्षा विधि

काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउन गत १ असारबाट केही खुकुलो भएसँगै अहिले सेवाग्राही र व्यवसायीले स्वस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेका छन् । सेवाग्राही आफूले बुझाउनुपर्ने राजस्व तिर्न विभिन्न कर कार्यालय एवं अन्य निकायमा पुग्दा ती सरकारी कार्यालयमा कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न अपनाइनुपर्ने कुनै सुरक्षा प्रबन्ध गरिएको छैन ।

अहिले काठमाडांैको वनस्थली–स्वयम्भू ठूलो भन्ज्याङस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र नवीकरण गराउन पुग्ने सेवाग्राहीबीच सामाजिक दूरी कायम गराउने, मास्क लगाउने एवं सेनिटाइजर प्रयोग गर्नेजस्ता न्यूनतम सुरक्षा व्यवस्थासमेत मिलाइएको छैन । जसका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण थप फैलिने जोखिम बढेको छ ।

दैनिक हजारौंको संख्यामा सेवाग्राहीको भीड हुने यातायात व्यवस्था कार्यालयले अहिलेसम्म कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न अपनाइनुपर्ने सामान्य विधिसमेत नअपनाउँदा सोही स्थानबाट काठमाडांैमा कोरोना संक्रमण फैलिने जोखिम बढाएको त्यहाँ पुग्ने अधिकांश सेवाग्राहीको भनाइ छ । उनीहरूले यस्तो अत्यधिक भीड हुने ठाउँमा संक्रमण न्यूनीकरणका लागि अहिलेसम्म कुनै विधि नअपनाइनु सरकारकै कमजोरी भएको बताइरहेका छन् ।

मंगलबार सो कार्यालयमा मोटरसाइकलको बिलबुक नवीकरण गर्न लाइनमा बसेका सेवाग्राही उमेश डंगोलले यस्तो भीड हुने ठाउँमा कोरोनाको संक्रमण फैलिनबाट बच्ने कुनै विधि नअपनाइएको देख्दा आफूलाई निकै डर लागेको बताए । काठमाडांैको वसुन्धराबाट बिलबुक नवीकरण गर्न पुगेका डंगोलले भने, ‘सरकारी कार्यालयमा यस्तो बेवास्ता हुनु राम्रो होइन ।’ यातायात व्यवस्था कार्यालयमा भएको यस्तो कमजोरीले अब काठमाडांै उपत्यकामा कोरोना संक्रमण थप फैलिने जोखिम बढेको उनको दाबी छ ।

यसैगरी, काठमाडौंको धर्मस्थलीबाट आफ्नो गाडीको बिलबुक नवीकरण गर्न यातायात व्यवस्था कार्यालयमा पुगेर राजस्व बुझाउँदै गरेका नवीनकुमार श्रेष्ठले यस कार्यालयको सुरक्षा व्यवस्था निकै फितलो भएको बताए । उनले करिब २ हजारभन्दा बढी मान्छे पुगेपनि अहिले यस कार्यालयले दैनिक जम्मा ३ सयवटा मात्र टोकन वितरण गरी राजस्व संकलन गरिरहेकाले झन् अत्यधिक भीडभाड र पेलमपेल हुने गरेको बताए । ‘सरकारी कार्यालयमा नै यस्तो गैरजिम्मेवारी पूर्ण काम हुन्छ भने अन्य निजी कारखानाको अवस्था कस्तो होला ?’, उनले निकै त्रसित मुद्रामा भने । उनले तीन महिनाभन्दा बढी समयको लकडाउनले मुलुक नै संकटमा पर्न थालेपछि अहिले आफूलगायत धेरै सेवाग्राही स्वस्फूर्त राजस्व बुझाउन आउँदा सरकारले सेवाग्राहीको स्वास्थ्य सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्नेमा यहाँ कुनै सुरक्षा विधि नअपनाइनु अचम्म भएको बताए ।

चालू आर्थिक वर्ष समाप्त हुन अब केही दिन मात्र रहेकाले अहिले यस कार्यालयमा सवारी साधनको विलबुक नवीकरण गर्न जानेको दैनिक अत्यधिक भीड लाग्न थालेको छ । सरकारले आगामी असार मसान्तसम्मका लागि मात्र यसरी नवीकरण गराउँदा थप जरिमाना नलिने र साउनपछि जरिमाना तिर्नुपर्ने बताएकाले अहिले यहाँ दैनिक हजारौंको संख्यामा सेवाग्राही पुग्ने गरेको सो कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख राजकुमार कपालीले अहिले चालू आर्थिक वर्ष सकिन अब केही दिनमात्र बाँकी रहेकाले अस्वभाविक रूपमा बढिरहेको भीडको चाप व्यवस्थापन गर्न निकै मुस्किल भइरहेको बताए । उनले सीमित कर्मचारीबाट यति धेरै सेवाग्राहीलाई सेवा दिनुपर्ने भएकाले यहाँको साँघुरो ठाउँबाट चाहेर पनि अपेक्षाकृत रूपमा व्यवस्थापन गर्न नसकिएको बताए । कोरोनाको संक्रमण फैलिनबाट बचाउनका लागि राजस्व बुझाउने ठाउँमा सामाजिक दूरी कायम गराउन फ्रन्ट डेक्समा खटिएका कर्मचारीलाई निर्देशन गराइँरहदा सेवाग्राहीले नै नमानेकाले थप समस्या भइरहेको बताए । उनले बाक्लो भीडको चाप न्यूनीकरणका लागि हरेक दिन बिहान जम्मा ३ सयवटा मात्र टोकन बाँड्दा पनि साथमा टोकन नभएका र विभिन्न कम्पनीमा तेस्रो पक्ष बिमा गराउन बस्नेले गर्दा अहिले सामाजिक दूरी कामय गराउन कठिन भइरहेको बताए ।

अहिले यातायात व्यवस्था सेवा कार्यालयमा मात्र नभएर विभिन्न करदाता सेवा कार्यालय, मालपोत, कम्पनी रजिस्ट्रारको कार्यालय,उद्योग विभागलगायत अधिकांश ठाउँमा यस्तै सेवाग्राहीको बाक्लो भीड लागिरहेको छ । लकडाउन पूर्ण रूपमा खुलेको एक महिनापछि मात्रै कर उठाउन सर्वोच्च अदालतले फैसला गरेपछि गम्भीर आर्थिक संकटमा परेको सरकारलाई सेवाग्राही र व्यवसायीले स्वस्फुर्त रूपमा राजस्व बुझाउन यस्तो जोखिम मोलेरै भए पनि सहयोग गरिरहेका छन् । उनीहरूको सरकारलाई सहयोग पु¥याउने सेवाभावप्रति नै राज्यका विभिन्न निकायबाट यस्तो गल्ती÷कमजोरी हुनु राम्रो नभएको अधिकांश सरोकारवालाको भनाइ छ ।

व्यक्तिगत प्रयोजनका सवारी साधनको राजस्व बुझाउने सेवाग्राही÷साना व्यवसायी मात्र नभएर अहिले ठूला उद्योगले पनि स्वस्र्फूत रूपमा कर तिरेर सरकारलाई सहयोग गरिरहेका छन् । केही उद्योगी÷व्यवसायीले सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘सक्नेले कर तिरांै, नसक्नेलाई सरकारले हेर्नुपर्छ,’ भनिरहेका छन् अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुँगानाले पनि अहिलेको यस्तो अवस्थामा उद्योगी व्यवसायीले कर तिरेर राज्यलाई सहयोग गरिरहेको बताए । हाल सक्ने सबै उद्योगी÷व्यवसायीले कर तिरिरहेको जानकारी गराउँदै उनले नसक्नेलाई सरकारले हेर्नुपर्ने बताए । अदातलको फैसलापछि सरकारले कर तिर्न बाध्य बनाउन सक्दैन र बनाएको पछि छैन भन्दै सचिव शिशिर ढुंगानाले भने, ‘तर, कसैले स्वस्फूर्त रुपमा कर बुझाउँछु भनेको अवस्था छ ।’ अहिले जे जति राजस्व संकलन भएको छ, सेवाग्राहीले स्वस्फूर्त रूपमा बुझाएको राजस्व हो ।’ उनले अहिले निजी क्षेत्रबाट सकारात्मक सहयोग भइरहेको बताए ।

अहिले निजी क्षेत्रका विभिन्न छाता संगठनले पनि यातायात व्यवस्था विभाग, ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयलाई सहज रूपमा कर तिर्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायतको सोही आग्रहअनुसार अहिले सक्ने उद्योगीले धमाधम कर तिरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्