विश्वमा यस वर्षको अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइरहँदा हेटौंडामा २३ वर्षे एकल महिलाको परिवारका सदस्यले सिलौटाले हानेर हत्या गरे । ६ महिनाअघि मात्र श्रीमान् गुमाएकी शोकमा डुबेकी उनलाई पति टोकुवा भनेर घरकाले लाञ्छना लगाउने गरेको खुलेको छ । बैतडी जिल्लाको सदरमुकाम गोठलापानीनजिकै घर भए पनि १६ वर्षमै बिहे भएकी सानीमाले २५ वर्ष नपुग्दै चारवटा सन्तान जन्माइन् । सासूससुरा पहिले नै बितिसकेका उनलाई खेतीपातीको कामसँगै बच्चा हुर्काउन गाह्रै थियो तापनि मायालु र मिहिनेती श्रीमान्सँगै भएकाले अप्ठ्यारा पल पनि सजिला भएका थिए । जीवन हाँसीखुसी चलिरहेको थियो । एक दिन अचानक सानोबुबा बिरामी परे । दुर्गम गाउँ भएकाले समयमा उपचारको अभावमा उनको ज्यान गयो ।
जीवनका २५ वसन्त पनि पार नगरेकी सानीमालाई जीवन के हो ? संघर्ष के हो ? भन्ने थाहा नपाउँदै दुःखको पहाड बज्रियो । जतिखेर उनलाई बच्चाहरू हुर्काउन एउटा बलियो काँधको जरुरत थियो । श्रीमान्को आड, भरोसा र मिठो बोलीको । त्यतिखेर उनी विधवा हुन पुगिन् । साना बच्चाहरू, एक्लो जीवन, कामका पहाड देखेर चिन्ताले उनी छटपटिन्थिन् । बहिनीको एक्लो जीवन, कलिलो उमेरमा विधवा भएको देखेर मेरी आमा पनि भक्कानिएर रुन्थिन् । उनलाई रोएको देख्दा हाम्रा आँखा पनि रसाउँथे । लामो समयको पीडापश्चात् जीवन भनेको यस्तै रहेछ भन्दै चित्त बुझाएर जेठो छोरामा श्रीमान्को बिम्ब खोज्दै बच्चा हुर्काउनतिर लागिन् ।
कक्षा आठ पास गरेसँगै साना भाइबहिनीको लालनपालको बोझले उनका जेठा छोरा नेपाली सेनामा भर्ना भए । त्यसको केही वर्षपछि छोराको बिहे गरेर नाति जन्मिदा अहिलेसम्म पाएका सबै पीडा सानीमाले बिर्सिइन् । धेरै समयपछि घरमा खुसीयाली छायो । खेतीपाती र सेनाको जागिरले घर खर्च चलाउन र अरू बच्चा पढाउन धेरै गाह्रो थिएन । तर, यो खुसीयाली घरमा धेरै दिन टिक्न सकेन । द्वन्द्वको समयमा मंगलसेन भिडन्तमा परी जेठो छोराको मृत्यु हुन पुग्यो । मुटुको टुक्रा र घरको एक मात्र सहारा छोरालाई दैवले चुँडेर लगेपछि उनी पागलजस्तै भइन् ।
आफूजस्तै कलिलो उमेरमा बुहारी पनि विधवा हुन पुग्दा उनमा आफूले विधवा हुँदा भोगेका पीडा ताजा भएर आए । पहिले दुई ज्यान एक मुटु भएका श्रीमान्को मृत्यु र त्यसपछि कलिलै उमेरमा छोरासँगको विछोडले सानीमा विक्षिप्त बन्न पुगिन ? छोराले बुबाको मुखसम्म देख्न पाएन, न त बुबाले नै छोराको । घर तथा गाउँको दुःख बुझेको लक्का जवान गुमाउँदा पुरै गाउँ शोकमा डुब्यो । सासूबुहारी शोकले थलिए । पश्चिमलाई केन्द्रबिन्दु बनाएर सुरु भएको द्वन्द्वकालको यो एउटा प्रतिनिधि घटना मात्र हो । योसँगै कतिपय चेलीबेटी, बिहे भएका महिला कसैलाई पनि नछोडी खेतबारीमा नै बलात्कृत हुन पुगेका थिए । मेरो आफ्नो घरलगायत अरू घरमा पनि बढार्ने कुच्चोसमेत नछोडी लुटिएका थिए । आफ्नै काका खोलामा क्षतविक्षत हुने गरी काटिएका थिए । पल्लो गाउँकी भाउजूको भाइटीकाको लागि माइत जाँदा माइत नपुग्दै खोलामा मान्दिर अगाडि हत्या भएको थियो ।
द्वन्द्वपछिको राज्यमा कलिलो उमेरमै विधवा बनेका महिलाका पीडा सम्बोधन भएनन्
भर्खरै बिहे भएको उनका ससुराली र माइती पक्ष शोकमा डुब्यो । योसँगै कतिपय आमाबुबा सन्तानविहीन भए । कतिपय सन्तान टुहुरा भए । कोही भने जीवनभरका लागि अपांग हुन पुगे । अहिले पनि खोज्दै जाने हो भने गाउँका प्रत्येक घरमा द्वन्द्वका घाउ आलै छन् । त्योभन्दा पनि आलै छन्, द्वन्द्वका बेला श्रीमान् गुमाएर विधवा हुनुको पीडा । सानो दुधे बालकलाई हुर्काउँदै वर्षांै बिते । न त एउटी विधवाले म पनि अर्को बिहे गर्छु भनेर भन्न सकिन् । न त घर परिवार र समाजले नै उनका पीडा बुझ्न सक्यो । न त १० वर्षे द्वन्द्वपश्चात् नै उनको जीवनमा खुसीयाली ल्यायो । बरु बिहे लगत्तै श्रीमान् गुमाउनुपर्दाको पीडाले उनलाई गहिरो डिप्रेसनमा पु-यायो ।
वर्षांै औषधि खाएपछि बल्ल डिपे्रसनबाट बाहिर निस्केर उनी जीवन जिउन खोज्दै छिन् । राज्य पक्ष र विद्रोही पक्षबाट पीडितको पीडा बुझ्ने कोसिस पटक्कै भएको देखिँदैन । अर्काको काँधमा बन्धुक राख्नेहरू अहिले सत्ता समालिरहेका छन् । आफूले चाहेजस्तो सहरिया आरामदायी जीवन जिउँदै छन् । गाउँमा रहेका द्वन्द्वपीडितका पीडा अहिले पनि उस्तै छन् । आफन्त गुमाएको पीडामा उनीहरू अहिले पनि सुस्केरा हालेर रुन बाध्य छन् ।
तीन वर्षअगाडि २२ वर्षको उमेरमा एउटा सन्तान जन्मिएसँगै एक जना बहिनी दुर्भाग्यवश विधवा हुन पुगेकी छन् । दोस्रो बिहेको ’boutमा न उनले केही बोल्न सकेकी छन्, न त उनका घर र माइती पक्षले अर्को बिहे गरेर फेरि घरजम गर्नुपर्छ भनिरहेका छन् । मनमा रहेका कतिपय पीडा दबाएर उनी काममा खटिएकी छन् । जागिरे उनलाई कलिलो उमेरमा विधवा हुनुका पीडा, त्यसपछि समाज र अरू पुरुषले उनलाई हेर्ने दृष्टिकोण र बुढेसकालमा बेसहारा हुनुका पीडा के २ हजार भत्ता बाँडेर बिर्सन सकिएला ? समयसँगै समाजमा धेरै परिवर्तन आए । तर, एउटा विधवालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन हुन सकेको छैन । कुनै पनि महिलाको बिहे भएलगत्तै उनका श्रीमान् वा घरका कुनै सदस्यको मृत्यु भएमा लोग्ने टोकुवा भन्ने ट्याग लगाउन पछि नपर्ने समाजले विधवाले पनि दोस्रो बिहे गरेर घरजम गरी खुसीसाथ जीवन बिताओस् भनेर कदापि सोच्न सक्दैन ।
कतिपय विधुर पनि बिहे गर्ने इच्छा हुँदाहुँदै पनि भन्न नसकेर कुडिएर यत्तिकै बसेका हुन्छन् । उनका कुरा सुन्दा बिहे गर्न चाहेका हुन्छन् । तर, कुरा मिलाइदिने मान्छे नभेटेको सुनिन्छ । योभन्दा पनि डरलाग्दो स्थति हुन्छ विधवाको । न उनी खुलस्त भएर कसैसँग केही भन्न सक्छिन् । एउटी महिलाले आफ्नो परिवारको इज्जतका लागि भए पनि सहनसम्म सहनुपर्छ भन्दै हाम्रै समाजले सिकाएको परिणाम हो यो । कसैसँग बोल्यो कि त्यही समाजले औंला उठाइहाल्छ । बुढेसकालमा श्रीमान्–श्रीमती एक अर्काका सहारा हुन् ।
दिन काट्ने, कुरा गर्ने, पीडा बिसाउने माध्यम हुन् । जवानीमा पनि एक अर्काका इच्छा, आकांक्षा परिपूर्ति गर्ने, दिशानिर्देश गर्ने, निःस्वार्थ माया गर्ने, सही बाटोमा हिँड्न सिकाउने कारक हुन् । झनै अहिलेको समयमा छोराछोरी पनि पढ्ने उमेरदेखि नै देश–विदेशमा आमाबुबाभन्दा कोसौं टाढा बसेका हुन्छन् । धेरैजसो परिवारमा छोराछोरीको बिहेपश्चात् घरको सम्पत्ति छोराछोरीको नाममा बाँडफाँड गर्दा आमाबुबालाई पनि सम्पत्तिसँगै छुट्याएर राखिदिने पनि चलन छ । समाजमा विद्यमान कुप्रथा हटाउन घरपरिवार, समाज तथा राष्ट्रले पनि अग्रसर भएर प्रोत्साहित गर्न जरुरी छ ।