कराची । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण पछिल्लो चार महिनामा थु्रपै क्रिकेट सिरिज रद्द भएका छन् । अहिले पनि क्रिकेट सुचारु हुन सकेको छैन । विगत चार महिनादेखि प्रभावित भएको खेल क्षेत्र अझै मारमा छ । कोरोनाको संक्रमण बढ्दै गएका कारण बंगलादेशले श्रीलंकाको भ्रमण रद्द गरेको छ । बंगलादेशको टिमले अर्काे महिना तीन टेस्ट म्याचको सिरिज खेल्ने तयारी गरेको थियो । श्रीलंकाको भ्रमण गर्नुअघि बंगलादेशले न्युजिल्यान्डसँग दुई टेस्ट म्याचको सिरिज खेल्ने तयारी गरेको भए पनि त्यो रद्द भइसकेको छ । जसका कारण अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्न अझै सहज देखिँदैन ।
आईसीसीले बंगलादेशको श्रीलंका भ्रमण स्थगित गरेको जानकारी दिएको हो । आईसीसीले सामाजिक सञ्जालमा लेखेको छ, ‘बंगलादेशले अर्काे महिना श्रीलंकाको भ्रमण गर्ने तयारी गरेको भए पनि त्यो स्थगित भएको छ ।’ मंगलबार न्युजिल्यान्डसँगको टेस्ट म्याच पनि स्थगित गरिदिएको थियो । पछिल्लो समय दक्षिण एसियाका तीन क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
अगस्ट सेप्टेम्बरमा न्युजिल्यान्डमा हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपका लागि बंगलादेशले यी सिरिज खेल्न लागेको थियो । अघिल्लो साता बंगलादेशका पूर्व वानडे कप्तान मसरफी मुर्तजा, नजमुल इस्लाम र नफिस इकबालमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
बंगलादेश क्रिकेट बोर्डले यसअघि अप्रिलमा हुने पाकिस्तानको टेस्ट भ्रमण र मेमा आयरल्यान्ड र ब्रिटेनमा हुने भ्रमण स्थगित गरेको थियो । कोभिड–१९ को महामारीका कारण अस्ट्रेलिायामा हुने भ्रमण पनि रद्द गरेको छ । तथापि, यतिबेला सबैको नजर भने अर्काे महिलना वेस्टइन्डिज र इंग्ल्यान्डबीच हुने सिरिजमा रहेको छ । चार महिनाको ब्रेकपछि अन्तर्राष्ट्रिय क्रिकेट सुचारु हुने विश्वास लिइएको छ । अगस्टमा इंग्ल्यान्ड र पाकिस्तानबीच टेस्ट सिरिज हुने तालिका रहेको छ ।